Monday, February 7, 2011

अनुभूतिको महायात्रा, (निबन्ध); संगीत आयाम


अनुभूतिको महायात्रा

जीवनमा आगमन हुने अनगिन्ती रङहरूमा सधैँ मौसम एकैनासको नहुनु अस्वाभाविक छैन । परिवर्तन त ऋतु आगमनको सङ्केत मात्र होइन, ऋतु बिदाइको संयोग पनि हो । रिमझिम रिमझिम वर्षाद्मा पानीसँग संवाद गर्दाको पललाई कुनै सुन्दर स्वप्न देखेजस्तै रूपमा आकषिर्त हुन सकिन्छ भने हिउँदको कठ्याङ्ग्रिंदो जाडोमा सबैलाई रापिलो घामको चाह हुन्छ नै, म पनि कुनै अपवाद होइन ।

कविता अर्थात् काव्यमा विशिष्ट शक्ति छ भनेर समालोचकले भनेको कुरालाई नै अनुशरण गरेर अघि बढ्नु पर्दछ भन्ने हुँदैन, राम्रो कविता आफैँ बोल्छ र कविताले मस्तिष्करूपी तन्तुमा मात्र होइन हृदयरूपी सागरमा पनि सक्दो हस्तक्षेप गर्न छोड्दैन । हजारौँ वर्षमा दार्शनिकहरूले धेरै कुरा भनेर गए, सायद भन्न बाँकी केही पनि भएको देखिँदैन तर कहिल्यै समाप्त भएको हुँदैन सार्वजनिक नभएका कुराहरू । ओझेलमा परेका कुरामाथि पनि एकदिन उज्यालोको प्रतिबिम्ब अवश्य नै पर्नेछ, यस्तो विश्वस्तताको पनि आफ्नै प्रकारको भूमिका हुनुपर्छ । जीवनका विविध रङहरूलाई समयमै महसुस गर्न सकिएन भने जीवनको उदासीनता मात्र प्रकट हुन्छ । जीवन वैचारिक पुञ्जभन्दा बढी नयाँ नयाँ रङहरूलाई समायोजन गर्ने सन्दर्भमा अनुभूतिजन्य छ । जीवनको उदय नै सर्वोपरि सत्ता हो । सायद यसैबाट निकै अभिप्रेरित भएर होला म आजभोलि दार्शनिकताको खोजीभन्दा बढी भावनात्मक हुने कोसिसमा जुटिरहेछु ।

दार्शनिकहरूले विचारको मृत्युको घोषणा धेरै पहिला नै गरेका हुन् तर अचम्म लाग्छ, न उनीहरूले कहिल्यै मृत हुने विचारमाथि काम गर्न नै छोडे न विचारलाई अस्तित्वबाट पर राख्दै आफ्नो महत्वाकाङ्क्षालाई अघि बढाउन नै छोडे ।

दार्शनिकहरूको अवसर पाएसम्म भन्ने बानी नै हुन्छ, अर्थात् उनीहरूको खेती नै त्यही हो । उनीहरू के के भन्दछन्, त्यतातिर नजाउ" । महसुस गरेर आत्मसात् हुने कुरालाई पनि दर्शनको गरुङ्गो भारी बोकाउँदै वैचारिक श्रेष्ठता प्रमाणित गर्न खोज्नु र त्यसलाई उच्चदार्शनिकताको स्वरूपमा ग्रहण गरिनु त्यत्तिकै घातक पनि देखिन्छ । यस्तो प्रक्रियाले अर्को कुनै नयाँ दर्शनलाई नै उत्पादन गर्ने काम पनि गर्ने गर्छ ।
यसअर्थमा हेर्दा दार्शनिकहरू पनि राजनीतिक तानाशाहकै विस्तृत संस्करण हुन् भन्न हिच्किचाउनु पर्दैन । जहाँ बलजफ्ती आफ्ना कुराहरू निर्माण गरेर त्यसलाई लागू गराउन जोर जबर्जस्तीको बाटो लिइन्छ, त्यो प्रक्रिया मानवीयताको विरुद्धमा चालिएको कदम पनि हो, जसलाई ज्यादतीको अर्थपूर्ण नमुनाको रूपमा प्रस्तुत गर्न नसकिने होइन ।

वैचारिकता र दार्शनिकताको खोजी गर्दै मेरा धेरै वर्षहरू बितेको मेरो स्मरणमा अझै पनि सुरक्षित छ । भोक, प्यास त्यागेर विशिष्ट बन्ने लोभमा जीवनका अमूल्य समयरूपी घोडाहरूमा सवार म परिवार र समाजलाई बोझ बन्दै गरेको दृश्य भने कम पीडादायक पनि थिएन । हुन त, मान्छे स्वयं टिप्पणीको महापात्र पनि हो, टिप्पणी गर्ने र गराउने खेलमा मग्न । जे गर्दा पनि टिप्पणी हुनु समाजको प्रकृतिअनुसार अस्वाभाविक पनि छैन । टिप्पणीको एकनासको प्रहारबाट अर्को कुनै विकल्प खोज्नुपर्ने अवस्था आएपछि जीवन सोचेको जस्तो हुँदैन पनि ।

सोचेभन्दा केही फरक क्रियाकलाप घटित भएको देखियो भने त्यसलाई मान्छेले अनेक प्रकारका नाम दिएर परिभाषित गर्ने गर्छन्- कति पाच्य हुन्छन् त कति अपाच्य । कोही यसलाई पागलपनको प्रदर्शन भन्छन् त कोही अव्यावहारिकपनको पराकाष्ठा । जे जस्तो भने पनि मान्छे बाचुञ्जेल अनुभूतिजन्य क्रियाकलापमा सक्रिय हुन्छ नै । विचारमा प्राप्त आनन्दभन्दा अनुभूतिमा प्राप्त आनन्द शक्तिशाली मात्र हुँदैन अझ सुन्दरताले ओतप्रोत पनि हुन्छ ।

दार्शनिकताको खोजी गर्दा पनि टिप्पणीहरूको महाभारतले आक्रमण गर्न नछोडेको र अनुभूतिगतरूपमा यात्रारत रहँदा पनि टिप्पणीहरूको रामायणले प्रहार गरेपछि म सामाजिक प्रकारले कुनै गुलामको स्वरूपमा आफूलाई अनुवादित गर्नुपर्ने स्थिति आयो, जुन मलाई कतै मञ्जुर थिएन । जीवन त आफूले बाँच्ने हो, अरूले होइन । जीवनका तमाम पीडा र सुखहरू स्वयंले महसुस गर्न सकेन भने अरूद्वारा निर्देशित जीवन त्यति नै कहालीलाग्दो छ जति सामुदि्रक आँधीमा परी गन्तव्य छुट्दै गएको कुनै जहाजको अवस्था ।

वैचारिक यात्रा गर्दागर्दै छियाछिया भएको मेरो मस्तिष्कलाई आराम दिनु अतिआवश्यक थियो, नत्र परिवारमा कुनै प्रलयको आगमन स्वाभाविक हुन्थ्यो । ममा अनुभूतिजन्य चरित्र हाबी हुँदै गएपछि, त्यसले स्वयं नै आफ्नो गन्तव्य पनि पहिल्याउँदै गयो । जीवनलाई मुलायमरूपमा निर्माण गर्ने हो भने त्यसलाई स्वप्नवत् तरिकाले छोड्नुपर्छ भन्ने बलशाली विचारमा आरोहित भएर म अक्सर यत्रतत्र छरिने गर्दछु । सायद यसैअन्तर्गत आफूलाई कहिले कहाँ, कहिले कहाँ डोर्‍याएर परिचालित गर्ने अभ्यासमा अभ्यस्त हुँदै गएको छु आजभोलि । घटनाहरूको कमी भने छैन यस संसारमा, प्रायः दुर्घटनाहरूले तिनलाई निम्त्याइरहकै हुन्छन् ।

अनुभूतिको महायात्रा तय गर्दै यतिखेर म कुनै आकर्षक बगैँचाभित्र प्रवेश गर्न पुगेको छु । म अहिले विचार र गरुङ्गा चिन्तनहरूभन्दा पर मात्र छैन अझ शान्ति र एकान्तताको आलिङ्गनभित्र आबद्ध पनि छु । अनेक प्रकारका रङ्गीन फूलहरू फुलेका छन् मेरासामु, वास्नामय सुगन्धमा भर्खरै कामबाट थकित हुँदै फर्केको अर्थात् आफ्नो उत्तरदायित्व निभाएर एकछिनको लागि भए पनि अनगिन्ती स्वादहरू खोज्न अग्रसर भएको म- आफ्नो दिनभरिको थकाइलाई मेट्ने कोसिसमा जुटेको छु । धेरैको सोचाइमा यो पागलपन हो त, अझ कतिपयको विचारमा अव्यावहारिकपन ।

अनुभूतिको महायात्रा तय गर्नेले कहिल्यै सोच्दैन कि दुनियाँ उसलाई कसरी हेर्छ ! अनुभूतिको लागि नै जीवनरूपी लडाइँ लड्नेलाई कसले के भन्छ, त्यसको कुनै सरोकार हुँदैन पनि । अनुभूतिजन्य क्रियाकलाप अवैध भएको सार्वजनिकरूपमा घोषणा हुने गरिए पनि अनुभूतिको डुङ्गामा सवार व्यक्तिलाई दण्ड दिने विधान भने अहिलेसम्म बनेको छैन ।

कहिलेकाहीँ त लाग्छ, निकै व्यावहारिक हुन मन पराउनेहरूले केही न केही त अनुभूत गर्नुपर्ने हो ! कतै न कतै भावनात्मक सम्बन्धलाई विस्तार पनि गर्नुपर्ने हो ! अद्भुत यात्रामय क्षण आनन्दको उद्गमस्थलसँगै स्मरणशक्तिको विकासक्रममा प्रभावकारीसमेत बन्दछ । दुई चारदिनको जिन्दगीमा अरू कुराहरूजस्तै अनुभूतिजन्य क्रियाकलापमा पनि जीवन प्रफुल्ल भएर हाँस्न सक्छ भने त्यो विनाकारण घटित भएको हुँदैन भनेर वर्तमान महापण्डितहरूले कहिले अनुभव गर्छन् होला !

साँच्चै भन्ने हो भने, यतिखेर म दर्शनको भारी बोकेर आफैँलाई दुःख दिने पक्षमा छैन बरु अनुभवको सङ्ग्रह गर्ने अभियानमा सङ्लग्न रहेको छु । जीवन विचारले मात्र परिपूर्ण हुँदैन, भावुकतापूर्ण अनुरागको सञ्जालले पनि निर्मित भएको हुन्छ । जीवन चिन्तनीय अभिप्रेरणाहरूको समष्टि मात्र होइन, मनलाई फराकिलो बनाएर स्वच्छन्दतालाई प्रयोग गर्नु र त्यसको उडानमा प्रयोगशील हुनु पनि हो । काम गर्दागर्दै थाकेपछि कुनै श्रमिकले एकछिन भए पनि चौतारीमा आराम गरेको क्षणमा जति प्राकृतिकता भेटिन्छ, त्योभन्दा कम छैन कल्पनाशील अवस्थामा महायात्रातिर प्रस्थान गर्नु पनि । विश्वका कुनै पनि समृद्ध मुलुकमा स्वतन्त्रताको भरपुर उपभोग गर्नुलाई पागलपन भनेर लाञ्छित गरिँदैन पनि ।

यातनाशिविरमा दुर्घटित भइरहने जीवनका बारेमा पटकपटक महाभारतहरू नलेखिएका होइनन् । अझ कयौँ रामायणहरूले त दुःखका गीतभन्दा अरू गाउन पनि जान्दैनन् । जीवनमा पीडाहरूको आगमन यस्तो रूपमा हुन्छ, मान्छे कि त समाप्त हुन्छ कि त उठ्नै नसक्ने गरी पक्षाघातको फेला पर्छ । यातनाहरूलाई हार्दिकतापूर्वक नलिने हो भने जीवन हिँड्ने बाटो कहिल्यै सुखद हुँदैन पनि । व्यथाहरूको कथा बोकी एकनासले गीत गुनगुनाउँदैमा त्यसको जलन कम भएको कतै इतिहास लेखिएको पनि छैन । जीवनमा प्रायः सुखको खोजी धेरैले भौतिकरूपमा मात्र गरेका देखिन्छन् ।

एक्लैएक्लै जीवनका तमाम सन्दर्भहरू इतिहास भएर आँखा अगाडि आउँछन्, जसमा एक पलकमै संसार चियाउने सामथ्र्य छ । मौसम निरन्तर झरिरहेछ, त्यसलाई पिउने शक्तिको आश्चर्यजनक छटा भने मस्तिष्कभरि छरिएको हुन्छ, मात्र त्यसको पहिचान गरेर उपयोग गर्न जान्नुपर्छ । कति शान्त हुन्थ्यो होला मस्तिष्क, आफूले गर्ने काम पनि आनन्दकै अर्को महत्वपूर्ण हिस्सा भैदिए ! कति उद्वेलित हुन्थ्यो होला जीवनयात्रा, प्रायः आफू हिँड्ने बाटोले पनि जीवनानन्दकै खोजी गरिदिए !

फूल छ र म छु, पात छ र मभित्र अनुभूति छ । सुगन्ध छ र त कवितात्मक लय छ नत्र अतिरिक्ति वासनामय संसारमा केवल दोैडधूप र व्यस्तता मात्र जीवनको लय हुन के बेर ! एकान्तको सुुसेली पनि कहिलेकाहीँ रमाइलो बनिदिने गर्दछ । आफैँमा त्यसको जयजयकार गर्नु मीठो पनि लाग्दछ ।

पुस्तकका सुन्दर हरफहरूले सधैँ नै जीवनको राग गुन्गुनाएझैँ लाग्छ । रङ्गिलो क्यानभास पनि मान्छेको शालीन उपस्थितिमा मुसुक्क मुस्कुराएझैँ लाग्छ । कुनै पत्रकारले समाचारलाई निकै सटीक बनाएर प्रस्तुत गर्छ, त्यो सटीकता नै उसको जीवन बाँच्ने कला बन्न पुग्छ । अझ मुक्ति त सटीकताभन्दा धेरै पर छ, जीवनानन्दले अतिरिक्त उन्मुक्तताको खोजी पनि गर्छ । पुनरावृत्ति वास्तवमा मृत्युबोधको उद्घोष पनि हो ।

खास सन्दर्भमा प्रेमी हुन मन पराउनुले प्रेमकै यात्रा तय गर्ने गर्छ । खास अर्थमा कुनै विषयवस्तुप्रति आत्मीयता दर्शाउनुले जीवनमा साङ्गीतिकता नै थप्दछ । बाध्यता र विवशताले जर्जर पारेका असङ्ख्य संवेदनाहरूलाई झक्झक्याएर त्यसमा जीवनरस घोल्दाको आनन्द वर्णनातीत छ ।

पीडा र यातना पिएर क्षतविक्षत् हुने मस्तिष्कहरूमा खुसीयालीको बीउ छर्दा प्राप्त हुने हार्दिकता कल्पनातीत छ । म चाहन्छु, जीवन जे जति छ, त्यति मात्रै भएर सीमित नहोस्, अझै फैलिएर त्यो भू-भाग कटोस् जहाँ ठूलाठूला विश्लेषणहरूको होइन, महसुस गर्ने सशक्त माध्यमका रूपमा त्यो प्रक्रिया परिभाषित होस् । म चाहन्छु, जीवनमा छरिएका अनन्त शृङ्खलाहरूको बेजोड यात्रा बनोस्, जसमा आनन्दित भविष्य परिलक्षित होस् । जीवन, वास्तवमा जीवनजस्तै बनोस् । जीवन यथार्थमा जीवनानन्द होस् ।

संगीत आयाम
मधुपर्क २०६७ असारबाट 

No comments: