पानीको वर्षा घटेर होस् वा हिलो मैलो हटेर होस्, दशैँ आएको भान भै-रहेछ मलाई यतिबेला | बर्षको मध्यमा पर्ने शरद ऋतु र मनोरम शरद ऋतुमा पर्ने यो महान पर्बले घरबाट टाढा रहदा खेरिको आत्मियताको अभाबलाई फेरी एकपटक महसुस गराएको छ | दशैँको फूलपातीका दिन परिवारसंग छुट्टिएर लण्डन उडे पछि परिवारसंग संगै दशैँ मनाउन नपाएको यो तेश्रो दशैँ हुनेछ | यो बिशेष महत्वको पर्ब, आफन्तलाई एक-साथ जुटाउने पर्ब, उत्साह र उमङ्गको पर्ब, मलाई यो पर्ब आउदाको समय नै निक्कै रमाइलो लाग्ने गर्थ्यो; सानै देखी |
काठमाडौँमा रहदाको चार पाँच बर्ष टिकाको केही दिन अगाडि मात्रै घर गइन्थ्यो; चाड बाडको समयमा गाडीको टिकट पाउन मुस्किल हुने हुनाले कहिले गाडीमा उभ्भिएर त कहिले माइक्रो बसमा कोच्चिएर | पाँच छ घण्टाको कहालीलाग्दो यात्रा र त्यसको थकान त्यो सबै भुलिन्थ्यो, दशैँमा घर पुगे पछी | दशैँमा घर पुग्दा यस्तो लाग्थ्यो घर मलाई पर्खेर बसिराखेको छ; मेरै प्रतीक्षामा छ; मेरै इन्तजारमा छ | बुबा आमा, छर छिमेक, गाउँ घरका साथी भाइ सबैसंगको फुर्सदिलो भेटघाटले सम्बन्धको आत्मियतालाई फेरी एकपटक नयाँ उचाईमा पुराउथ्यो; अनि रोजगारी र पढाईका लागि मुग्लान छिरेका दाजु भाइ दशैँका लागि क्रमश फर्किरहेका हुन्थे, ति मध्ये कसैसंग त बर्षौ पछि भेटघाट हुन्थ्यो |