Friday, March 10, 2017

शेयर लिलामीमा लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु



हालैका दिनमा दैनिक जसो पत्रपत्रिकामा शेयर लिलामीका सुचनाहरु प्रकाशित भैराखेका हुन्छन् । पछिल्लो समय कृषी विकास बैंकको हकप्रद निष्काशनको क्रममा नबिकेका झण्डै २० लाख कित्ता शेयर लिलामीको सुचना आएको थियो ।  जसमा सामान्य लिलामीको प्रकृयामा भन्दा अधिक आवेदन परेको तथ्यहरु बाहिर आएका थिए । विगतकम जस्तो केही सय वा हजारको संख्यामा पर्ने गरेको आवेदनको सिमा नाघेर करिब एघार हजार भन्दा बढी लगानीकर्ताले आवेदन पेश गरेका थिए । जब लिलामीको बाँडफाँटको नतिजा प्रकाशित भयो र आवेदनको क्रममा परेको अधिकतम रकमको बारेमा जानकारी बाहिर आयो, उक्त आंकडाले बजार तरङ्गित भएको थियो ।

धितोपत्रको दोस्रो बजारमा समान्य अवश्थामा नै रु ४३५ को हाराहारीमा उपलब्ध शेयर लिलामीमा रु ६०१ मा सकार्नु अनौठो कुरा थियो । सामाजिक संजालहरुमा यस विषयमा अनेक टिका टिप्पणीहरु देख्न सकिन्थ्यो । सस्तोमा खरिद गर्ने र महंगोमा बिक्री गर्ने लगानीको सामान्य सिद्धान्त विपरित बजार मुल्य भन्दा निक्कै माथी गएर महंगोमा खरिद गर्नु र खरिद गरेकै दिनबाट निक्कै ठूलो घाटा बेहार्नु बुद्धिमतापूर्ण लगानीको निर्णय हुनै सक्दैन । कृषी विकास बैंकको हकप्रद लिलामी त एक प्रतिनिधि घटना मात्रै हो, विगतमा अन्य संगठित संस्थाका शेयर लिलामीमा समेत यस्तै प्रकृतीका बोलकबोल अक्सर देख्न सकिन्थ्यो ।

संगठित संस्थाको हकप्रद बिक्री गर्दा तोकिएको समय भित्र हकबाला शेयरधनीले शेयर खरिद नगरेमा वा खरिद गर्न नचाहेमा बाँकी रहन गएको शेयर धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २० मा उल्लेख गरिए अनुसार त्यसरी बाँकी रहन गएको शेयर लिलाम, बोलकबोल प्रणाली अन्तरगत निष्पक्ष रुपमा बिक्री विवतरण गर्नुपर्ने हुन्छ । लगानीकर्ताले हकप्रद मार्फत नबिकेका शेयर लिलामीमा सकार्नु अघि विविध कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ, जसको चर्चा यहाँ गर्न खोजिएको छः

  • ·         आफूले लगानी गर्न लागेको शेयर निष्काशन कर्ता संगठित संस्थाको आधारभूत वित्तीय अवश्थाको विश्लेषण गर्ने गर्नुस ।
  • ·         हकप्रद लिलामीका लागि बजारमा उपलब्ध हुने सबै शेयरहरु राम्रा नै हुन्छन भन्ने नहुन सक्छ, त्यो कुरा विचार गर्नुहोस् । लगानीकर्ताले राइट इस्युलाई रिजेक्ट गरेका कारण पनि उक्त शेयर लिलामीका लागि उपलब्ध भएको हुनसक्छ भन्ने कुरा नबिर्षनुहोस ।
  • ·         वर्तमान परिस्थितीमा हकप्रदमा नबिकेका शेयर लिलामी मार्फत खरिद गर्दा त्यो शेयर धितोपत्रको दोस्रो बजारमा सूचिकृत हुन कम्तीमा ४/५ हप्ता लाग्ने र त्यती समयसम्म शेयर बिक्री गर्न नमिल्ने कुरा प्रति जानकार रहनुस । उक्त समयसम्म हुनसक्ने बजार मुल्य जोखिमको तथ्यलाई शुक्ष्म बिश्लेषण गर्नुस ।
  • ·         हकप्रद बाँडफाँट भन्दा पहिल्यै बोनस घोषणा गरेका संगठित संस्थाहरुले हकप्रदमा बोनस नदिने संम्भावना रहन्छ, यसर्थ तपाइले लिलामी मार्फत सकार्न लाग्नुभएको शेयर Cum-Dividend हो वा Ex-Dividend हो पत्ता लगाउनुहोस बोनस रकम वा शेयर नपाइने हो भने त्यही अनुसार मुल्य समायोजन हुने कुरा नभुल्नुहोस
  • ·         उक्त धितोपत्रको कारोबार लामो समयसम्म रोकिएको छ भने, शेयर कारोबार रोकिएको अवश्थाबाट बजार कुन दिशा तर्फ उन्मुख भएको छ बिश्लेषण गर्नुहोस । उदाहरणका लागि, त्रिवेणी बिकास बैंकको अन्तिम कारोबार मुल्य ३४६ छ जुन २०१६/१०/२७ गतेको कारोबार मुल्य हो, त्यसपश्चात जनता बैंकमा मर्जरमा जाने सम्झैता गरेकाले त्रिवेणी बिकास बैंकको कारोबार रोक्का छ । कारोबार रोक्का हुँदाको समयमा समग्र नेप्से सुचक १७५९.७१ बिन्दुमा थियो, बोलकबोल खुल्दाको दिनमा नेप्से सुचक १३६४.५ अंकमा आइपुगेको थियो । यो बिचमा उक्त बैंकले १९% बोनस शेयर दिने प्रस्तावलाई साधारणसभाले पास गरेका देखिन्छ । यि तथ्यको आधारमा लगानीकर्ताले मुल्य कबोल गर्दा अन्तिम कारोबार मुल्यलाई समायोजन गर्नु पर्ने देखिन्छ ।
  • ·         उक्त धितोपत्रको कारोबार लामो समयसम्म रोकिएको छ भने, बोलकबोल मुल्य पेश गर्नु अघि उक्त शेयर बजारमा पुनः कहिले कारोबार गर्न मिल्छ यकिन गर्नुहोस ।
  • ·         शेयर लिलामीमा मुल्य बोलकबोल गर्दा दोस्रो बजारमा निरन्तर कारोबार भैराखेको शेयरको हकमा पछिल्लो कारोबार मुल्यको तथ्यलाई विचार गर्नुहोस । याद गनुहोस, दास्रो बजारमा उपलब्ध मूल्य भन्दा कम मूल्यमा तपाईले बोलकबोल गरेर खरिद गर्न सक्नुभयो भने मात्रै शेयर लिलामीबाट तपाईले फाइदा लिन सक्नुहुन्छ ।
  • ·         दोस्रो बजारमा पर्यात्त मात्रामा शेयर उपलब्ध हुने अवश्था छ भने दास्रो बजारको पछिल्लो कारोबार मुल्य भन्दा बढी रकम बोलकबोल मार्फत पेश गर्ने गल्ती नगर्नुस ।
  • ·         बोलकबोलमा अधिकतम फाइदा बाँडफाँटको न्युनतम मुल्य (कट-अफ प्राइस)मा बोलकबोल गर्नेलाई हुने हुनाले शेयर लिलामीको पछिल्लो ट्रेन्डलाई अध्ययन गरेर आप्mनो मुल्य तय गनुहोस, हल्लाको पछाडी नलाग्नुहोस ।
  • ·         धितोपत्र लिलामीमा उपलब्ध हुने संख्याका आधारमा कटअफ फरक पर्ने (कम संख्या हुदा अन्तिम कारोबार मुल्य नजिक रहने र संख्या बढ्दै जाँदा अन्तिम कारोबार मुल्यबाट पर धकेलिदै जाने) तथ्य बिभिन्न अध्ययनहरुले देखाएका छन । मुल्य बोलकबोल गर्दा यस्ता अध्ययन प्रतिवेदनहरुको अध्ययन गर्ने बानी बसाल्नुस ।
  • ·         उक्त धितोपत्र खरिद गर्दा तपाईले बहन गर्ने जोखिम र प्राप्त गर्न चहाएको प्रतिफलको गणना शुरु मै गनुहोस, तपाईको जोखिम बहन गर्न सक्ने क्षमता अर्को व्यक्तीले बहन गर्ने जोखिम क्षमता र प्रतिफलको चहाना पनि फरक हुने भएकाले अरुको लहैलहैमा लागेर आप्mनो बोलकबोल मुल्य तय नगनुहोस ।
  • ·         फरक फरक मुल्यमा बोलकबोल पेश गर्न मिल्ने अवश्थामा भिन्न भिन्न मुल्यमा बोलकबोल पेश गरेर औसत मुल्य कम गराएर फाइदा लिने कोशिस गनुहोस ।


समग्रमा धितोपत्र बजारमा कारोबार भैराखेको मुल्य भन्दा कम मुल्यमा त्यै शेयर खरिद गरेर लगानीकर्ताले आर्बिट्रेज प्रोफिट लिन सक्दछन । लिलामीमा कटअफ प्राइस ठ्याक्कै यही नै हुने वा यती नै हुने भन्ने त्यस्तो केही हुदैन तर उस्तै प्रकृतीका शेयरको लिलामीको अध्ययनबाट बोलकबोलका लागि उपयुक्त रेन्ज पत्ता लगाउन सकिन्छ, जुन रेन्ज भित्र रहेर बोलकबोल मुल्य पेश गर्दा अधिक प्रतिफलसंगै शेयर पर्ने संम्भावना पनि रहन्छ यद्यापी आवेदकले त्यो रेन्जमा हरेक पटक शेयर निश्चित रुपमा पाँउछन नै भन्ने हुदैन । तथापी माथी उल्लेखित तथ्यहरु अध्ययन गरेर लगानीको निर्णय गर्दा अवश्य पनि जोखिम भने कम गर्न सकिन्छ ।

अजय ढुंगाना
(लेखकलाई टुइटरमा @dh_ajaya मा पछ्याउन सकिन्छ । प्रस्तुत लेख लेखकको निजी विचार हो, लेखक आवद्ध संस्थाको आधिकारीक धारणा यो लेखले प्रस्तुत गर्दैन ।)


No comments: