Thursday, December 20, 2012

गजल (केशवराज आमोदी)


किन हो मुटुको घाऊ दुख्छ घाम डुबेपछि
उज्यालो मनको आशा लुक्छ घाम डुबेपछि ।

चाहिँदैन मलाई क्यै भोग ऐश्वर्यका कुरा
पिरती रसिलो पाए पुग्छ घाम डुबेपछि ।

दिलमा प्रीतिको बाढी जति उर्ली बगे पनि
मृदु मिलनको गङ्गा सुक्छ घाम डुबेपछि ।

शृङ्गार काव्यको गर्छ जो विरोध सधैँ उही
प्रणयी-रसमा प्रायः डुब्छ घाम डुबेपछि ।

भट्टीको मोहमा ली बाटाभरी बरालिँदै
मनको भँवरो पापी घुम्छ घाम डुबेपछि ।

नाच-गान गरी रम्ने खोज्दै प्रण्य मन्दिर
आमोदी मनको मौजी पुग्छ घाम डुबेपछि ।

केशवराज आमोदी
माधवपुर चितवन
छन्दः अनुष्टुप

No comments: