Tuesday, February 4, 2020

एक्सचेन्ज ट्रेडेड फण्ड (इटिएफ) एक चिनारी

क) अवधारणा

विकसित  धितोपत्र  बजारमा  एक्सचेन्ज  ट्रेडेड  फण्ड  (इटिएफ)  लाई  दोस्रो  बजारमा  कारोबार  हुने  गरी  नविन  लगानीको  उपकरणको  रुपमा  विकास  गरेको  पाइन्छ  ।  यसले  लगानी  योग्य  धितोपत्रहरुको  संग्रह  पोर्टफोलियो  (वा  बास्केट)  मा  भएको  सम्पूर्ण  धितोपत्रहरुको  सामूहिक  प्रतिनिधित्व गर्ने गर्दछ । इटिएफको केही बिशेषताहरु सामूहिक लगानी कोषसंग मिल्दोजुल्दो देखिन्छ तथापि सामूहिक लगानी कोष भन्दा इटिएफलाई अझ परिस्कृत अवधारणाको रुपमा लिने गरिन्छ । यो बन्दमुखी लगानी कोष झैं स्टक एक्सचेन्जमा सूचीकृत गरिएको हुन्छ भने खुल्लामुखी लगानी कोष झैं असिमित संख्यामा इकाइहरु जारी गर्न मिल्ने प्रकृतिको हुने गर्दछ ।
सामान्यतया इटिएफ कुनै सूचकांक(इन्डेक्स) मा आधारित रहेर बिभिन्न लगानी योग्य धितोपत्रहरुको समिश्रणबाट तयार पारिने लगानीको उपकरण हो । इटिएफ आफैले कुनै एक कम्पनीको धितोपत्र मात्रको प्रतिनिधित्व गर्दैन, यसले आफ्नो पोर्टफोलियोमा समाविष्ट सम्पूर्ण धितोपत्रको औसत मुल्य जनाउँदछ । जुन सामूहिक लगानी कोषमा भनिने खुद सम्पत्ति मूल्य (NAV) जस्तै हो । इन्डेक्समा आधारित रहेर तयार गरिएको फण्ड हुनाले यसलाई इण्डेक्स फण्ड पनि भन्ने गरिन्छ । यस्तो फण्ड प्यासिभ फण्ड (निष्कृय फण्ड) प्रकृतिको हुने गर्दछ जसको कारण यसको व्यवस्थापन खर्च उल्लेखनीय रुपमा कम हुन जान्छ । इटिएफलाई धितोपत्रको दोस्रो बजारमा सुचीकृत गरी निरन्तर कारोबारका लागि उपलब्ध गराइन्छ ।