Sunday, April 15, 2018

सामूहिक लगानी कोषको विकल्प : एक्सचेन्ज ट्रेडेड फन्ड

सामूहिक लगानी कोष र नेपालको अवस्था
व्यक्तिगत वा संस्थागत लगानीकर्ताबाट लगानी योग्य रकम संकलन गरेर दक्ष व्यक्तिहरुबाट उक्त रकमलाई पूँजीबजार र मुद्राबजारका विभिन्न उपकरणहरुमा लगानी विविधिकरणको सिद्धान्त अनुरुप लगानी गर्ने गरी तयार पारिएको लगानी कोष एकांक कोष आदिलाई सामूहिक लगानी कोष भनिन्छ । नेपालको धितोपत्र सम्बन्धी ऐन २०६३ मा सामूहिक लगानी कोष संचालनका लागि योजना व्यवस्थापक आवश्यक पर्ने र उक्त योजना व्यवस्थापकले सामूहिक लगानी कोष संचालनका लागि धितोपत्र बोर्डसंग स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । योजना व्यवस्थापकको योग्यता, कोष सुपरीवेक्षकको योग्यताको सम्बन्धमा सामूहिक लगानी कोष नियमावली २०६७ मा व्यवस्था गरेको पाइन्छ । उक्त व्यवस्थाले सामान्य लगानीकर्ताको लगानी योग्य रकम पूँजीबजारको क्षेत्रको जानकार विज्ञ व्यक्तिको हातमा मात्रै पुराउने कुराको प्रत्याभुत गर्दछ । नियमावलीमा भएको लगानी सम्बन्धी व्यवस्था र लगानीको सिमा सम्बन्धी व्यवस्थाका कारण सामूहिक लगानी कोषको रकम लगानी गर्दा लगानी विविधिकरण गर्ने पर्ने कुराको पनि प्रत्याभुत गर्दछ ।
विकसित पूँजीबजारमा खुलामुखी (ओपन इन्डेड), बन्दमुखी (क्लोज इन्डेड) लगानी कोष, एकांक कोष लगायतका सबै खाले सामूहिक लगानी कोष संचालनमा रहेको देखिएता पनि नेपालमा बन्दमुखी योजनाहरु मात्रै प्रचलनमा रहेको देखिन्छ । नामको हिसाबले व्यालेन्स फण्ड, हाइब्रिड फण्ड जस्ता नाममा सामूहिक लगानी कोषका योजनाहरु संचालन भएता पनि ति सबैको लगानी प्रकृति हेर्दा तात्विक भिन्नता नरहेको देखिन्छ । सरकारी तथा संस्थागत ऋणपत्रहरुको विकास हुन नसक्दा बण्ड फण्डहरु संचालन हुन सकेका छैनन् ।
एक्सचेन्ज ट्रेडेड फण्डको अवधारणा
विश्वमा सन् १९९०को दशकबाट प्रचलनमा आएको एक्सचेन्ज ट्रेडेड फण्ड (इटिएफ) को प्रयोग पछिल्लो समय धितोपत्र बजारमा व्यापक रुपमा हुदै गएको पाइन्छ । एक्सचेन्ज ट्रेडेड फण्ड अर्थात इटिएफ धितोपत्रको दोस्रो बजारमा कारोबार हुने शेयर जस्तै प्रकृतिको सामान्य लगानीको उपकरण हो, जसको केही बिशेषताहरु सामूहिक लगानी कोषसंग मिल्दोजुल्दो देखिन्छ । सामान्यतया कुनै इन्डेक्समा आधारित रहेर बिभिन्न लगानी योग्य धितोपत्रहरुको समिश्रणबाट तयार पारिने लगानीको उपकरण इटिएफ हो । इटिएफ आफैले कुनै एक कम्पनीको धितोपत्र मात्रको प्रतिनिधित्व गर्दैन, यसले आप्mनो पोर्टफोलियोमा समाविष्ट सम्पूर्ण धितोपत्रको औषत मुल्य जनाउदछ । जुन सामूहिक लगानी कोषमा भनिने खुद सम्पत्ती मुल्य (NAV) जस्तै हो । इन्डेक्समा आधारित रहेर तयार गरिएको फण्ड हुनाले यसलाई इण्डेक्स फण्ड पनि भन्ने गरिन्छ । इन्डेक्स फण्ड, प्यासिभ फण्ड (निष्कृय फण्ड) प्रकृतिको हुने गर्दछ, जसको कारण यसको व्यवस्थापन खर्च उल्लेखनिय रुपमा कम हुन जान्छ । इटिएफलाई धितोपत्रको दास्रो बजारमा सुचिकृत गरी निरन्तर कारोबारका लागि उपलब्ध गराइन्छ । यसर्थ इटिएफलाई सामूहिक लगानी कोषको परिष्कृत अवधारणको रुपमा व्यख्या गर्ने गरेको पनि पाइन्छ ।

इटिएफका फाइदाहरु
एक्सचेन्ज ट्रेडेड फण्डको प्रमुख कार्य भनेको लगानी विविधिकरण गर्नु हो । इटिएफ आधारित हुने इण्डेक्समा एक भन्दा बढी लगानी योग्य धितोपत्रहरु उपलब्ध हुन्छन । उपलब्ध हुने ति सबै धितोपत्रमा इटिएफले लगानी गर्ने हुदा उक्त इटिएफमा लगानी गर्ने लगानीकर्ताको लगानी विविधिकरण हुन जान्छ, जसले गर्दा लगानीमा निहित जोखिमलाई कम गर्न मद्दत गर्दछ । उदाहरणका लागि नेप्सेको बाणिज्य बैंक सुचकमा आधारित रहेर “कमर्शियल बैंक इटिएफ” संचालन गर्न सकिन्छ, जसले नेप्सेमा सुचिकृत बाणिज्य बैंकको इक्विटी शेयरमा मात्रै लगानी गर्दछ । यसमा कुनै एक लगानीकर्ताले उक्त कमर्शियल बैंक इटिएफको एक कित्ता धितोपत्र खरिद गर्दा नेप्सेमा सुचिकृत सम्पूर्ण बाणिज्य बैंकको इक्विटी शेयरमा लगानी गरे सरहको लगानी विविधिकरण गर्न सम्भव हुन्छ । जसले गर्दा थारै रकम मात्रै लगानी गर्ने साना लगानीकर्ताले पनि लगानी विविधिकरणको सिद्धान्त पुर्ण रुपमा पालना गर्न सक्दछन् । इटिएफका लगानीकर्तालाई आँफूले कुन सेक्टर (क्षेत्र) मा लगानी गरिरहेछु भन्ने पूर्ण जानकारी हुन्छ जुन सामूहिक लगानी कोषका लगानीकर्तालाई नहुन पनि सक्दछ ।
यसको दोस्रो फाइदा भनेको इटिएफको दोस्रो बजारमा हुने निरन्तर कारोबार हो, जसले गर्दा यसको निरन्तर मुल्य लगानीकर्ताको लागि उपलब्ध हुन सक्दछ । खुल्लामुखी सामूहिक लगानी कोष धितोपत्रको दास्रो बजार बन्द भएपश्चात समायोजित मुल्यमा मात्रै कारोबारका लागि उपलब्ध हुन्छ, जसले गर्दा कारोबार योग्य समयमा धितोपत्रको मुल्यमा हुने  घटबढमा लगानीकर्ताले उक्त घटबढको फाइदा लिन पाँउदैनन् । इटिएफले अर्थतन्त्रमा भएको कुनै पनि परिवर्तनको प्रतिक्रिया मुल्य मार्फत तत्काल दिन सक्दछ भने खुल्लामुखी लगानी कोषले त्यस्तो प्रतिक्रिया दोस्रो बजारमा कारोबार बन्द भैकेपछी ढिलो गरी मात्रै दिन सक्दछ । यद्यापी बन्दमुखी लगानी कोषका इकाइहरु दास्रो बजारमा सुचिकृत भएका हुन्छन र इटिएफ जसरी नै निरन्तर कारोबार भैरहेका हुन्छन ।
बन्दमुखी लगानी कोषको प्रति इकाइ खुद सम्पत्ती मुल्यसंग दोस्रो बजारको कारोबार मुल्य बिचको अन्तर इटिएफको भन्दा अधिक हुने गर्दछ । जसको अर्थ इटिएफको कारोबार मुल्य बन्दमुखी लगानी कोषको कारोबार मुल्य भन्दा वास्तविक हुन्छ भन्ने हो । यसको एउटा कारण लगानी कोषहरुले आप्mनो खुद सम्पत्ती मुल्यको सुचनाको प्रवाह सामान्यतया साप्ताहिक वा मासिक वा त्रैमासिक रुपमा मात्रै गर्दछन भने एटिएफले आफ्नो खुद सम्पत्ती मुल्यको सुचनाको प्रवाह दिनहूँ रुपमा गर्ने गर्दछन । यस्तै इटिएफले आफ्नो पोर्टफोलियोमा रहेको धितोपत्रको विवरणको जानकारी हरेक दिन यसका लगानीकर्ता दिने गर्दछ । सामान्यतया इटिएफको पोर्टफोलियोमा भएका धितोपत्रहरु विरलै मात्र परिवर्तन हुन्छन । इटिएफ आधारित इन्डेक्समा कुनै धितोपत्र परिवर्तन भएमा मात्रै इटिएफको पोर्टफोलियो धितोपत्र परिवर्तन हुने हुदाँ यो सामूहिक लगानी कोष भन्दा ज्यादा पारदर्शी हुन्छ ।  जुन इटिएफको अर्को फाइदाको रुपमा लिन सकिन्छ ।
लगानी कोष तथा इटिएफको सामान्यतया खर्चको रुपमा व्यवस्थापन खर्च, प्रशासनिक खर्च, सुरक्षण खर्च, वितरण खर्च, प्रचार प्रसारात्मक खर्च आदि रहने गर्दछन् । सामूहिक लगानी कोष सामान्यतया एक्टिभ फण्ड हुने र इटिएफ प्यासिभ फण्ड हुने भएकोले इटिएफको संचालन लागत कम पर्न जान्छ । यो इण्डेक्समा आधारित रहने हुनाले धितोपत्र छनोटको लागि विज्ञ संचालकहरुको आवश्यकता पर्दैन, धितोपत्र छनौटको लागि अध्ययन अनुसन्धानमा रकम खर्चिनु नपर्ने हुनाले  संचालन लागत कम पर्न जान्छ, जसले गर्दा इटिएफको खुद सम्पत्ती मुल्य बढी हुन आउछ जसको प्रत्यक्ष फाइदा लगानीकर्तालाई हुन्छ । यो इटिएफको अर्को महत्वपूर्ण फाइदाको हो । यद्यापी पछिल्लो समय विश्वमा सकृय रुपमा व्यवस्थापन गरिएको (एक्टिभली म्यानेज्ड) इटिएफहरु पनि संचालनमा आएका छन्, जसको संचालन लागत निस्कृय इटिएफहरु भन्दा ज्यादा नै हुने गर्दछ ।
खुल्लामुखी सामूहिक लगानी कोषमा नो–लोड फण्ड (कुनै प्रकारको शुल्क नलाग्ने कोष) भएको अवश्थामा बाहेक, फ्रन्ट इण्ड लोड (खरिद गर्दा लाग्ने शुल्क) वा व्याक इण्ड लोड (बिक्री गर्दा लाग्ने शुल्क) वा एक्जिट लोड (निश्चित समय भन्दा अगाडि नै इकाइ बिक्री गरेमा लाग्ने शुल्क) का अलावा धितोपत्र दलाली सेवा शुल्क समेत लाग्ने गर्दछ । बन्दमुखी लगानी कोषमा र इटिएफमा भने धितोपत्र दलाली सेवा शुल्क मात्र लाग्दछ । यसर्थ नो–लोड फण्ड भएको अवश्थामा बाहेक इटिएफको भन्दा लगानीकोषको एक्पेन्स रेसियो (खर्चको अनुपात) ज्यादा नै आउने गर्दछ ।
लगानी कोषका इकाइहरु मार्जिनमा कारोबार गर्न र सर्ट सेल (सर्ट पोजिशन) गर्नको लागि बन्देज गरिएको हुन्छ तर सामान्य इक्विटी शेयर जसरी इटिएफका इकाइहरु मार्जिनमा कारोबार गर्न वा सर्ट पोजिशन लिनको लागि बन्देज गरिएको हुदैन त्यस्तै इटिएफका इकाइहरुमा क्याश मार्केट र फ्युचर्स बिच आर्बिट्रेजको संम्भावना रहन्छ तर सामूहिक लगानी कोषका इकाइहरुमा त्यस्तो संम्भावना रहदैन, यसकारण इटिएफका लगानीकर्ताहरुलाई लगानीको रणनीति तयार पार्दा लगानी कोषका लगानीकर्ताहरुलाई भन्दा ज्यादा विकल्प उपलब्ध हुन्छ । अर्को तर्फ कोष संचालकको पक्षबाट हेर्ने हो भने पनि इटिएफको पोर्टफोलियोमा शेयर, बन्ड, डिबेन्चर आदिको अलावा अप्सन कन्ट्र्याक पनि समावेश गर्न सकिन्छ जुन सुविधा सामूहिक लगानी कोषमा उपलब्ध हुदैन । यसका अलावा इटिएफलाई बजारको गतिका बिरुद्द हेजिङ्ग गर्न पनि प्रयोग गर्न पनि सकिन्छ ।
नेपालको सन्दर्भमा इटिएफ
धितोपत्र बजार मै इटिएफलाई नौलो उपकरणको रुपमा हेरिन्छ । यसको शुरुवात भै प्रयोगमा आएको नै करिव २५ बर्ष मात्रै भएको छ । विश्वभरी नै सामूहिक लगानी कोषको तुलनामा यसको प्रयोग कम नै भएको पाइन्छ । इन्भेष्टमेन्ट कम्पनी इन्टिट्युट २०१६ को फ्याक्ट बुक अनुसार अमेरिकामा १५.७ ट्रिलियन डलर सामूहिक लगानी कोषमा लगानी गरिएको छ भने एक्सचेन्ज ट्रेडेड फण्डमा करिव २ ट्रिलियन डलर मात्रै लगानी गरिएको छ । भारत २५०० भन्दा बढी लगानीकोषहरु संचालनमा रहेका छन् भने एक सय भन्दा कम मात्रै इटिएफहरु संचालनमा छन् । नेपालको सन्दर्भमा इटिएफ नितान्त नौलो बिषय हो । धितोपत्र सम्बन्धी ऐनमा गरिएको धितोपत्रको परिभाषामा एक्सचेन्ज ट्रेडेड फण्डका इकाइ समाबिष्ट हुन सक्ने गरी व्याख्या गरिएको भएता पनि इटिएफको बारेमा ऐन र नियमावलीहरु मौन छन् । भारतमा इटिएफको शुरुवात सामूहिक लगानी कोष नियमावलीमा संसोधन गरेर सन् २००१बाट भएको थियो, पहिलो इटिएफ निफ्टी फिप्टी इण्डेक्समा आधारित थियो । नेपालमा रहेको सामूहिक लगानी कोष नियमाावलीमा इटिएफ संचालन सम्बन्धी प्रावधान रहेको देखिदैन, यस्तो अवस्थामा पूँजी बजारको नियमानकारी निकायले इटिएफ संचालनको लागि आवश्यक कानून तर्जुमा गर्नुपर्ने देखिन्छ । यसका लागि भैरहेको सामूहिक लगानी कोष नियमावलीमा संसोधन वा नयाँ नियमावली तयार पार्नुपर्ने हुन्छ । यसका अलावा स्टक नेपालको एक्सचेन्जमा एस एण्ड पी ५००, डाउ ३०, फुटसे १००, क्याक ४०, निक्की २२५, निफ्टी ५०, कराँची १०० जस्ता विश्वसनिय निकायबाट नियमन गरिने स्ट्याडर्ड सब इण्डेक्सको अभाव देखिन्छ । यस्तो विश्वसनिय इण्डेक्सको अभावमा इटिएफको सहज शुरुवात गर्न सकिदैन । यसका साथै भारतमा समेत इटिएफको महत्वको बारेमा पर्याप्त मात्रामा चेतना अभिबृद्धी गर्न नसकिएको चर्चा बेला बखतमा हुने गरेको अवश्थामा नेपालमा समेत यसको महत्व र उपयोगिता बारे पूँजीबजार सचेतना कार्यक्रम/वित्तीय साक्षरता अभियान आदि संचालन गर्नु आवश्यक देखिन्छ ।
निस्कर्ष
पूँजीबजारको दयारा फराकिलो पार्न प्रयोगमा आएको इटिएफमा सामूहिक लगानी कोषमा भन्दा विशेष गुणहरु हुन्छन् । पूँजीबजार बिकास र बिस्तार हुदै जाने क्रममा इटिएफको आवश्यकता र महत्वलाई बेवास्ता गरिरहन सकिदैन । इटिएफका महत्वहरुलाई दृष्टीगत गरी लगानीको निर्णय गर्न सक्ने हो भने लगानीकर्ताले थारै पैसामा नै लगानी विविधिकरण गरी संम्भावित जोखिमलाई न्यूनिकरण गर्न सक्दछन् । नेपालको सन्दर्भमा यो यौटा नौलो उपकरण हो र यसको स्थापना र संचालनका कानूनी आधारहरुको अभाव छ । सामूहिक लगानी कोष सफलतापूर्वक संचालन गरिसकेको बजारको लागि इटिएफ स्थापना र संचालन गर्ने कानूनी आधारहरु तयार पार्न जटिल नरहेको कुरा प्रष्ट हुन्छ । सिमित लगानीका उपकरणहरु मात्रै उपलब्ध भएको बजार र इक्विटी शेयर प्रति ज्यादा मोह राख्ने पूँजी बजारमा इटिएफ लगानीकर्ताको लागि अर्को महत्वपूर्ण लगानीको उपकरण हुन सक्दछ । इटिएफ संचालनका आधारहरु तयार पारी पूँजीबजारको बिकास र बिस्तारको गतीलाई अझ क्रियाशिल बनाउन सकिन्छ ।

अजय ढुंगाना
(लेखक नेपाल धितोपत्र बोर्डका अधिकृत हुन् र प्रस्तुत लेख लेखकको निजी विचार हुन्)


No comments: