अनुभूतिको महायात्रा
जीवनमा आगमन हुने अनगिन्ती रङहरूमा सधैँ मौसम एकैनासको नहुनु अस्वाभाविक छैन । परिवर्तन त ऋतु आगमनको सङ्केत मात्र होइन, ऋतु बिदाइको संयोग पनि हो । रिमझिम रिमझिम
वर्षाद्मा पानीसँग संवाद गर्दाको पललाई कुनै सुन्दर स्वप्न देखेजस्तै रूपमा आकषिर्त हुन सकिन्छ भने हिउँदको कठ्याङ्ग्रिंदो जाडोमा सबैलाई रापिलो घामको चाह हुन्छ नै, म पनि कुनै अपवाद होइन ।
कविता अर्थात् काव्यमा विशिष्ट शक्ति छ भनेर समालोचकले भनेको कुरालाई नै अनुशरण गरेर अघि बढ्नु पर्दछ भन्ने हुँदैन, राम्रो कविता आफैँ बोल्छ र कविताले मस्तिष्करूपी तन्तुमा मात्र होइन हृदयरूपी सागरमा पनि सक्दो हस्तक्षेप गर्न छोड्दैन । हजारौँ वर्षमा दार्शनिकहरूले धेरै कुरा भनेर गए, सायद भन्न बाँकी केही पनि भएको देखिँदैन तर कहिल्यै समाप्त भएको हुँदैन सार्वजनिक नभएका कुराहरू । ओझेलमा परेका कुरामाथि पनि एकदिन उज्यालोको प्रतिबिम्ब
अवश्य नै पर्नेछ, यस्तो विश्वस्तताको पनि आफ्नै प्रकारको भूमिका हुनुपर्छ । जीवनका विविध रङहरूलाई समयमै महसुस गर्न सकिएन भने जीवनको उदासीनता मात्र प्रकट हुन्छ । जीवन वैचारिक पुञ्जभन्दा बढी नयाँ नयाँ रङहरूलाई समायोजन गर्ने सन्दर्भमा अनुभूतिजन्य छ । जीवनको उदय नै सर्वोपरि सत्ता हो । सायद यसैबाट निकै अभिप्रेरित भएर होला म आजभोलि दार्शनिकताको खोजीभन्दा बढी भावनात्मक हुने कोसिसमा जुटिरहेछु ।
दार्शनिकहरूले विचारको मृत्युको घोषणा धेरै पहिला नै गरेका हुन् तर अचम्म लाग्छ, न उनीहरूले कहिल्यै मृत हुने विचारमाथि काम गर्न नै छोडे न विचारलाई अस्तित्वबाट पर राख्दै आफ्नो महत्वाकाङ्क्षालाई
अघि बढाउन नै छोडे ।
दार्शनिकहरूको अवसर पाएसम्म भन्ने बानी नै हुन्छ, अर्थात् उनीहरूको खेती नै त्यही हो । उनीहरू के के भन्दछन्, त्यतातिर नजाउ" । महसुस गरेर आत्मसात् हुने कुरालाई पनि दर्शनको गरुङ्गो भारी बोकाउँदै वैचारिक श्रेष्ठता प्रमाणित गर्न खोज्नु र त्यसलाई उच्चदार्शनिकताको स्वरूपमा ग्रहण गरिनु त्यत्तिकै घातक पनि देखिन्छ । यस्तो प्रक्रियाले अर्को कुनै नयाँ दर्शनलाई नै उत्पादन गर्ने काम पनि गर्ने गर्छ ।