यो मन्दिर नभएको शहरको कथा
म मन्दिर भएको शहरमा जन्मिएको मान्छे,
म आत्मा भएको शहरमा हुर्किएको मान्छे,
तर अहिले,
मन्दिर नभएको शहरमा छु,
अर्थात आत्मा नभएको शहरमा छु |
यो शहरको शरिर छ,
टाउको छ, हातहरु छन् र खुट्टाहरु छन्,
रगतको नशा झैँ बग्ने नदिहरु छन्,
केहि बर्ष भयो,
आखा पनि पाएको छ यो शहरले,
तर आत्मा छैन यो शहरको |
हो, यो आत्मा नभएको शहर हो,
यो मन्दिर नभएको शहरको कथा हो |
जहाँ जमिन मुनि रेल दौडन्छन्,
मान्छे होइन मस्तिष्क बोकेर,
फराकिला सडकहरु,
विलाशितालाई जोडछन्,
अर्को बजारसम्म, अर्को शहरसम्म,
हरिया उद्यानहरु,
बाह्रै मास वसन्तलाई छोपी राख्न खोज्छन,
समुन्द्र मुन्तिरका सुरुंगहरु,
जित्न चहान्छन इन्टरनेटका द्रुत गतिलाई,
अग्ला घन्टाघरहरु,
निर्देशित गर्छन संसारकै समयलाई,
यो अंग्रेजले बनाएको,
यो अंग्रेजले बसाएको,
सभ्यताको शहर (रे)
सस्कृतिको शहर (रे)
तीन सय भन्दा ज्यादा भाषा बोलिने,
यो भाषाको शहर,
ति सबै भन्दा बेग्लै,
यो कयौको सपनाको शहर,
यो कयौको कल्पनाको शहर,
यो कयौको रहरको शहर,
तर यो मन्दिर बिनाको शहर,
मेरो भाषामा आत्मा बिनाको शहर |
कयौको सपना जलाएको छ यो शहरले,
निमेष भरमै;
सबै सकिएर अस्तु भएको छ,
कयौको रहर र कल्पना डडाएको यो शहरले,
म रहर र सपना बिनै बाचेको मान्छे,
जिन्दगीका कल्पना बिनै बाचेको मान्छे,
कयौलाई म जस्तै अस्थीपंजर बनाएको छ यो शहरले,
किनकी यो आत्मा नभएको शहर हो |
यो मन्दिर नभएको शहर,
यो आत्मा नभएको शहर,
आज आफै जलिरहेछ,
आफै बलिरहेछ,
हो; लण्डन जलिरहेछ |
अजय ढुंगाना
९ अगष्ट, २०११
लण्डन
No comments:
Post a Comment