Wednesday, April 13, 2011

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन; लक्ष्मी प्रसाद देवकोटा

...............................................................
...............................................................
हे मेरी आमा ! मलाई तिमी सम्झँदिहोऊ नि !
हे मेरी मुना ! मलाई तिमी सम्झँदिहोऊ नि !
ईश्वर ! ईश्वर !! तँ मात्र मेरो वनमा साथी छस्,
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस् ।
आगोको ज्वाला कताको होला ? डढेलो उठ्यो कि,
मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ?
नजीकै आयो मानिस यौटा लिएर चिराक
डाँकू पो हो कि ? भूत पो हो कि ? वनको खराब ।
पयोमा यौटा झुण्डेको सास के भर, के डर ?’
भएको बल गलाको पुग्छ चिराक पल्तिर ।
को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामी
मायाले भन्छ, ‘साथी र भाइ रहेछ हरामी ।
मेरो छ घर एक कोस पर, तिमी त मर्दैन,
म बोकी लान्छ, हुन्छ कि हुन्न ? फरक पर्दैैन ।’

Monday, April 11, 2011

एक बिहान, (कविता); महाकबि लक्ष्मी प्रसाद देवकोटा


एक बिहान


  उषा चढिन् रे सल्लो !
        स्वर्ग भयो आकाश उपल्लो !
        त्यसको मछाया,
        ताल धरामा, तल्लो !
        सुन्दरताले झस्केको, वायुमण्डल
        हाल्यो !
        प्रतिस्पर्शले क्या बादल बल्लीे ,
फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो !

 पन्छी–गाना उडाइन् तिनले ।
श्रवण भरीकन,
       फुलको कोभी आँखा भल्यो !
        के, के तिनले गाइरहिछन् ?
सृष्टि रसिलो, लाल सुरा भै,
कसरी उछल्यो ! कसरी उछल्यो !

 आदिपुरुस ? औ प्रकृतिदेवी
       खेल्छन्जुहारी रङ्गमा !
       सुनिरहेछु, स्वर्गकी बाला !
पर्वतमाला, मिरमिर पुराना,
गुन्जिरहेछन्ढङ्ग, ढङ्गमा !
जन्मिरहेछन् दिवस जगत्को,
चल्छ किरणको डल्लो !
 अप्सराकी ए ! रानी ! तिमी,
छवि–खानी !

Sunday, April 10, 2011

नदी किनारमा (कविता); भिमदर्शन रोका


नदी किनारमा


बितोस् सन्ध्या मेरो एक नदीको किनारमा
होला घाम पश्चिमी बादलको पुछारमा
डुबेको होला वन र पाखा झिंगुरको झङ्कारमा
डुबेको हुँला म पनि एक गहिरो विचारमा
बितोस् सन्ध्या........

पन्छीहरु सबै जालान् आफ्नो आफ्नो वासमा
एक्लै हुँला तर म त्यहाँ टाढाको आशमा
बितोस् सन्ध्या.........

चिसो बतास आई फकाउला मलाई
तब उदय होला तारा मेरो पूर्वको दुवारमा
बितोस् सन्ध्या......

Thursday, April 7, 2011

शहीदहरुको सम्झनामा (कविता); भूपी शेरचन




शहीदहरुको सम्झनामा

हुँदैन बिहान मिरमिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए
हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धडकन शहीदको
हाम्रो खुसीको प्रत्येक पलमा छ जीवन शहीदको
पाउने थिएनौ खुशी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हँुदैन बिहान मिरमिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !

भूपी शेरचन