Showing posts with label आगन्तुकको कलम. Show all posts
Showing posts with label आगन्तुकको कलम. Show all posts

Sunday, December 1, 2013

म मरेको छैन

म मरेको छैन (कविता)

म मर्यो भनेर झ्याली पिट्नेहरू
म मर्यो भनेर
फेसबुक ट्विटर अनि सारा इन्टरनेट भरि फैलाउनेहरू
टेलिभिसन चलचित्र अनि रेडियो भरि
मेरो मृत्यु को अफवाह
मनोरञ्जनको खण्डमा सम्प्रेसण गर्नेहरू
एकपल्ट आफ्नै अन्तरमनलाई सोध
तोतेबोली बोल्ने केटाकेटीका लवजमा सुन
विरहका गीत अनि खुसीका संगीतमा छाम

प्रकृतीको तालसँगै ताल मिलाउँदै
प्रवाह भईरहने तिम्रो श्वासमा खोतल
अनि तिमीले थाहा पाउने छौ
हरेक युगमा
साबै मानिस एकैपल्ट निदाउँदा
म सबैलाई एक एक गरि ब्युँझ्याउने गर्छु
मेरा पारखीहरू
मलाई मन्त्र  मानेर
लोकमा मुखाग्र मलाई पस्कन्छन्
अनि पिछलग्गुहरूलाई  उक्साएर
युग परिवर्तन गर्छन
गरिवी, भोकमारी, अनि पीडाका आर्तनादमा मात्र होइन
अट्टहासमा, यौवन, अनि पावन परिवेशमा
म गीत बनेर
साहित्य बनेर
मुटुका मरुभूमिमा छचल्किने गर्छु

Thursday, December 20, 2012

गजल (केशवराज आमोदी)


किन हो मुटुको घाऊ दुख्छ घाम डुबेपछि
उज्यालो मनको आशा लुक्छ घाम डुबेपछि ।

चाहिँदैन मलाई क्यै भोग ऐश्वर्यका कुरा
पिरती रसिलो पाए पुग्छ घाम डुबेपछि ।

दिलमा प्रीतिको बाढी जति उर्ली बगे पनि
मृदु मिलनको गङ्गा सुक्छ घाम डुबेपछि ।

शृङ्गार काव्यको गर्छ जो विरोध सधैँ उही
प्रणयी-रसमा प्रायः डुब्छ घाम डुबेपछि ।

भट्टीको मोहमा ली बाटाभरी बरालिँदै
मनको भँवरो पापी घुम्छ घाम डुबेपछि ।

नाच-गान गरी रम्ने खोज्दै प्रण्य मन्दिर
आमोदी मनको मौजी पुग्छ घाम डुबेपछि ।

केशवराज आमोदी
माधवपुर चितवन
छन्दः अनुष्टुप

Wednesday, October 17, 2012

गजल (राकेश कार्की)


गजल 

बादल झैँ उड्दाउड्दै किन फाटी गयौ
एकैछिन जुधाई चंगा किन काटी गयौ

पर्खी बसें उँही सधैं घडी हेरी हेरी
फर्किन्छु पक्कै भनि किन ढाँटी गयौ

छामी हेरेँ छाती मेरो अझै नै न्यानो
तडपाउने मुटु यस्तो किन साटी गयौ

Monday, June 18, 2012

गजल (श्रीराज भण्डारी)

गजल


धेरै पछी भेट भयो फर्किएर हिन्यौ तिमी
नायासै आँखा जुध्यो तर्किएर हिन्यौ तिमी


केही शब्द तिम्रो नजिक गई मैले बोले पनि
बिष लाग्यो मेरो शब्द झर्किएर हिन्यौ तिमी


पराईको सिन्दुर अनि हातभरी चुरा थिए
छुन खोजे तिमीलाई मर्किएर हिन्यौ तिमी


के थियो सपना? किन भुल्याउ प्रश्न गरे
कलीयुग हो यो भन्दै गर्किएर हिन्यौ तिमी



श्रीराज भण्डारी
remake in 16/06/2012
image: entertainmentnepal.net

Sunday, May 6, 2012

सन्दर्भ विश्वावसु (कविता); यदुनाथ सरल


सन्दर्भ विश्वावसु

लम्जुंग दुराडाँडाका अग्रज कवि यदुनाथ सरलको कविता आजको ब्लग सामग्रीका रुपमा सविनय पेश गरे, यो कविता कवि सरलका सुपुत्र बेदराज ढुंगानाको 'फेसबुक वाल'बाट लिइएको हो |



आयो यो नववर्ष शान्ति सुखको सन्देशले शोभित
ल्याई ती अब आउने दिन बनून् सर्वत्र आनन्दित
यी प्राणी र वनस्पती प्रकृतिको वात्सल्य पाएपछि 
यो विश्वावसु नै सुखावह बनोस् वैशाख लागेपछि ।

पाखा पर्वत खेत चौर हरिया विस्तीर्ण बेसीतिर
मिल्दो भै जलवायु मौसम तथा ती खेतबारीतिर
उब्जा उन्नत शश्य श्यामल बन्यो धर्ती रसाएपछि
यो विश्वावसु होस् सदैव रसिलो वैशाख लागेपछि ।

आआँफै अनुशासन प्रिय बनून् यी देशवासी सबै
पीडा आतुरता र शोक नपरोस् निर्धक्क बाँचून् सबै
चाहन्थ्यौँ अनुकूल तन्त्र सबमा सद्भाव फैलेपछि
यो विश्वावसु बस्छ वर्षभर नै वैशाख लागेपछि ।

Tuesday, May 1, 2012

गजल (राजेश कार्की)


अभिनव.कमका लागि अमेरिकाको लस् एन्जलसबाट इआर. राजेश कार्कीज्यूले पठाउनु भएको गजल आजको ब्लगको सामाग्री, गजलका लागि राजेशज्यूलाई हार्दिक धन्यबाद 

गजल

सधैँ सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले

सँगै सँगै हिँडदा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले

कहिले माया पिएर कहिले पिलाएर
डुबाउने त्यो हेराइको मातैमा तिमीले

Saturday, March 24, 2012

जति जति टाढा गयौ (गीत); राकेश कार्की




जति जति टाढा गयौ
उति उति रित्तो भएँ
छाना जग कै नभाको
ठिङ्ग्रीङ्ग भित्तो भएँ

चोट तिमीले देको हैन
आफै नै लागेको हो
झरी दिए त्यसै त्यसै
न त आँशु मागेको हो

Monday, February 13, 2012

गजल (२); राजेश कार्की


गजल

जति जति पर सर्रछयौ उति नजिक बसुँला म
जति जति फुक्न खोज्छ्यौ उति उति कसुँला म

घुर्काएर ठुस्कीएर रूँदै जित्न खोज्छ्यौ भने
ति आंशुका थोपा थोपा संग संगै खसुँला म

कति सजिलै भन्छ्यौ नि मेरो माया छैन भनि
थुने पनि छेके पनि त्यो दील भित्र पसुँला म

डराई समाजसंग कुल् घरान खोज्छ्यौ भने
जात पात कुरीतिलाई गोमन बनि डसुँला म

Thursday, January 12, 2012

गजल; राकेश कार्की


गजल


पिउँदिन भन्दा भन्दै अलिकति पिलाई दियौ
थपुँ थपुँ लाग्ने गरी यस्मा यो के मिलाई दियौ

अब दु:खेन यो छाती दु:खेन चित्तको घाउ नै
कस्तो नशा हो जादुको यो हृदय सिलाई दियौ

चाँद पनि हाँसे जस्तो तारा सबै नै नाचे जस्तो
मधुरो मैन बत्तीमा अति मजा दिलाई दियौ

छामुँ छामुँ लागी रह्यो खुशीहरु भेटिए जस्तो
सुस्त छुँदा औँला भित्रै स्पर्शमा बिलाई दियौ


राकेश कार्की
लस् एन्जेलस्