एक तिमी
‘हुन्न’ भन्नु तिमीले केवल
आफूलाई नचिन्नु हो
आफूलाई नगन्नु हो !
स्रष्टाका ए प्रतीक अदर्पण
परिस्थितिको स्रष्टालाई,
धुस्नाहरुमा चट्ट सुताई,
कैद गरीकन थुन्नु हो !
किन हुन्न ? किन हुन्न ?
यस माटोमा अङगुर स्याउ !
सह्यार बाहुला कोदाली ली,
लौ आऊ !
यो हो फलको द्धार हेर !
आफूलाई चिन्ने ठाउँ !
यहाँ छ एकै अभाव सधैँभर—
एक तिमी !
एउटा रुद्र,
एउटा विष्णु,
एउटा ब्रह्मा,
त्रिमुखी ईश्वर, एउटै मात्र
जम्मा !
केवल तिमी !
देशको यो विस्तृत माटो
यसमा कुन हो रसको कमी ?
चाहिन्छ केवल एउटै मान्छे
केवल तिमी ?
यस्तो चिसो बिहान,
प्राणलाई पुष्प बनाई हातमा ली जाऊ, जाऊ
आफ्नै सुनौला मन्दिरको
पारसनाथ !
विश्वास गरेपछि, को छ अनाथ ?
के छैनन भन, साथ ?
ईश्वर एउटै मात्र यहाँ छ— सम्झ गमी ! केवल तिमी !
भैगो मरेछौ बाटैमा !
तिमी मरेपछि देख्नेछौ ए आफूलाई
हिडिरहेको, हिडिरहेको,
चालू लक्ष्यको साथैमा !
शास्त्रहरु सब सच्चा हुनेछन ! विश्वास गर !
आत्मा तिम्रो मर्दैन कहीँ
हामी नास्तिक बन्नेछैनौँ
पाई फेरि तिमीलाई यहीं !
शून्य डराउँछ एकै चीजले— जान्छ गुमी जिउँदा भएमा—केवल तिमी !
‘हुन्न’ हो शून्य !
‘हुन्छ’ हो धन्य !
पहिलो चिहान हो,
दोस्रो चमत्कार !
देशको केवल एक कमी ! पटुका कसेका दहरा
अमर उज्याला काल गिज्याई हाँसेका
एक तिमी !
मुर्दा जगतहरुका हे प्राण ! यहाँ छ तिम्रै
मात्र कमी !
उद्दीपन छौ प्राणहरुका
केवल तिमी !
महाकवि लक्ष्मीप्रसाद देवकोटा
No comments:
Post a Comment