Monday, December 12, 2011

मेरो लामो कविता


१.


तिमी पढ्दैनौ,
मेरो लामो कविता,
नलेख्दै जाती |

(यो एउटा हाइकु मात्रै हो, कविताको सबैभन्दा सक्षिप्त रुप, लामा कविता पढ्न रुची नगर्ने पाठकहरु प्रति समर्पित)


अजय ढुंगाना


Saturday, December 10, 2011

बेमौषमको कथा; अजय ढुंगाना


बेमौषमको कथा


किन्चित, मस्तिष्कमा अल्झिएका पुराना कुराहरु सम्झीरहेछु | बाहिर बेजोडको हावा चलिरहेछ | हावाले मनमा एउटा भय उत्पन्न गराइरहेछ | झ्यालको छेउमा गएर उभ्भिएर बाहिर हेर्छु | आकाश डरलाग्दो देखिन्छ, साझको चार बज्न खोज्दैछ, साझ यसअर्थ कि अन्धकार बढ्दैछ, समय साझ जस्तै बनेर उभ्भिएको छ | बेजोडको हावा-हुरीले मन फेरी भयभित बन्छ | मन चिस्सिएर आँउछ, अनि बिस्तारै पुरै शरीर नै चिसो हुन्छ | मोजा नलगाइएका खुट्टाहरु एक माथि अर्कोले टेक्दै तातो बनाउने कोशिश गर्छु | हातले सेन्ट्रल हिटिंगका पाताहरु छुन्छु | एकै छिनमा हात पोले जस्तो हुन्छ, हात सेन्ट्रल हिटिंगका पाताबाट हटाउछु | सेन्ट्रल हिटिंगका पाताहरु आफैमा ताता थिए तर कोठा तातेको थिएन | चिसोका सृंखलाहरु शुरु भएका थिए | डिसेम्बरको पहिलो हप्ता भर्खरै सकिएको छ, खाटमा रहेको ल्यापटपमा बि.बि.सी.नेपाली सेवाबाट प्रशारण हुने समाचार बजिरहेछ, मेरो पुरै ध्यान त्यो समाचारमा मात्रै छैन | म अरु नै केही पनि सोच्दैछु, तर के यति बेला बिर्सीसके | 

एकै छिनमा खाटमा आँए, सिरक ओढे र भित्तामा आढेस लगाए | सिरक भित्रको न्यानोमा खुट्टाहरु खुशी थिए | हातहरु भने मुखसम्म पुगिसकेका रहेछन, उफ्फ़ फेरी नंग टोक्न थालिसकेछु | सम्झे पछि त्यो छोडे, अनि चस्मा खोलेर चस्माका शिशाहरु पुछे र लगाए | चस्मा दोषी होइन रहेछ, कोठामा नै उज्यालो कम भएको रहेछ | खाटबाट नउठीकनै बत्तिको स्विच अन गरे | उज्यालो बढे पछि अलि सजिलो लाग्यो | मन शान्त भए जस्तो भयो | तर होइन रहेछ, मन पुराना कुराहरु सम्झन व्यस्त हुन थाल्यो |

Thursday, December 8, 2011

एगेन एट लन्डन ब्रिज

एगेन एट लन्डन ब्रिज


डिसेम्बरको यो चिसो साँझमा फेरी एक पटक लण्डन ब्रिज हुदै टावर हिल ब्रिजसम्म पुग्दा मसंग हातमा क्यामरा थिएन | साँझका मनमोहक दृश्यहरु साथमा भएको आइफोनबाट कैद गर्ने कोशिस गरे, जुन तस्वीरहरुलाई मैले आजको ब्लगको सामग्री बनाएको छु |


लण्डन ब्रिज, लण्डन

Friday, December 2, 2011

सम्प्रति मृत्युउत्सवहरु (कविता); सरुभक्त


सम्प्रति मृत्युउत्सवहरु


जिन्दगी
एस–ट्रेभित्रका विद्रोहहरु
ताप्केबाट उम्कन खोज्दा भुङ्ग्रोमा

शुभ–साइत दुर्भाग्यहरुको
च्याउको रुख चढदै
गलगाँड सुन्दरीहरु रगतको नदीमा
माछामार्दै छन्

वन्दी प्रत्यक्षीकरण रिट: मिसिलविना
औद्योगिक जोगीहरु सुरुङभित्र धरहराहरु
उत्पादन गर्दैछन्

अवशिष्ट गौरवगाथा : जाउँ वरु भाडाका
टट्टु वनी विक्नलाई
हामीसित देशमा वालसैन्य छँदैछ