लाइफ इज ब्युटीफुल !
नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र कम खाऊ, कम खर्च गर भन्ने सिद्धान्त हामीले प्रतिपादन गरेका छौँ । बिहे भएको तीन वर्ष भइसक्यो तर हामीले सन्तानोत्पत्तिबारे अझै विचार गर्न सकेका छैनौँ, राधाको पहिलो गर्भ खेर गएपछि । काखमा बच्चा खेलाउने रहर रहरमै सीमित गरेर बसेकी छ राधा, मेरी श्रीमती । वास्तविक कुरो उसले थाहा पाएकी छैन । मनको भ्रम निवारण गर्न कन्डोमसन्डोम, पिलसिल छोडेर उसले लामो अवधिसम्म गर्भ रोक्ने कपर टी हो कि के हो लगाएकी छ । आर्थिक अवस्था केही सुध्रेपछि पहिलो गर्भ धारण गर्ने हाम्रो योजना छ तर जागिरको प्रमोसनबिना यो सम्भव शून्य छ । प्रमोसनका लागि म बरोबर धाउने गरेको छु हाकिमको क्वार्टरमा र मन्त्रीहरू जिल्ला भ्रमणमा आउँदा पनि पुच्छर हल्लाएर पछिपछि हिँड्ने गरेको छु तर हात लाग्यो शून्य भइरहेछ । बिहे भएको साल राधाले सोचविचार, सल्लाहसहमति र जोसका साथ पहिलो गर्भ धारण गरेकी त हो तर त्यो समय नपुग्दै खेर गयो र ऊ मरणान्त बिरामी परी । बिरामीले केही ऋण पनि बोकाएर गयो भने अर्को गर्भधारण एक वर्षसम्म नगर्नू भन्ने डाक्टरी चेतावनीले पनि हामीलाई गर्भप्रति अनुत्सुक बनायो । एक वर्षसम्म गर्भ धारण नगर्नू भन्ने चेतावनी मैले डाक्टरको पाउ पक्रेर भन्न अनुरोध गरेको हुँ । यथार्थ थाहा पाएको भए राधा पूरै चकनाचूर भएर मानसिक रूपमा क्षतविक्षत हुने थिई ।
