अनि म हराँए ।
उमेरले पाँच त जेठबाट लाग्ने हो।
दाजु, (ठूलो बुबाको छोरा) परार सालबाटै बोर्डिङ जान थालेको।
आहा!! अब म पनि जाने। बिहानै सुकिला ड्रेसमा सजिएर घाँटीमा टाइ झुण्डयाएकाहरुसंगै म पनि केही पाइलासंगै हिड्थें, अनि फेरि फ़र्किएर आउथे, दिन भरि धुलो र माटोमा खेल्न। तिनले पछाडी भिर्ने ब्याग, हातमा बोक्ने टिफ़िन ती सबै सबैले मलाइ निक्कै लोभ्याउथ्यो। ति सबै चिज मेरो पनि अब आफ्नै हुदैछ भनेर दंग पर्थे। तर मलाइ के थाहा, स्कूल भित्र पट्यारलाग्दो भूतहरु पनि हुनेछन भनेर।
स्काइ राइडर बोर्डिङ स्कूल।
मेरो पहिलो पाठशाला हुदै थियो यो। पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पर्छ, त्यती खेर नगरपालिका भैसकेको थिएन क्यार, गाबिस नै थियो। सायद ५ या ६ कक्षासम्म पढ़ाई हुन्थ्यो त्यहाँ। स्कूलसम्म पुग्ने बाटाहरु धुलाम्मे ग्राभेल थिए, खाल्डाखुल्डी टन्नै भएका। घरबाट स्कूलसम्म पुग्न साइकलमा त्यस्तै २० मिनेट जति लाग्थ्यो। त्यहाँ पढ्ने हाम्रो घर वरिपरीका केटाकेटीलाई लिन रिक्सा आउथ्यो, म पनि अब रिक्सा चढेर पढ्न जाने मन फुरुङ्ग भयो।
अनि म नर्सरीमा भर्ना भए।
जिन्दगीको नयाँ अध्याय शुरु भयो मेरो, भर्ना गरेको दिन बुबा ममी दुबै जनाले मलाइ लिएर स्कूल जानुभयो। दिदी पनि संगै हुनुहुन्थ्यो, मामाघर बसेर सरकारी स्कूलमा ३ कक्षेसम्म पढेर फर्किनुभाको। दिदीलाई १ कक्षामा र मलाई नर्सरीमा नयाँ भर्नाका प्रक्रियाहरु भए त्यहाँ । म भने स्कूलको अफिस कोठामा झुन्डेका अनेकौं नक्सा र चार्टहरुमा नजर डुलाइरहें। ति सबैमा मलाई सबैभन्दा अनौठो ग्लोब देखेर लाग्यो (त्यो चिजको नाम ग्लोब रहेछ भनेर मैले निक्कै बर्ष पछी मेसो पाए)। हामीसंंग कुरा गर्दै बस्नु भएको एक जना त्यहीको मास्टरले बिचबिचमा घुमाई रहेको देखेर मैले मन मनै त्यो एउटा खेलौना भन्दा बड्ता क्यै नभएको निर्क्यैल निकाले। मदन सरले मलाई काखमा लिएर भन्नुभयो, अजय!! तिमी हाम्रो नयाँ बिद्यार्थी। भोली देखी बोर्डिङ आउने।
मेरो पहिलो दिनको बिद्यालयको यात्रा यत्ती मैं सिमित रह्यो।
स्कूल पश्चात बुबा, आमाले हामीलाई त्यसपछी बजार लिएर जानुभो, स्कूलको २ थरी युनिफर्म सिलाउन दिनुभयो। नयाँ झोला, टिफिन ब्याग, टुम्लेट, छालाका नयाँ कालों जुत्ता हाम्रो पनि भए आफ्नो आफ्नै। कापी, पेन्सिल, नयाँ किताबका अरु भारी थपिए घर फर्कनु भन्दा पैले। हामी बोर्डिङ जानका लागि टेक्निकल्ली फिट भयौ, अब त्यो दिनमा क्यै बाँकी थियो त त्यो दिनलाई मिठा परिकारले बिदा गर्न बाँकी थियो। हामीलाई त्यो बेलामा बजार पुगेसी बुबाले कहिल्यै क्यै नखुबाइ घर फिर्ता लौजानुहुन्थेन, दिदी र म निक्कै पछीसम्म नि त्यहाँ पुगेसी आफुलाई मन लागेको कुरा खान्थेम, जेरी, समोसा या रसवरी हाम्रा रोजाइका खानेकुरा थिए। त्यो दिन पनि हामी त्यस्तै केही खाएर घर तिर फर्कियौं।
भोलीको इन्तजार।
दिदीका लागि बिद्यालय नालों थिएन, थियो त केबल नयाँ ठाउ, नौला मास्टरहरु र अपरिचित क्लासमेटहरु। तर मेरा लागि सबै नोलौ शुरुबात थियो। म बेल्का घरमा कापीहरु सुम्सुम्याउदै बसें। बुबा र ममीले दिदीका किताबमा प्लास्टिकका गाता हालिदिनु भो। दिदीले मलाइ पेन्सिल कटरमा पेन्सिल तिखार्न, लेख्दा बिग्रिए इरेजरले मेट्न सिकाइदिनु भो र केही थान कापीहरु पछीका लागि भनेर दराजमा थनक्याउनु भो। म दिदीसंग जिन्दगीका नौला रंगहरु अनुभुत गर्दै बसें। भोलीको इन्तजार गर्दै बसें।
धुलाम्मे बाटोमा रिक्सामा गुरुरु।
भोलीपल्ट बुबा अफिस जाने समयमा हामी दिदी भाइले पनि बुबासंगै खाना खायौं। टिफ़िन बाक्सामा टिफिन तयार भयो। स्कूल ड्रेस त तयार भैसकेको थिएन क्यार, हामी बाहिर हिड्दा लगाउने नयाँ लुगा लगायौं, मेरो जम्पर टाइपको लुगामा अगाडि पट्टी x y z लेखेको थियो, तल त्यसकै सेट ट्राउजर थियो। हामीलाई लिन रिक्सा आउथ्यो, एउटा रिक्सामा आठ/नौं जना बसेर जानुपर्थ्यो। हाम्रो घर वरिपरिबाट त्यस्तै पाँच/छ जना थियौ, रिक्सामा स्कूल जाने। दाइ अर्थात ठुलोबुबाको छोरा र मेरो स्कुल भने बेग्लै बेग्लै थियो। घर नजिकैको अर्को एकजना प्रकाश दाइ हुनुहुन्थ्यो, कक्षा पाँचमा पढ्नुहुन्थ्यो, साइकलमा जानुहुन्थ्यो। रिक्साको ड्राइभर अल्ली लठेब्रो टाइपको थियो, रिक्सा बेजोडले कुदाउथ्यो, हामीहरु खाल्डाखुल्डी टन्नै भएको बाटोमा उफ्रिदै र थेच्चिदै जान्थेम। नारायण बाजेको इट्टा बोक्ने थोत्रो टडक त्यै बाटो जाँदा भने हाम्लाई धुलोले गर्लम्म सिरक ओडाउथ्यो।
अनि म हराँए।
स्कूलको पढाइ त क्यै याद छैन, क्लास दिदीका भन्दा मेरो पहिले सकियो । घर जानका लागि मैले दिदीलाई पर्खनु पर्ने थियो। दिदीले मलाई कहीं पनि नजानु मलाई पर्खेर बस्नु भन्नुभाको थियो, मैले हंस पनि भनेको थिए। म सबैसंग नौलो थिए त्यसैले कसैसंग खेल्न पनि गइन, बरु हामी घर जाने रिक्सा बग्रेको रहेछ, हामीलाई ल्याउने ड्राइभरले बनाउदै थियो त्यै हेरेर बसे। रिक्सा केहीबेर मैं तयार भएपछी, एक जना सरले यो यो बिद्यार्थीलाई घर पुराएर आउनु भनेर त्यो ड्राइभरलाई आदेश दिनु भो। त्यहाँ ३/४ जना अरु थिए, अनि मलाई देखाएर अनि उ भन्नु भो। मैले म त दिदीसंगै घर जाने हो भन्नै सकिन, मेरो बोली नै निस्केन। म त्यो रिक्सामा अरु अपरिचितहरु संगै त्यो रिक्सामा चढे। म कहाँ जादैथे, मलाई थाहा थिएन। कोसंग जादैछु अंह त्यो पनि थाहा थिएन। रिक्सामा अपरिचित नै भए पनि अरु भइञ्जेल त त्यती डर लागेन तर सबै आ-आफ्नो घर अगाडि पुगेसी झर्दै गर्न थाले, अन्ततः म रिक्सामा एक्लै भए र अकस्मात डरको कल्पना भन्दा ठूलो पहाड मेरो अगाडि तेर्सियो। म त बुबा, ममी वा कैले काँही दिदीको साथ भन्दा पर नपुगेको मान्छे, ओहो! म कहाँ आइपुगे?रिक्सा ड्राइभरले तेरो घर कुन हो भनेर सोध्यो, मलाई कुनै पनि घर मेरो घर जस्तै लागेन। कुनै पनि घर मेरो घर जस्तै प्यारो थिएन, प्रिय थिएन। बाटोहरु मैले चिनेका जस्तै थिएनन्। मान्छेहरु पनि नौला नौला थिए। ड्राइभरको प्रश्नले म झनै आतंकित हुदै थिए। अकस्मात मलाई रुनझुन आयो, म रिक्सा भित्रै डाको छोडेर रोए। मैले बच्चाहरु हराउछन भन्ने सुनेको थिए, मलाइ लाग्यो म हराँए।
दिदीको पिडा।
दिदीको पनि त्यो स्कुलमा टेक्निकल्ली पैलो दिन भएकाले, त्यहाँका ठाउहरुसंग अभ्यस्त हुनुहुन्नथ्यो। आफ्नो छुट्टी भएको निक्कै बेरसम्म पनि मलाई सम्भावित ठाँउहरुमा मलाई नभेटे पछी, डराइडराइ स्कूलको एक जना सरलाई भन्नुभएछ। त्यसपछी भने म हराएको हल्ला स्कूल भरि फैलिएको थियो। म उता रिक्सामा एक्लै रुदै थिए, मलाई यता स्कूलका कक्षा कोठा कोठामा, चउरमा, ट्वाइलेटमा, जतासुकै खोजिदै थियो। तर जति खोजे पनि अंह म स्कूलमा भेटिने बाला थिइन। म आफू हराएर मैले दिदीलाई मात्र हैन, स्कूलका मास्टरहरुलाई पनि असैह्य पिडा दिएको थिए।
टेलिफोन त थिएन तैपनि घरमा खबर पाए।
बुबा पनि अफिसबाट घर छिट्टै फर्कनु भएको रहेछ। घरमा स्कुल पठाएका छोराछोरीको सहज इन्तजार थियो। हामी स्वभाविक घर फर्कने समयम हुदै थियो। कुनै अनपेक्षित ख़बरों पर्खाइमा थिएन कोही। म हराएको कुरा घरमा थाहा हुने सामान्य तारिका खासै क्यै थिएन। त्यतीबेला अहिलेजस्तो हातहातमा मोबाइल थिएन न त घर घरमा टेलिफ़ोन थियो। घर नजिकैको प्रकाश दाइ स्कुलमा भएको ति सबै कुरा थाहा पाएर घर आइपुगी सक्नु भएछ, उहाँसंगै म हराएको खबर पनि घर आइपुगेको थियो।
अनि म यसरी भेंटिए।
स्कूलमा पनि म निक्कै बेर कँही कतै नभेटिएपछी ठूलै हल्लीखल्ली भएछ। उता रिक्सा भित्रै रुदै बसेको म रिक्सा ड्राइभरलाई घाँडो भैराखेको थिए। उस्ले मलाइ पटक पटक ह्यै झर, ह्यै झर भनेको थियो म नटेरी कनै रिक्सा भित्रै बसिराखेको थिए। अपरिचित ठाँउमा त्यसरी रिक्साबाट झर्ने साहस म भित्र पलाइसकेको थिएन होला सायद। तैपनि म रिक्सा ड्राइभरसंगै डराउदै थिए, उस्ले मलाई रिक्साबाट उतारेर उँ रिक्सा लिएर जाने हो की भनेर, नभन्दै केहीबेरमा उसले त्यस्तै गर्यो, अप्ठ्यारो लबजमा "जा, तेरो घर कुन हो जा!!" भन्यो। उ रिक्सा लिएर हिड्यो, म अत्तालिए। सुनसान जस्तो देखिने त्यो ठाँउमा म रिक्सा गए तिरै रुदै हिड्दा लागे। त्यसको केही क्षण मै स्कूलबाट साइकलमा गएका २जना मास्टरहरुले मलाई च्याप समाए र फर्काएर स्कुल लिएर आए। मेरो बारेमा जयमंगला तिरबाट त्यो बाटो हुदै टाँडी जान लाएको एक जना युवकले हरियो रंगको अगाडि x y z लेखेको जम्परमा एउटा सानो फुच्चे रिक्सामा रुदै थियो भनेर, स्कूलमा म कहाँ छु भन्ने कुराको आइस ब्रेक गर्देका रहेछन।
म त ठूलो भएकै रहेनछु।
स्कुलकै मदन सर र गौतम सरले मलाई साइकलको अगाडि पट्टी राखेर घर ल्याइपुराउनु भो, घर तिर नि हल्ली खल्ली भैसकेको रहेछ। म बुबा र ममीलाई भेटेपछी उहाँहरुको काखमा लुटपुटिन पुगें। बुबा ममी पनि मलाई सकुसल भेटेसी खुसी हुनुभयो। म हराँए पनि मेलै त्यो दिन पाइनाप्पल बिस्कुट भेटेको थिए। म घरमा बुबा ममीसंग जैले म त अब ठूलो भैसके नि भनेर भन्थे तर त्यो दिन बुबा ममीले मलाई बाबु त ठूलो भएकै रहेनछ नि! भनेर जिस्काउनु भयो। साँझको खाना खाइसकेपछी रेडियोमा कुन्नी के के बज्दै थियो, बिचैमा बालक हराएको सूचना आयो, बुबाले म हराएर नभेटिएको भए मेरो पनि त्यस्तै सूचना रेडियोमा बजाउनुपर्थ्यो भनेर जिस्काउनु भयो, म फेरि एकपटक बुबाको काखमा लजाउदै लुटपुटिन पुगें।
हराउन गाह्रो छ अचेल।
त्यतीखेर म हराएर पुगेको ठाँउ वैरिया आशपाश रहेछ। पछी निक्कै बर्ष पछी पनि त्यो ठाँउ तिर पुग्दा रुदै बाटोमा हिडेंको त्यो पल याद आउछ। त्यो ठ्याक्कै ठाँउ कहाँ निर होला झै हुन्छ। धमिला भैसकेको यादहरु ताजा बन्दै आउछन। तर हिजो आज मलाई हराउन कहाँ त्यती सजिलो छ र? स्याट नेभिगेसनको जमाना छ, अत्याधुनिक स्मार्ट फोन र गुगल म्याप जतिखेर पनि साथै छ। नेपालबाट सयौं माइल परको देश बेलायतको एउटा सानो जंगलमा स्याटन्याभ बन्द गरेर हिड्दा पनि वा साउथह्यामटन नजिकैको एउटा गाँउमा चाहेरै केही बेरका लागि हराउन खोज्दा पनि सकिएर, टुइटरमा दाइले छर्लङ आँखाले साक्षात देखे झै गरि सोध्यो,
"कता डुलिराख्याछस, लखरलखर??"
अजय ढुङ्गाना
No comments:
Post a Comment