Showing posts with label सरुभक्त. Show all posts
Showing posts with label सरुभक्त. Show all posts

Friday, December 2, 2011

सम्प्रति मृत्युउत्सवहरु (कविता); सरुभक्त


सम्प्रति मृत्युउत्सवहरु


जिन्दगी
एस–ट्रेभित्रका विद्रोहहरु
ताप्केबाट उम्कन खोज्दा भुङ्ग्रोमा

शुभ–साइत दुर्भाग्यहरुको
च्याउको रुख चढदै
गलगाँड सुन्दरीहरु रगतको नदीमा
माछामार्दै छन्

वन्दी प्रत्यक्षीकरण रिट: मिसिलविना
औद्योगिक जोगीहरु सुरुङभित्र धरहराहरु
उत्पादन गर्दैछन्

अवशिष्ट गौरवगाथा : जाउँ वरु भाडाका
टट्टु वनी विक्नलाई
हामीसित देशमा वालसैन्य छँदैछ

Tuesday, July 5, 2011

जादु (कबिता); सरुभक्त


जादु

देश परिवेश: पुरातनपन्थी थकाइमा
मस्त निदाइरहेको बेला
एकथरी देशहरु
कालापहाड तर्फ लागेका छन्
मुटू कलेजो हराएर
बूढा सुब्बाका जोखनाहरु मूच्छित छन्
सर्वत्र विद्रोही र छापामारका कुरा
भूकम्पीय क्षतिका भविष्यवाणीसहित
आह ! पालतिर हामीले थुप्रै
ट्रमा सेन्टर खोलेका छौं

Sunday, January 9, 2011

युद्ध र शान्ति (कविता); सरुभक्त

युद्ध र शान्ति


यथावत संक्रमण
लामखुट्टे तुफान चलेको वेला
रोल्वालिङतिरका च्छो रोल्पाहरुमा
आइपुगेका छन् उड्ने प्याउराका
अन्तहीन वथानहरु

हत्याको फरमान जारी छ
यसर्थ गंगटाहरुको जुलुश निस्केको छ
जिन्दगीको मृत्यु शडकहरुमा

उ: ! सलहहरुले धावा वोले
खोई कहाँ छन् च्वे ग्वेभेराका टाटु
पाखुरामा अङ्कित गरिहिड्ने
दूव्र्यसनी जन पुस्ताहरु ?

Wednesday, December 8, 2010

इतर समय (रचनाकार: सरुभक्त)

इतर समय


मृत्युमहोत्सव
पीडाहरुको कोलाहल वगेर
आखेटिक विश्वासहरुमा
धुमकेतु उदाएको वेला
म हब्वलका आँखाहरुले हेर्दैछु
मान्छेका अन्तरिक्षहरु
उन्मीलित ताराहरुको देश
च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि
किरणस्नान गर्दै
कुन जम्बालहरुमा चिप्लन्छन्
मेरा पयरका विश्वासहरु ?
म अन्धकूप अन्तरिक्ष पोखरीमा
माछामार्न हिडेको छैन
आह ! गिद्धहरुको दाहसंस्कार
अन्तरिक्ष अकाल धर्तीभरि
म सप्रसङ्ग षड्ऋतुहरुमा
आयामहरुको टोष्ट खाँदैछु