Showing posts with label पैसा. Show all posts
Showing posts with label पैसा. Show all posts

Thursday, January 6, 2011

आहारा (कथा); बखत बहादुर थापा

आहारा (कथा)

‘ठूलाठूला देवीदेवता, ठूलाठूला भवन, राम्रो लवाइखुवाइ, राम्रो उन्नति, प्रगति गर्न सकिने र आफूले चाहेजस्तो काम पाउने भनेकै राजधानीमा हो ।’ गाउँमा सबैजसोबाट सधैँजसो यस्तै कुरा सुन्दै आएकाले बिर्खेले पनि आखिरमा काठमाडौँ जाने निधो गर्यो । उसलाई परदेसिनुपर्ने बाध्यता पनि थियो र उसको परदेश भनेकै काठमाडौँ थियो ।
सुनेजस्तै गरी सबै कुरा भोग्न कहाँ पाइन्छ र ?  काठमाडौँमा बिर्खेका कोही आफन्त थिएनन् । राजधानीमा उत्रेकै साँझ ऊ बास खोज्दै कुनै होटलमा पुग्यो । उसको गोजीले भने होटलको एक रात पनि नटर्ने देखियो । त्यसैले उसले फुटपाथको शरण लियो । दोस्रो दिन हातमुख जोड्नका लागि अनेक होटल चहार्यो । अन्ततः उसले दुईटा रोटी किन्यो र तरकारीको पैसा बचाउन प्याजका दुई चार टुक्रा माग्यो । तिनै दुईटा रोटीले त्यो दिन कट्यो उसको । राती फुटपाथमा उसको गोजीमा भएका बाँकी बीस तीस रुपैयाँ पनि लुटिए । तेस्रो दिन ऊ हातमुख जोड्नका निम्ति होटलहरूमा भौंतारियो । काम पाउनु त के उसले बासी वा सडेगलेको खाना पनि पाएन । साँझ सडकको पेटीमा झोक्राएको थियो । एउटा फुटपाथे आएर बिर्खेसँग गफ गर्न थाल्यो । बिर्खेको विवशता बुझेपछि उसले एउटा प्रतिज्ञा गराएर होटलमा लगेर खाना खुवायो । त्यही सङ्कल्प अनुसार फुटपाथेले भोलिपल्टै बिर्खेलाई एउटा अस्पतालमा लग्यो । त्यहाँ उसको एक पाउन्ड रगत बेचियो ।
बिर्खे दिनभरि काम खोज्न व्यस्त हुन थाल्यो । ऊ जुनजुन पसल वा होटलमा पुग्थ्यो, उसको लवाइ देखेर सबै साहूहरू नाक खुम्च्याउँथे । यस्तो व्यवहारले उसमा अर्को चिन्ता थपियो । काठमाडौँमा जति दिन बित्दै जान्छ, त्यति आप्mनो अवस्था बिग्रिँदै जाने हो कि ? सुकिलामुकिलाहरूले गेटमा उभिएर हात जोड्नसम्म नदिने हुन् कि ?

Sunday, January 2, 2011

हात्तीवाङ्-खालीहात नजानोस्!, भुवनहरि सिग्देल

हात्तीवाङ्-खालीहात नजानोस्!

मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण फोक्सो लैताकको उकालो सम्भिmँदैमा काम्न थाल्नु अनौठो कुरो हुँदैनथ्यो तर मानिसलाई अवस्था र बाध्यताले नै हो लैताकको उकालो चढाउने पनि ।
अघिल्लो दिन योजना बन्छ-भोलि हात्तीवाङ् जाने । राति चार मिनेट निद्रा बिग्रन्छ-भोलिको अत्यास सुरु भएको हुनाले । करङतिर उपियाँजस्ता सगसगाउँछ । त्यहाँ उपियाँ छैन मलाई थाहा हुन्छ । त्यो सगबग हात्तीवाङ्को हो, करङ भित्रपट्टकिो । थाकेको शरीरलाई निदाउन करैलाग्ने हुनाले मलाई थाहै नदिई निदाइसक्छ-एउटा अन्तरालमा ।
बिहान ६ बजे नै बाटो लागिसक्नु पर्ने अवस्था किन हो भने मन्थली, लैताक, जैपुरीहुँदै महाभारत -कोटडाँडा) काटेपछि चितवनतर्फको पानीढलो सुरु हुन्छ । तेर्पे, उकालो, सल्लेभीर नाघेर गएपछि बल्ल हात्तीवाङ् गाउँ देखिन्छ, परैबाट । यो कुरो मलाई गोपे चेपाङले अघिल्लै दिन भनिसकेको कारणले दिमागमा बाटोको चित्र बनाउन सजिलो भएको हो तर आज ता गोपे चेपाङ मसँग छैन । गोपेका गोडाले मेरो उकालो हिँडिदैन पनि । गोपेले जुत्ता नभएर लगाउँदैन । मसँग जुत्ता भएकाले सजिलोखाले छान्दछु, कपडाको, हलुका । मनले त भन्छ-'गोपे जहाँ हिँड्नसक्छ म किन नसक्ने ?' वास्तवमा त्यसो हुन्न तुलनात्मक कारणले । मैले हाफ पैन्ट र पातलो कमिज लगाएँ । गोपेको जस्तो नभएर होइन, उकालोमा भारी हुन्छ भनेर मात्रै । हिजो मानबहादुर लौरो टेकेर उकालोतिर लागेको थियो । ऊ बूढो थियो, गोडाका भर थिएनन् । आज म पनि लौरो टेकेरै उकालो चढ्दैछु, गोडाको भरमाथि विश्वास नभएर ।