Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Thursday, February 20, 2014

सम्झनाको एक पल - १ (कविता शृंखला)


सम्झदै कथा, हाम्रो प्रितको भनिदेउ न सानु,
साँच्चै एक पटक त्यो अतित सुनैदेउ न सानु,

भनिदेउ, हिजोका ति स्वर्णिम बिगत,
जुन केवल अब हाम्रो स्मृतिमा मात्रै छ,
त्यहिँ स्वर्णिम अतित,
जुन केवल अब हाम्रो सम्झनामा मात्रै छ,
ति पल, ति सम्झनाका मझेरीहरु,
लाग्छ, अव मन भित्र अधेरीसकेका छन्,
हिजो स्वरमा स्वर मिलाउदै गाएका ति गीतहरु,
सायद तिमीले बिर्सिसक्यौ होला,
सायद तिमीले भुलिसक्यौ होला,
शान्त सुस्केराका भाकाले,
अंह, तिमीलाई मोहनी लगाउदैन होला अचेल,
रोदी घरको झंकारले,
फेरी तिमीलाई फ़र्काउदैन होला सानु,
जे होस्, आज जे भए पनि,
हामीसंग हिजोका स्वर्णिम पलहरु छन्,
लाली गुराँसले तिम्रो चुल्ठो ढाँकिदा,
गुन्यु चोलीमा सानु तिमी,
खै लाजले त्यो आँखा निउरिदा,
र पनि देखिन्थ्यो, तिम्रो चंचल रुप,
खै के थाह,
त्यो चंचलता आज छ/छैन तिमीमा,
त्यो चंचलता भित्रको निर्मलता,
 छ/छैन तिमीमा,
खै के थाहा.........
तिमीले आज सुनगाभा र लाली गुराँस,
चिन्छ्यौ कि चिन्दिनौ,
के थाहा र मलाई,
मनका मझेरीका ति पललाई,
सम्झिन्छ्यौ कि सम्झिन्नौ ??
हो सानु, सोध्धै छु तिमीलाई,
कतै बिर्सियौ कि तिम्रो अजयलाई ?
यदि बिर्सिएकी छैनौ भने बिन्ति,
एकपटक,
सम्झदै कथा, हाम्रो प्रितको भनिदेउ न सानु,
साँच्चै एक पटक त्यो अतित सुनैदेउ न सानु |



अजय ढुंगाना

Wednesday, February 5, 2014

मुक्ति: आर्तनाद (कविता)

मुक्ति: आर्तनाद

मेरो शव,
मसानघाटमा,
तिम्रो अन्तिम श्रदान्जलीका साथ,
म पर्खिरहेछु,
मेरो लाशलाई खरानी बनाउने,
बलिरहेको आगो |

म यातना शिबिरबाट कुण्ठित भैं,
निर्भिग्न हेरिरहदा,
टोलाईरहदा,
नि-शब्द हुँदा,
सायद तिमीले सोच्यौ होला,
मेरो मौनता देखेर भन्यौ होला,
वा चिन्ताले ग्रस्त मेरो,
अनुहार हेरेर,
अनुमान लगायौ होला,
यो फगत नि-आस्थामा,
मेरो निर्वासन के का लागि,
मेरो नियती के?
तिमीले आँफैसंग कयौ पटक,
प्रश्न सोध्यौ होला,
अनुत्तरित तिम्रा आफ्नै प्रश्नहरुसंग,
तिमि आँफै हैरान भयौ होला |

Sunday, December 1, 2013

म मरेको छैन

म मरेको छैन (कविता)

म मर्यो भनेर झ्याली पिट्नेहरू
म मर्यो भनेर
फेसबुक ट्विटर अनि सारा इन्टरनेट भरि फैलाउनेहरू
टेलिभिसन चलचित्र अनि रेडियो भरि
मेरो मृत्यु को अफवाह
मनोरञ्जनको खण्डमा सम्प्रेसण गर्नेहरू
एकपल्ट आफ्नै अन्तरमनलाई सोध
तोतेबोली बोल्ने केटाकेटीका लवजमा सुन
विरहका गीत अनि खुसीका संगीतमा छाम

प्रकृतीको तालसँगै ताल मिलाउँदै
प्रवाह भईरहने तिम्रो श्वासमा खोतल
अनि तिमीले थाहा पाउने छौ
हरेक युगमा
साबै मानिस एकैपल्ट निदाउँदा
म सबैलाई एक एक गरि ब्युँझ्याउने गर्छु
मेरा पारखीहरू
मलाई मन्त्र  मानेर
लोकमा मुखाग्र मलाई पस्कन्छन्
अनि पिछलग्गुहरूलाई  उक्साएर
युग परिवर्तन गर्छन
गरिवी, भोकमारी, अनि पीडाका आर्तनादमा मात्र होइन
अट्टहासमा, यौवन, अनि पावन परिवेशमा
म गीत बनेर
साहित्य बनेर
मुटुका मरुभूमिमा छचल्किने गर्छु

Saturday, October 19, 2013

अनविज्ञता (कविता); अजय ढुंगाना

अनविज्ञता 

थाहा छैन,
थाहा छैन,
रातहरु कुन मोडले आउछन अचेल,
अनि, कुन दिशामा फर्कन्छन |
एक पल, मेरो आँखाको समिपमा,
बेसंस्कारी यी जीवनका रुपहरुलाई,
सायद झक्झक्याउन,
नभए गिज्याउन,
अनि जिस्काउन,
किन आउछन ?

मेरो निम्ति,
रातको चिसो संगै घट्दै गरेको तापक्रम,
कुनै कठोर संजाय भन्दा कम छैन,
वीरबलको खिचडी जस्तै,
पारी डाँडामा बलेको बिजुली बत्ति,
मेरो आस्थाको केन्द्रबिन्दु बनेकोछ,
जिन्दगी मक्किएको देखेर,
भत्किएको देखेर,
अनि पटक पटक कुच्चिएको देखेर,
त्यो आस्थाको केन्द्रबिन्दु पनि,
पटक पटकको लोडसेडिंगले,
भएभित भै सकेको छ,
अरुण चौथो पाँचौ र छैटौको आशमा,
रात काट्नलाई मैनबत्ती बालेको,
थाहा छैन कति भयो,
तर पनि हरेक दिन,
मलाई रातले पिछा गर्न छाडेको छैन,
लाग्छ, हरेक रातले सोच्छ होला,
मेरो बेसंस्कारी जीवनका रंगहरुलाई,
एक पटक गिज्याउनु नै पर्छ |

Tuesday, July 9, 2013

कसैसंग कुनै गुनासो छैन

कसैसंग कुनै गुनासो छैन

एक पल,
फेरी एक पल,
सुन्केश्राका पात केलाउदै,
इन्द्रावतीको बगर बगरै,
खाली खुट्टा,
मधेश झरेर,
फेरी फर्कनु छ,
उही डाँडामा,
उही पाखामा,
एक हल खुशीका पोकाहरु बोकेर,
आँखामा उत्साहको हिमाल सजाएर,
यथार्थमा,
एक पल जिन्दगी जिउनु छ,
एक पल सोझो जिन्दगी जिउनु छ |

Monday, May 6, 2013

जिन्दगीको यात्रा


जिन्दगीको यात्रा

अनकन्टार खोंचमा,
जिन्दगीको यात्रा,
शुरु गर्नु अघि,
तिमी मलाई,
यात्राको नियम सुनाउदै छ्यौ |

म प्रभातका शित टिपेर,
सुनकोशी बगरका,
बालुवा चालेर,
वा बागरका गिट्टी,
दुइ फ्याक पारेर,
जिन्दगी सजाउनै,
खोज्दै गर्दा,
तिमी अमुर्त सपनाका रंग भरेर,
मलाई नयाँ जिन्दगी बाँडदैछौ,
म अनकन्टार खोंचमा छिरेर,
नयाँ जिन्दगीको यात्रा,
शुरु गर्दैछु |

Thursday, April 11, 2013

नयाँ बर्ष


नयाँ बर्ष 
नयाँ बर्ष २०७० को शुभकामना सहित यो "नयाँ बर्ष" कविता आजको ब्लगको सामग्री 

समय,
आफैमा मादकताको रंग भरेर,
रसिलो बन्दै,
भरिलो बन्दै,
ढोकामा आएर,
ढक ढक गर्छ,
उ बैशाख बनेर आँउछ |

यता चेरी फुलेर झुलिरहेछ,
उता शिरिस फुलेर,
निलै भएको होला,
झुलिरहेको होला,
शितका थोपाहरु,
बिहानीको सुनौलो प्रकाशमा
टल्किरहेको होला,
बसन्तको शितल हावामा,
नौलाख प्रितका गितहरु,
गुन्जिरहेका होलान,
सत्यताको महत्व बोकेर,
यता अप्रिल दौडिरहेछ,
उता समय ढोकामा,
ढक ढक गर्दैछ,
बैशाख बनेर |

Sunday, March 3, 2013

उस्तै र पनि बेग्लै


उस्तै र पनि बेग्लै

पल्लो कोलोनी,
कोलोनीको तेश्रो घर,
तेश्रो घरको दोश्रो तल्ला,
दोश्रो तल्लाको छेउको कोठा,
छेउको कोठाको सानो झ्याल,
जब साँझमा बत्ति बल्छ,
अनि रंगिन बन्छ |

मुटुको एउटा नशाबाट,
मस्तिष्कसम्म,
रगतका केहि थोपाहरु,
हुलाकी बनेर बाटो लाग्छन,
लौरी टेक्दै उकालो हिंडछन्,
र मस्तिष्कको प्रतिक्रिया बोकेर,
फर्कन्छन मुटु मै फेरी,
निमेस भर मै |

Wednesday, December 19, 2012

मेरा सपनाहरु (कविता)

मेरा सपनाहरु


जब एक सपना,
उद्रिएर,
मनलाई छुन्छ,
मन हावामा तैरिएका,
प्वाँखहरुलाई,
टोलाएर हेर्छ,
तब लाग्छ,
तिमी कुनै एकछेउबाट,
मलाई जिस्काइरहेछेउ |

जब मन,
आगोको फिलिंगो भएर,
हावामा हराउदै,
शान्त, निश्चल,
कल्पनाको महासागरमा,
झ्वाम्म पौडन्छ,
तब लाग्छ,
तिमी फेरी कुनै एकछेउबाट,
मेरा सपनाहरुमा,
जिउन खोजिरहेछौ |

Sunday, November 11, 2012

मिठो जिन्दगी (कविता)


मिठो जिन्दगी

म, पाहिला चल्न खोज्छु,
तिमी हिड्ने बाटो
भत्काउन तत्पर हुन्छौ,
म बैकल्पिक मार्ग खोज्छु,
तिमी मेरो गन्तव बदल्न खोज्छौ,
साँघुरा बाटाहरुको,
घुमाउर गल्छेडामा,
तिमी,एम्बुस थापेर,
मलाई तर्साउन खोज्छौ,
मलाई भगाउन खोज्छौ |

म तिमीबाट
जिन्दगीको एउटा पाठ सिक्छु,
सिक्ने कुरा कहिल्यै नसिद्धिने,
फेरी अर्को पाठ सिक्छु,
तिमी मेरो मौनता माथि
पट्यारलाग्दो राजनीति
थोपर्न खोज्छौ,
मेरो मौनतालाई,
तिमी समर्थन मान्छौ,
म हार्दीन,
तर तिमी,
आफुले मलाई जितेको मान्छौ |

Thursday, October 18, 2012

आज अचानक (कविता)

आज अचानक

आज अचानक,
गाउँ सम्झिए,
घर छेउको नयाँ बाटो,
हिलोमा लत्रिएर भासिएको थियो,
छेउमा एउटा पारिजातको रुख,
चर्को घाममा उघिरहेको थियो,
अघिल्लो रात नै बोटबाट झरेका,
पारिजातका फूलहरु,
निधारमा हिलोका टिका लगाएका थिए,
छेउमा एउटा साइकल कुदेर गएको,
टायरको डोब बसेको थियो |

मनमा दृश्यहरु सजिब हुदै आए,
दृश्यहरु मनमा सास फेर्दै
दृश्यहरु मनमा एक सिक्बेन्समा थपिदै आए,
दृश्यहरु प्रष्ट प्रष्ट हुदै आए,
एच डी क्यामराको भिडियो जस्तै,
निराकार चिजहरु आकार लिदै आए |

Thursday, September 27, 2012

छाँयाका सपनाहरु (कविता)


छाँयाका सपनाहरु

छाँयाका सपनाहरु,
रात परे पछि,
धुमिलिदै जान्छन,
क्यानभाषबाट,
चित्र हराए जस्तै हुन्छ,
तर मन छाँयाका सपना जस्तै छ,
छाँयाका सपना जस्तै हुन खोज्छ |

कम्प्युटरको सट डाउन बटनसंगै,
रयामहरु आफ्नो मस्तिष्कका पानाहरु,
मेट्न व्यस्त हुन्छन,
रात परेपछिको,
छाँयाका सपनाहरु जस्तै हुन खोज्छन,
केही मक्किएका रहरहरु,
डायरीका च्यातिएका पानाहरु,
बन्द कम्प्युटरका रयाम जस्तै हुन्छन |

Saturday, August 4, 2012

आकाश मौन छ | (कविता)


आकाश मौन छ |

आज
हिजो जस्तै,
अनि अस्ती जस्तै,
अनि सदियौ जस्तै,
आकाश मौन छ |

आजको चुपचाप,
कुनै घेराबन्दिको परिणाम होइन,
कुनै आन्दोलनको भाषा होइन,
यो आकाशको बिश्वास हो,
मान्छेहरु प्रति,
मान्छेहरु माथि |

मुटु हल्लिरहेछ,
रगत सिन्चिरहेछ,
श्वास निरन्तर,
ओहोर दोहर गरिरहेछ,
खुट्टा हिडीरहेछ,
आँखा दृश्यलाई
कैद गरिरहेछ,
हात हल्लिरहेछ
तैपनि मान्छे मरिरहेछन |

Tuesday, July 24, 2012

म चेसको गोट्टी होइन (कविता)


म चेसको गोट्टी होइन 


मेरा हर पाइला
तिम्रो एक कदम पछि
चाल्नुपर्ने होइन,
किनकी, म चेसको गोट्टी होइन |

तिम्रो नियोजित षड्यन्त्रको
एउटा पात्र, म होइन,
जो बिद्रोह र सत्ता कब्जा मन पराउछ,
जो अरुलाई निबस्त्र पार्नुमा,
आफ्नो विजय सम्झन्छ,
घोडाको सवार,
हात्तीका लावा लस्कर,
आफ्नो सपनामा सजाएर बस्छ,
म इतिहासले नमागेको,
रक्त क्रान्तिको नायक होइन
म तिमीले खेल्ने चेसको उट होइन |

Thursday, July 12, 2012

के यत्तिकैमा प्रेम हुन्न र?? (कविता)


के यत्तिकैमा प्रेम हुन्न र??

तिमी बुझ्दिनौ,
मेरो आँखाको भाब,
म जान्दिन,
तिम्रो इशाराको भाषा,
के यत्तिकैमा प्रेम हुन्न र ??

आजकल
मेरो कविताका शब्दहरु,
आकाश छुनलाई उर्लिदैनन,
न त,
मन नै,
उत्साहको पहाड,
एक सासमा उक्लिन खोज्छ,
सायद तिम्रो मन पनि,
त्यस्तै छ होला
घडीको सुइ ढिलो घुमे जस्तो,
मध्याह्नको थकाई लामो लागे जस्तो,
लाटो पहाड र बेमत्लबी बादल झैँ,
निस्सार जिन्दगी,
हत्केलामा खोजे जस्तो,
झुटो झुटो
मन झुटो, संसार झुटो
तर के यत्तिकैमा प्रेम हुन्न र ?

Friday, July 6, 2012

अर्धनग्न सोचाइहरु (कविता)

अर्धनग्न सोचाइहरु

निशाकालिन प्रभातहरुमा,
चिसो बिस्तारमा,
सुतिरहदा,
पानीको एउटा बाछिटो,
मलाई जिस्काएर गयो,
एक चिम्टी हावा,
मलाई गिज्याएर गयो,
म चुपचाप,
आफ्नो नियतीमा हाँसीरहे |

म पर्खाई  हूँ कसैको,
म जिन्दगी  हूँ कसैको,
चुपचाप साझको एक प्याला  हूँ कसैको |
म कसैको ओठको,
मिठो मुस्कान पनि हुन सक्छु,
तितो गाली पनि हुन सक्छु, 
तैपनि रहर छैन मलाई,
कसैको चुरा फोर्ने,
कसैको टोपी झिक्ने,
कसैको सिन्दुर पुछ्ने,
कसैलाई बाचुन्जेल टुहुरो बनाउने |

Tuesday, June 26, 2012

घैंटोभित्र वटवृक्ष (कविता) भूपी शेरचन


घैंटोभित्र वटवृक्ष

साँघुरो घैटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझै
मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ
र म ओइलाएँ
आफ्नो वरिपरि निस्सासिदो पर्खाल पाएर
अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका
आफ्ना पाँच ओटा औंलाहरु पट्याएँ
प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्र्काएँ
र आज म आफ्नै मुट्ठीभित्र बन्द छु
आफ्नै कठोरताभित्र कैद छु
तर कुनै दिन
तिमीले चिन्न सके आफुभित्रको बतासलाई
र प्रकाशलाई तिमीले
जान्नेछौ कि बाहिरबाट जतिसुकै
कठोर भए पनि भित्र–भित्रै
म कोमल छु
यो बन्द मुट्ठीभित्र हत्केलाझैँ !

Sunday, May 6, 2012

सन्दर्भ विश्वावसु (कविता); यदुनाथ सरल


सन्दर्भ विश्वावसु

लम्जुंग दुराडाँडाका अग्रज कवि यदुनाथ सरलको कविता आजको ब्लग सामग्रीका रुपमा सविनय पेश गरे, यो कविता कवि सरलका सुपुत्र बेदराज ढुंगानाको 'फेसबुक वाल'बाट लिइएको हो |



आयो यो नववर्ष शान्ति सुखको सन्देशले शोभित
ल्याई ती अब आउने दिन बनून् सर्वत्र आनन्दित
यी प्राणी र वनस्पती प्रकृतिको वात्सल्य पाएपछि 
यो विश्वावसु नै सुखावह बनोस् वैशाख लागेपछि ।

पाखा पर्वत खेत चौर हरिया विस्तीर्ण बेसीतिर
मिल्दो भै जलवायु मौसम तथा ती खेतबारीतिर
उब्जा उन्नत शश्य श्यामल बन्यो धर्ती रसाएपछि
यो विश्वावसु होस् सदैव रसिलो वैशाख लागेपछि ।

आआँफै अनुशासन प्रिय बनून् यी देशवासी सबै
पीडा आतुरता र शोक नपरोस् निर्धक्क बाँचून् सबै
चाहन्थ्यौँ अनुकूल तन्त्र सबमा सद्भाव फैलेपछि
यो विश्वावसु बस्छ वर्षभर नै वैशाख लागेपछि ।

Saturday, May 5, 2012

अनौठो यात्रा, अनौठो उडान (कविता); अजय ढुंगाना


अनौठो यात्रा, अनौठो उडान

एउटा अनौठो यात्रा,
एउटा अनौठो उडान,
जिन्दगीका कर्कश रेखाहरु,
सधै कर्कशिला नहुदा रहेछन,
त्यसैले त एउटा अनौठो यात्रा,
अनौठो उडान |

शुभ प्रभात,
रंगको लालिमा,
फुस्स उड्दा,
तिमी गजल कोर्छौ,
प्रडायामका महत्व सम्झन्छौ,
म त्यहि बिहान,
बेलुकीको बाँकी ह्विस्की,
तुन्क्याउछु,
कफीका बट्टाहरु,
किचनका अल्मारीबाट,
गलल्ल हाँस्छन,
म अनौठो यात्राको,
उडानको प्रतिक्षामा छु |

Thursday, April 26, 2012

छोराको प्रश्न (कविता); अजय ढुंगाना


छोराको प्रश्न

(जातीय संघियता बिरुद्धको कविता)

राति सपनीमा,
मेरो नजन्मिएको छोरा आयो,
अनि भन्यो,
एउटा प्रश्न सोधौ बा,
म मुस्कुराए,
अलिकति डराए,
तैपनि डर लुकाए,
अनि भने,
हुन्छ छोरा |

उसको कोमल अनुहार,
गम्भीर थियो,
केही मागिरहे जस्तो,
केही नभेटे जस्तो,
ओहो! कस्तो अपत्यारिलो |
उसले सोध्यो,
बा मेरो राज्य कुन हो?
म झस्किए, उसको प्रश्नले |
किन छोरा?
मैले प्रतिप्रश्न गरे,
मैले प्रश्न हैन,
जवाफ मागेको बा,
बालहठका आगाडि,
म नतमस्तक भए,
तैपनि जवाफ बिहिन रहे |