आहारा (कथा)
‘ठूलाठूला देवीदेवता, ठूलाठूला भवन, राम्रो लवाइखुवाइ, राम्रो उन्नति, प्रगति गर्न सकिने र आफूले चाहेजस्तो काम पाउने भनेकै राजधानीमा हो ।’ गाउँमा सबैजसोबाट सधैँजसो यस्तै कुरा सुन्दै आएकाले बिर्खेले पनि आखिरमा काठमाडौँ जाने निधो गर्यो । उसलाई परदेसिनुपर्ने बाध्यता पनि थियो र उसको परदेश भनेकै काठमाडौँ थियो ।
सुनेजस्तै गरी सबै कुरा भोग्न कहाँ पाइन्छ र ? काठमाडौँमा बिर्खेका कोही आफन्त थिएनन् । राजधानीमा उत्रेकै साँझ ऊ बास खोज्दै कुनै होटलमा पुग्यो । उसको गोजीले भने होटलको एक रात पनि नटर्ने देखियो । त्यसैले उसले फुटपाथको शरण लियो । दोस्रो दिन हातमुख जोड्नका लागि अनेक होटल चहार्यो । अन्ततः उसले दुईटा रोटी किन्यो र तरकारीको पैसा बचाउन प्याजका दुई चार टुक्रा माग्यो । तिनै दुईटा रोटीले त्यो दिन कट्यो उसको । राती फुटपाथमा उसको गोजीमा भएका बाँकी बीस तीस रुपैयाँ पनि लुटिए । तेस्रो दिन ऊ हातमुख जोड्नका निम्ति होटलहरूमा भौंतारियो । काम पाउनु त के उसले बासी वा सडेगलेको खाना पनि पाएन । साँझ सडकको पेटीमा झोक्राएको थियो । एउटा फुटपाथे आएर बिर्खेसँग गफ गर्न थाल्यो । बिर्खेको विवशता बुझेपछि उसले एउटा प्रतिज्ञा गराएर होटलमा लगेर खाना खुवायो । त्यही सङ्कल्प अनुसार फुटपाथेले भोलिपल्टै बिर्खेलाई एउटा अस्पतालमा लग्यो । त्यहाँ उसको एक पाउन्ड रगत बेचियो ।
बिर्खे दिनभरि काम खोज्न व्यस्त हुन थाल्यो । ऊ जुनजुन पसल वा होटलमा पुग्थ्यो, उसको लवाइ देखेर सबै साहूहरू नाक खुम्च्याउँथे । यस्तो व्यवहारले उसमा अर्को चिन्ता थपियो । काठमाडौँमा जति दिन बित्दै जान्छ, त्यति आप्mनो अवस्था बिग्रिँदै जाने हो कि ? सुकिलामुकिलाहरूले गेटमा उभिएर हात जोड्नसम्म नदिने हुन् कि ?