Monday, February 28, 2011

लोभ्याउन सिपालु कुन्छा (संमरण); श्याम दाहाल


लोभ्याउन सिपालु कुन्छा

परीक्षाको बेला अलिक बढी नै मेहेनत गरिन्थ्यो, अघिपछि सधैँ राजनीतिकै बढी चर्चा-परिचर्चा गर्न रुचाउने जमात थियो, हाम्रो । पञ्च-प्रवृत्ति र केही साथी देखेर हो कि ? हामीहरू भ्रष्टाचारको खूब विरोध गर्दथ्यौँ । मेरा-पि्रय, परममित्र रामशरण महतजी र मैले त लमजुङ पुगेर पनि भ्रष्टाचारकै घोर विरोध गरेर खिल्ली उडायौँ । त्यहीँको घटनाले- पू.प्र.म. सूर्य ब. थापाज्यू कहिल्यै नबिर्सिने हुनुभएको छ । महतजी अहिले ढुङ्गो समाउँदा-द्रव्य हुने, माटो समाउँदा-सुन हुने, ठाउँमा पुग्नुभएको छ । म यथावत् छु । उहाँ उस्तै हुनुहुन्छ कि कस्तो हुनुभएको छ, थाहा छैन । -छँनता-प्र.म. ला ब. शास्त्रीका दाँत, सखा, मङ्गलदेव शास्त्रीले हालिदिएको व्यथा पनि जिउँदैछ ।) परीक्षाले गर्दा-महिनौँ अघिदेखि निदलाई फकाएर एम.ए. को परीक्षा सकेपछि आनन्दले दुई-चार दिन सुत्लास् भनेर लोभ देखाउँदै लगियो तर परीक्षा सकेको रात त विचरा ?... निदले झन्-झपक्कै आँखा लगाउनसम्म पनि पाएन । बाटो खोज्दाखोज्दै-विचारमा डुबेर झन् छर्लङ्ग रात बित्यो । तत्काल नयाँ समस्या पो अगाडि देखापर्‍यो-अब बिहान उठेर कहाँ जाने ? विनाकाममा के गरेर कसरी बस्ने ? चिन्तैचिन्ताले रातभरिमा दुईवटा विकल्प तयार भए । पहिलो विकल्प प्रशासन जाने । सायद यही बाटो हिँडेको भए- म पनि नेपालका अधिकांश पठित-टाठा-बाठाहरूले भ्रष्टाचार गरेर रातारात अकूत सम्पत्ति जम्मा पारेर नेपालका नामूद भ्रष्टाचारीहरूको पङ्क्तिमा सगौरव, निर्ममताका साथ शानदाररूपमा आफूलाई समाज सामु सगर्व उभ्याउन हुने थिए कि  । अर्को विकल्प थियो- राजनीतितिरै हाम्फाल्ने । त्यो समय पञ्चकै बढी बिगबिगी थियो र पञ्चको कर्म र आचारण देखेर, घरपरिवारले पटक्कै रुचाएनन्, बरु डराए । यसैबीच रामचन्द्र न्यौपानेदाइ आइपुग्नुभयो, धोबीधाराको डेरामा ।
 कुसमले कुन्छा नजाने जस्तो गर्नुभयो  ? बरु एम.ए.को नतिजा नहुञ्जेलसम्म मात्र भए पनि कुन्छा कलेजमा गएर हाम्रो उत्साहलाई सहयोग गरिदिनुपर्‍यो, श्यामभाइ, भन्दा अन्यमनस्क भएँ म । यसैबीच मेरा आदरणीय सखा रोचकजीसँग भेट भयो- हैन, जानुपर्छ, प्रोफेसर सानो पद होइन । एकपटक भएपछि सधैँ- 'प्रोफेसर यदुनाथ खनाल भन्छन् नि ? भनेर लोभ्याउन थाल्नुभयो । सुस्मिता भाउजूले पनि जानेमै थप-थाप पार्नुभयो । यता रामचन्द्रदाइले छोड्दै-छोड्नुभएको छैन । सधैँ माया गरेर उचित सल्लाह दिने आदरणीय दाइलाई रुखो-निष्ठुरी भएर हार्न सकिनँ मैले । 
 कुन्छा पुगेर कलेजमा पढाउन थालँे । आफूले पढेको किताब त पाठ्यक्रममा एउटै पो छैन फेरि पहिले कहीँ पढाएको पनि छैन । दिनरात त्यसैमा केन्दि्रत हुन थालेँ म । पढाएको बेला अगाडि देख्दा विद्यार्थी सन्तुष्ट भएझैँ लाग्थ्यो । तसर्थ, अन्तिम वर्षका विद्यार्थीहरूको पाठ्यक्रम पूरा गरिदिने र प्रथम वर्षको पाठ्यक्रमलाई अगाडि बढाउनेमा संलग्न हुन थालेँ । तीन-चार महिनापछि रोचकजीको चिठ्ठी आयो काठमाडौँबाट श्यामजी चिठ्ठी लेख्नुभएनँ- तपाईंको प्राध्यापन सेवा कस्तो रहृयो । हामी सुन्न एकदमै उत्सुक छौँ ।
 बजारबाट बेलुका डेरा-कुशिमराङको उकालो जाँदा- पिडीयो अच्युत घिमिरेसँगै भयौँ । ''साथीहरूका होलान् चिठ्ठी त धेरै आउन थालेका छन्'' भन्नुभयो । पञ्च-प्रशासकहरू चियो गरेर सबै कुरा विचार गर्ने गर्छन् । एउटा सँगै बसेका भानिजको हो, अर्को रोचकजीको, रोचकजीले प्राध्यापन सेवा कस्तो छ ? तुरुन्त जवाफ लेख्नु भन्नुभएको छ, 
खै ? के लेख्ने ? भनेँ मैले ।
''एकदमै राम्रो छ, भनेर लेख्ने'' भन्नुभयो उहाँले । तपाईंको पढाइ-लेखाइबाट विद्यार्थी एकदमै सन्तुष्ट छन्, यति राम्रो शिक्षक अहिलेसम्म पाउन सकेका थिएनौ भन्छन् सबै । प्रशासनबाट पनि हामीहरूले बुझिराखेका छौँ । विद्यार्थी सञ्चालक सबै तपाईंको सेवाबाट धेरै खुसी छन् भन्नुभयो । 
 यसरी फुक्र्याएर भुल्यायो कुन्छाले मलाई । छ महिनाको निम्ति गएको मान्छे साँढे छ वर्ष जति बसेँ कुन्छामा ।
 पहिलो परिचय- विष्णुराजको साथी, उसैको गाउँमा आएको रे  त्यहाँ प्रवेश गरेँ मैले । अनि लमजुङ, कुन्छाका नशा-नशाभित्र रुमलिँदै पोखिन थालेछु म । आˆनै पसिनाको शीतलताले आफैँलाई चिसो मीठो सजीवता प्रदान गरेझैँ, समर्पित सेवाको उत्सर्गमा आफूलाई डोर्‍याउँदै लान थालेँ मैले । पुग्ने वित्तिकै चारैतिर हेर्दा- कस्तो नमिलेको, नराम्रो ठाउँमा पो आइपुगेँछु त भन्ने भित्री मनले आफैँसँग प्रश्न राखे तापनि टाढा परदेशबाट आइपुगेको आˆनै छोराझैँ वृद्ध आमातुल्य-कुन्छाका मायालु हातले सुमसुम्याउँदै लगेपछि प्रतिदिन हेर्दाहेर्दै- आˆनी जननीझैँ कुन्छालाई सुन्दर-रमणीय र मायालु देख्न थालँे मैले । आˆनो कर्म-क्षेत्रमा बिछ्याइएका मेरा समर्पित र लगनशील हातलाई कुन्छाले स्नेहपूर्वक चुम्दै लगेपछि-कृष्ण प्र. न्यौपानेदाइ, आन्नदराजदाइ, श्रीनिधि बा, तोया नाथजी, तीर्थमानजी, बैकुण्ठजी आदिको कलेज सञ्चालन गरेर यहीँ बसिदिने विनम्र आग्रहलाई लत्याएर हिँड्नै सकिनँ । अनेकौँ आपत्ति, असुविधा र अभावका बीचमा पनि साढे छ वर्ष बितको पत्तै भएनँ मलाई । अझ हिँड्ने बेलामा त मेरो मन लुट्न सिपालु मेरो प्यारो रमणीय कुन्छाले अजस्र आँसुका धारा बगाएरै छोड्यो । त्यही सेवा-कर्मको प्रथम बीज रोपेको छु, मैले । त्यहीँ, नाउँदी-पाउँदी सिञ्चित सुगन्धमय समीरसँगै मेरा सुस्केरा र सन्तोषी निश्वासका छालहरू तैरिरहेका छन् अझै । त्यहीँ मेरो अत्यन्तै दुःख-कष्ट र सन्तोषको गहिरा पाइलाहरू गाडिएका छन् कहिल्यै मेटिनँ नसक्ने गरेर । त्यहीँको सुगन्धी माटोभित्र बसेको छ- हाम्री 'निर्मला' जीवन पर्यन्त बिर्सिनै नसक्ने गरी ।

रामपुर टार, ओखलढुङ्गा
मधुपर्क २०६६ माघबाट 

No comments: