Wednesday, January 26, 2011

यात्री (कविता); लक्ष्मी प्रसाद देवकोटा


यात्री


कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो ?
हाडहरूका सोन्दर खम्बा,
मांस पिण्डका दिवार ।
मस्तिस्कको यो सुनको छाना,
इन्द्रियहरुका द्वार !
नसा-नदिका तरल तरङ्ग,
मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदिश्वरको राज !
चेतनको यो ज्योति हिरण्य,
उसको शिरको ताज !

शरिरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजि हिंडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय उगाऊ,
बत्ती बाली तेज प्रचुर ?
साथी यात्री बीच सडकमा,
ईश्वर हिंडछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरीरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको साथ ।

सडक किनारा गाउँछ ईश्वर
चराहूरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा
दर्शन किन्तु कहीं दिंदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको,
छहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ 


लक्ष्मी प्रसाद देवकोटा

1 comment:

Laheraniranjan26 said...

I am Niranjan