Thursday, April 26, 2012

छोराको प्रश्न (कविता); अजय ढुंगाना


छोराको प्रश्न

(जातीय संघियता बिरुद्धको कविता)

राति सपनीमा,
मेरो नजन्मिएको छोरा आयो,
अनि भन्यो,
एउटा प्रश्न सोधौ बा,
म मुस्कुराए,
अलिकति डराए,
तैपनि डर लुकाए,
अनि भने,
हुन्छ छोरा |

उसको कोमल अनुहार,
गम्भीर थियो,
केही मागिरहे जस्तो,
केही नभेटे जस्तो,
ओहो! कस्तो अपत्यारिलो |
उसले सोध्यो,
बा मेरो राज्य कुन हो?
म झस्किए, उसको प्रश्नले |
किन छोरा?
मैले प्रतिप्रश्न गरे,
मैले प्रश्न हैन,
जवाफ मागेको बा,
बालहठका आगाडि,
म नतमस्तक भए,
तैपनि जवाफ बिहिन रहे |

उ भन्दै गयो,
मेरा सबै साथीको,
आफ्ना आफ्नै राज्य छ,
कोही तराईका अरे,
कोहीको लिम्बुवान रे,
अनि कोही मगरातका रे,
अरु को पनि खै के के हुन्,
आफ्नै राज्य छन् रे,
सबै आफ्नै तिर जाने,
तयारीमा ब्यस्त छन्,
म कहाँ आऊ बा?

म फेरी झस्किए,
तैपनि ना-जवाफ रहे,
अक्षरहरु जोडिनै सकेनन,
शब्द फुट्नै सकेन,
बोलि निस्कनै सकेन,
उसका अगाडि |

बा बोल्नुस न,
उ झक्झकाइ रह्यो,
निक्कै बेर पछि,
बल्ल बोले,
छोरा म तँलाई,
सिंगो देश दिउला,
विचारमा राष्ट्रियता दिउला,
१६ बर्ष पछि,
नागरिकता दिउला,
दौरा सुरवालमा रमाउदा,
शिरमा ढाका टोपी दिउला,
छातीमा सगरमाथा दिउला,
रगतमा कर्णाली र कोशी दिउला |
उसले सोध्यो, अनि प्रदेश नि?
म आफ्नै देशमा,
प्रदेश बिहिन छु छोरा,
म तँलाई प्रदेश दिन सक्दिन,
अंह म तँलाई प्रदेश दिन सक्दिन |

किन यो असमानता बा?
उसले रुदै सोध्यो,
यो असमान ठाउँमा म आऊदिन बा,
उसले रुदै भन्यो,
हो, उ रुदै फर्कियो,
पर पुग्दा पनि उसको रुवाई सुनिदै थियो,
बिस्तारै उसको रुवाई,
आकाशमा बिलायो,
अनि म निदाए |


अजय ढुंगाना 
२६ अप्रिल २०१२
लण्डन

तस्विर श्रोत: गुगल इमेज सर्च

No comments: