गलत लाग्छ मलाई मेरो देशको बर्तमान
जब
बर्षभरी कुटो कोदालो
र डोको नाम्लो गरेर पनि
पाल्न सकिंदैन जहान
हात पसार्दा
कुहिएको चामल मिल्छ
बिदेशीको स्नेहपूर्ण दान
त्यसैले पेटमा पहिरो चलेपछि फेरि
समयमा हुँदैन निदान
र बस्ती नै सोत्तर हुने गरेर
अकालमा जान्छ मान्छेको ज्यान
तब
गलत लाग्छ मलाई मेरो देश
को बर्तमान
जब
पटक पटक आन्दोलन हुन्छन
(असंख्य आन्दोलन हुन्छन)
तिनै निमुखा जनताको नाउँमा
र उही गरिबी हटाउने निहुँमा,
चटक गर्दै नेताहरु सिंहदरबार
छिर्छन
र उतै हराउँछन्
हरबखत कुर्चीकै गरेर तानातान
तिनको त महल ठडिन्छ कान्तिपुरीमा
गरिबीको कुनै निस्कन्न समाधान
र हरेकपल्ट टीठलाग्दो बन्छ
शहिदहरुको बलिदान
गलत लाग्छ मलाई मेरो देशको बर्तमान