Saturday, January 8, 2011

समुन्द्रका छालहरु (कविता); अजय ढुंगाना

समुन्द्रका छालहरु

म आज उड़दैछु ,
यो धर्ती छोडेर,
आकाश छुनका लागि,
बतास, बेग र बादल मात्र होइन,
तारा जुन र सुर्यसंग,
हात मिलाउनका लागि,
म संगै,
मेरा इछ्या, चाहाना र कल्पनाहरु,
उड्दैछन् आकाशमा,
तैरिदैछन् बतासमा,
मनको स्पन्दनमा,
स्वप्न तरंगहरु तैरिए झैँ,
मेरो कल्पनाको महल,
झुल्दैछ आकाशमा........
....................................

तल निला समुन्द्रहरु छन्
मेरो इश्र्यामा जलिरहेछन,
समुन्द्रका छालहरु,
लाग्छ मलाई छुन तछाड मछाड गरिरहेछन,
समुन्द्रका छालहरू,
म संगै, संग-संगै,
उड्न चाहिरहेछन,
समुन्द्रका छालहरू,
म तिनीहरु भन्दा माथि,
हजारौ फिट माथि,
उडीरहेछु जिस्काउदै,
तिनै समुन्द्रका छालहरूलाई,
म संगै उडीरहेछन,
मेरा आकांक्षा र सपनाहरु,
मेरा आखामा सजिएका,
रंगिन कल्पनाहरु,
मेरो पाखा, पखेरा र गाउ भन्दा,
मेरो गाउको सानो झुपडी भन्दा,
सयौ मिल दुर,
कयौ माइल टाढा,
 हिथ्रोको मैदानमा,
म अवतरण गर्दा,
म संगै रहेका,
मेरा आखामा सजिएका,
रंगिन कल्पनाहरु,
आकाक्षा र सपनाहरु,
इछ्या चाहना र उत्साहहरुको,
अस्तु मात्रै बाकी रहन्छ मसंग,
म तिनै अस्तु हातमा लिएर,
जीवित मान्छेको नाटक गरिरहेछु........
.....................................................
म एउटा नौटंकीमा,
जीवित मान्छेको नाटक गर्नका लागि,
हिथ्रोको मैदानमा,उत्साह र उमङ्गको आकाशबाट,
तल ओर्लिदा,
बेफिर्की कराइरहेथे,
बाज गिद्द र स्यालहरु,
हो, त्यतिबेला,
मैले नसम्झीएको अतित,
मेरो आखा अगाडि आयो,
जब सम्झन लागे,
तब याद आयो,
मैले पर कतै छोडेर आइसकेछु,
मलाई छुन तछाड मछाड गर्ने,
अनि मेरो इश्र्यामा जल्ने,
तिनै समुन्द्रका छालहरुलाई.........
.................................................

अजय ढुंगाना
फूलपाती २०६७, 
लण्डन

No comments: