घर ११
पत्र-पत्रिकामा निस्केका महत्त्वपूर्ण समाचार वा विचारलाई म कटिङ गरेर फाइलमा राख्छु । अनि कहिलेकाहीँ जब बोर लाग्छ- म ती कटिङहरूलाई पल्टाउँछु । एक किसिमले यो मेरो हबी नै हो । कुनै राम्रा कविता, गीत वा कथा हुन सक्छन् । कुनै महत्त्वपूर्ण घटना, दुर्घटना वा नेताका भाषण-सन्देश हुन सक्छन् । कहिलेकाहीँ कुनै अनौठा विषय वा घटना पनि हुन सक्छन् । अर्थात् मेरा यी कटिङहरूमा दृष्टिहरू छन्, विविध रङहरू छन्, छायाँहरू छन् । समाज, कृषि, साहित्य-सङ्गीत र कला आदि सबै धेर-थोर मेरो फाइलभित्र, मभित्र अटाएका छन् । एक किसिमले म इतिहासको साक्षी छु, परिवर्तनको प्रतीक छु र दर्शनको प्रमाण छु ।
म के छु वा छुईनभन्दा पनि हिजो राति अचानक मैले त्यो फाइल पल्टाएँ । फाइलभित्रका कटिङहरूमा क्रमशः आँखा लगाउन थालेँ । निद्रा न आउँदा धेरै जसो यसरी नै निद्रा देवीलाई आहृवान गर्छु । यी कटिङहरू हेर्दै जाँदा कुनै दैनिक पत्रिकाको यौटा कटिङमा पुगेर म अल्झिएँ । त्यहाँ एउटी रूँदै गरेकी पीडित महिलाको तस्बिर थियो र त्यसको क्याप्सन थियो- घटना थाहा पाएपछि पनि श्रीमतीलाई पहिला जत्ति नै माया गर्छु । म त्यहाँ पुगेर अडिनुका दुईर् कारण थिए- यसमा दिइएको दर्दपूर्ण तस्बिरसहितका यी हरफहरू र प्रभावकारी शीर्षक-बलात्कारपछि दुई वर्षसम्म यौनशोषण । पत्रकारिताको दृष्टिले त्यो अत्यन्त राम्रो फिचर वा रिपोर्टिङ थियो । त्यसका अन्तिम हरफहरूले म साह्रै प्रभावित भएँ, मुटुमा ढुङ्गा बसे जस्तो भएँ, रन्थनिएँ । पहिलोपटक पढ्दा पनि म रातभरि छटपटाएको थिएँ, रातभरि निद्रा परेको थिएन । मेरा धेरै रातहरू ती हरफहरूमा साटिएका थिए किनभने पीडितका श्रीमान्, एक जना लोग्ने मान्छेमा म स्वयं रूपान्तरित भएको थिएँ । मलाई लाग्छ- यौटा सत्य-तथ्य घटनालाई समाजमा ल्याइदिएर त्यो लोग्नेमान्छे आफू त हलुङ्गो भयो होला तर मजस्ता लाखौँ लोग्नेमान्छेलाई उसले सोच्न, सम्झन सचेत गरायो । मैले ती अन्तिम हरफहरूलाई धेरै पटक पढेँ 'उसले परिवारलाई बदनामीबाट बचाउन यति ठूलो पीडा सहेकी रहिछ, म उसलाई पहिले जति माया गर्थें वास्तविकता थाहा पाएपछि पनि उत्तिकै माया गर्छु, उसलाई अदालतसम्म न्याय दिलाउन सहयोग गर्नेछु ।'
