Showing posts with label घुम्ने मेच माथि अन्धो मान्छे. Show all posts
Showing posts with label घुम्ने मेच माथि अन्धो मान्छे. Show all posts

Tuesday, June 26, 2012

घैंटोभित्र वटवृक्ष (कविता) भूपी शेरचन


घैंटोभित्र वटवृक्ष

साँघुरो घैटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझै
मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ
र म ओइलाएँ
आफ्नो वरिपरि निस्सासिदो पर्खाल पाएर
अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका
आफ्ना पाँच ओटा औंलाहरु पट्याएँ
प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्र्काएँ
र आज म आफ्नै मुट्ठीभित्र बन्द छु
आफ्नै कठोरताभित्र कैद छु
तर कुनै दिन
तिमीले चिन्न सके आफुभित्रको बतासलाई
र प्रकाशलाई तिमीले
जान्नेछौ कि बाहिरबाट जतिसुकै
कठोर भए पनि भित्र–भित्रै
म कोमल छु
यो बन्द मुट्ठीभित्र हत्केलाझैँ !

Tuesday, February 28, 2012

हामी (कविता); भूपी शेरचन


हामी

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्छौं
र आफुलाई गतिशील भन्ठान्छौं,
अनि एकचोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौं
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुके झैं
हामी भुक्तछौं

Friday, October 14, 2011

साँझको नयाँ सडक जिन्दगीको जात्रा (कविता); भूपी शेरचन


साँझको नयाँ सडक जिन्दगीको जात्रा


बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
पेटीहरु ओहोर–दोहोर गर्छिन् साँझमा
र स्लिवलेस्ब्लाउजको पाखुरामुनि खिचापोखरी
निसासिन्छ गल्लीका
काखीका रौंजस्ता झ्वास्स उम्रेका धमिला, दुर्गन्ध
घरहरुका माझमा
पसलहरुका शो–विण्डोभित्र
सू–जि वाँग हाँसो हाँस्तछन् हङकङ सुन्दरी
मैडम टेरिउल, मिस् नाइलन र सुश्री टेरिलिनहरु
र सम्मोहित कुमारी लूपकुमारीहरु
पाखुराभरि पेन्सिलिन इन्जेक्सनको
यात्राका पदचिन्हहरु बोकेर
अँध्यारा गल्लीहरुतिर लम्किन्छन्
ब्रेसरीको खर्पनमा बासी यौवनका फलहरु उचालेर
‘ट्रीप’ मा मग्न हिप्पीकुमारको अँगालोमा
अर्धनग्न पीताम्बर साडी–ब्लाउजमा
फ्लावर बेबी हिप्पी मैयाँ नयाँ सडकमा हिँड्छे

Tuesday, September 27, 2011

मैनबत्तीको शिखा (कविता); भूपी शेरचन



मैनबत्तीको शिखा

शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ।
मानौं,
प्रथम रजस्वलापछि
स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित–थकित झैं
चकित–चकित झैं
एक्लै–एक्लै मुस्काइरहेको
अनुहार हो यो कुनै
सुन्दरी नवयुवतीको ।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको ।

Sunday, September 4, 2011

म (कविता); भूपी शेरचन




१. म एक पुत्र
एक पति
र एक पिता हुँ

२. एक न्वारान
एक विवाह
र एक चिता हुँ

३. म एक होटल
एक बोतल
र एक प्याला हुँ

४. म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ

Wednesday, June 29, 2011

मेरो चोक (कविता); भूपी शेरचन



मेरो चोक
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असङ्ख्य रोग छ, अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुबैथरिको निवास छ ।
तर यहाँ यी दुबैथरी उदास छन् ।

Tuesday, April 26, 2011

मध्याह्न दिन र चिसो निद्रा; (कविता), भूपी शेरचन



मध्याह्न दिन र चिसो निद्रा

अखबारको ‘वान्टेड कालम’ –मा
म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु—
नयाँ बजेटको ओठमा
खोजिरहेछु आश्वासन
रेडियो–घोषणासँग मागिरहेछु
सान्त्वनाका दुई शब्द
नयाँ पे–स्केलले नापिरहेछु
म आफ्नो परिवारको आयु;
प्रत्येक खाली सिटको सूचनाले
मलाई जवान बनाउँछ
प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर
जीवन, काखीको पसीनाझैँ गन्हाउँछ,

Thursday, April 7, 2011

शहीदहरुको सम्झनामा (कविता); भूपी शेरचन




शहीदहरुको सम्झनामा

हुँदैन बिहान मिरमिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए
हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धडकन शहीदको
हाम्रो खुसीको प्रत्येक पलमा छ जीवन शहीदको
पाउने थिएनौ खुशी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हँुदैन बिहान मिरमिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !

भूपी शेरचन

Sunday, February 13, 2011

घुम्ने मेचमाथि अन्धो मान्छे (कविता); भूपी शेरचन

घुम्ने मेचमाथि अन्धो मान्छे


दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैं
आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर,
घाउहरु कोट्याएर;
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर;
दिनभरि
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफुलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक—असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,

Saturday, January 8, 2011

यो हल्लै हल्लाको देश हो (कविता); भूपी शेरचन

यो हल्लै हल्लाको देश हो


कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको,
खर्पनका खर्पन ,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय–बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्

Thursday, December 30, 2010

नयाँ वर्ष (कविता); भूपी शेरचन

 नयाँ वर्ष

नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्......ट्वाक्........ट्वाक्........ट्वाक्
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला–कुबेलाको वादलको गड्याङ–गुडुङ
आकाशलाई पखाला लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ......
सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु
मध्यान्ह दिन
चर्को घाम

Saturday, December 25, 2010

घण्टाघर (कविता); भूपी शेरचन

घण्टाघर

कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै छोरा–नाति
सँगी–साथीहरुमा बाँडेर
एक–एक गरी
फौजका सब पुराना जर्सीहरु सिद्धिए ।
तर जतनसाथ बचाई राखेको
फौजी जीवनका दुइटा प्रिय चिन्ह
एउटा पुरानो डिजाइनको ठूलो, गोलो जेबघडी
छातीमा झुण्ड्याएर,
अनि एउटा पुरानो टोप शिरमा लगाएर
बुढेसकालमा लामा र दिक्दारे दिन बिताउने
एउटा पेन्सनवाल बूढो लाहुरेझैं
रानीपोखरीमा बल्छी हालेर
तटमा उभिएर निरन्तर
झोक्रिइरहेछ घण्टाघर ।

भूपी शेरचन
घुम्ने मेच माथि अन्धो मान्छेबाट

Friday, December 17, 2010

मेरा साथीहरु (कविता); भूपी शेरचन

मैले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरु
जिएर त हेर, जिउन झन् गाह्रो छ !!


भूपी शेरचन
'घुम्ने मेच माथि अन्धो मान्छे' कविता संग्रहबाट