Saturday, September 3, 2011

एउटा नाटक बदलिएपछी (कविता); अजय ढुंगाना


एउटा नाटक बदलिएपछी


एउटा नाटक बदलिएपछी,
रंगमंचको इतिहास बदलियो,
रंगमंचको पर्दा बदलियो,
पात्रहरु बदलिए,
रंगमंच प्रतिको आस्था बदलियो,
विश्वास बदलियो,
हो! एउटा नाटक बदलिएपछी,
रंगमंचको इतिहास बदलियो |

सुन्केश्राका जुल्फीहरु,
प्राज्ञिकका निर्णयहरु,
दर्शकका मौनताहरु,
टिकटका लुच्चायाईहरु,
भाचिएका कुर्चीहरु,
अड़मिल्दा समयहरु,
निर्णायकका कलमहरु,
पात्रका पहिरनहरु,
वेफिक्रीका सुस्तायाईहरु,
कर्मचारीका धुर्त्याईहरु,
नमिलेका रहनहरु,
नजुरेका साइतहरु,
मिलाइएका फर्स्यौटहरु,
सबै सबै बदलिए,
एउटा नाटक बदलिएपछी,
रंगमंचको इतिहास बदलियो |

तर उही नाटक,
उही पर्दा, उही रंगमंच,
र उही परिवेशमा,
नायक बदलिदा,
बदलिनु छ, रंगमंचको इतिहास,
बदलिनु छ, मेरो देशको इतिहास |


अजय ढुंगाना 
३ सेप्टेम्बर,२०११ 
लण्डन


No comments: