Thursday, May 3, 2012

'चौकैठ' नाघिन्, तर यात्रा रोकियो

रन्जु झा लगायत कथित जनकपुर बम काण्डमा जीवन गुमाउने सम्पूर्णको आत्माको चिर शान्तिको कामना

तल प्रस्तुत लेख नागरिक दैनिकको अनलाइन संस्करणबाट लिइएको हो |


देशविदेशका फिल्म फेस्टिभलहरूमा रुचाइएको छोटो फिल्म 'चौकैठ'मा मुख्य भूमिका निर्वाह गर्ने अभिनेत्री रञ्जु झाले उतारेका विम्बहरू अब फिल्मको पर्दामा सीमित भएको छ। जनकपुरको रामानन्द चोकमा सोमबार बम विष्फोटमा अन्य तीनसहित रञ्जुले मृत्युवरण गरिन्। फिल्म 'चौकैठ'मा पुरुषप्रधान समाजले निर्धारण गरिदिएको घेरालाई नाघ्दै प्रतीकात्मक विद्रोह गर्ने नारीको रूपमा देखिएकी रञ्जुको विम्ब वास्तविक जीवनमा पनि त्यस्तै थियो।  

'मिथिला समाजमा घुम्टोदेखि बाहिर निस्किएर ठाउँठाउँ नाटक देखाउँदै हिँड्न एउटी महिलालाई सजिलो छैन,' प्राज्ञ रंगकर्मी रमेशरञ्जन झाले भने, 'त्यसैले उनी मिथिला समाजमा बोल्ड नारीको रूपमा चिनिँदैथिइन्।'

रञ्जुको असामयिक निधनको खबर प्राप्त हुने बित्तिकै काठमाडौंमा रहेका रंगकर्मीहरूले थापाथलीस्थित शिल्पी थियटरको हलमा सोमबार साँझ शोक प्रकट गरे। विष्फोटको बेला अरू रंगकर्मी र स्थानीय संस्कृतिकर्मीसहित धर्नामा बसेकी थिइन् रञ्जु। 


'मिथिला क्षेत्रले नेपाली साहित्य र कलामा पुर्‍याएको योगदानलाई राज्यले कदर गरेन भनेर रंगकर्मी र संस्कृतिकर्मीले शान्तिपूर्ण आन्दोलन गरेको हो,' रमेशरञ्जन झाले भने, 'जुन मुद्दालाई उठाएर धर्ना बसिएको हो, त्यसको सम्बोधन सरकारले चाँडै गरोस्।'

३५ वर्षीया रञ्जु २०५६ सालदेखि मिथिला नाट्य परिषदमा आवद्ध भई रंगकर्ममा क्रियाशिल थिइन्। 'ओखली मुह देखैछी', 'गाम नई खतैय', 'पुष जाड कि माग जाड' जस्ता दर्जनौं नाटकमा सहभागी उनले महको 'आमा-२', 'सृष्टि', 'कालाजार', बिबिसी नेपाली सेवा रेडियोको 'कथा मिठो सारङ्गीको' र भर्खरै 'बाबा' सिरियलमा अभिनय गरेकी थिइन्। उनका श्रीमान र दुई छोरा छन्।

शिल्पीद्वारा आयोजित शोक कार्यक्रममा रंगकर्मी अनुप वरालले रञ्जुलाई अनुभूति सहजै व्यक्त गर्न सक्ने क्षमतावान तथा स्वाभाविक अभिनेत्रीको रूपमा स्मरण गरे। 'चौकैठ'का निर्देशक दीपक रौनियारले काठमाडौंमा बेलाबेला देखाइएको फिल्म हेर्नबाट भने रञ्जु बञ्चित रहेको खुलाए। 'केही दिनअघि दुइटा डिभिडी लिएर गएकी थिइन्, सायद हेरिन् होला,' दीपकले भने, 'बिबिसी रेडियोका विभिन्न नाटकमा उनीसँग काम गरिसकेकी थिएँ, चौकैठ बनाउने बेला हामीसँग धेरै रोजाइ थिएन। त्यही भएर खेलायौं। काम गरेपछि थाहा भयो, उनको विकल्प वास्तवमै थिएन।'

सोमबार सीता जयन्ती परेको संयोगलाई मिथिलाका साहित्यकार धीरेन्द्र प्रेमर्षिले रञ्जुसँग तुलना गर्दै भने, 'एउटी जानकी जन्मिएको दिन हामीले अर्की जानकी गुमायौं। उनी र बाँकी तीनजनालाई सांस्कृतिक सहिदका रूपमा सम्भि्कइनुपर्छ।'

पत्रकार कनकमणि दीक्षितले आफू 'चौकैठ'मा रञ्जुले गरेको अभिनयबाट प्रभावित भएको बताए। 'मनोरञ्जन र शिक्षामा उनीबाट थप योगदान हुनसक्थ्यो, स्थानीय कलाकार राष्ट्रियस्तरमा जान सक्छ भन्ने प्रमाण बन्दैथिइन्, तर उनी रोकिइन्,' दीक्षितले दुःख मनाउ गरे।

जुनसुकै उद्देश्यले घटना भए पनि आतंकलाई आतंक नभनिएसम्म यसरी निर्दोषको ज्यान गुमिरहनेतर्फ सचेत गराउँदै पत्रकार केदार शर्माले भने, 'रञ्जु झाहरूले लिएको सांस्कृतिक अभियानमा अरू रंगकर्मीले पनि सघाउनुपर्छ।'

शिल्पीमै भएको भेलाले विभिन्न रंगसंस्थाहरूको तर्फबाट घटनाको निन्दा गर्दै प्रेस विज्ञप्ति निकाल्यो। सोमबारै अभि सुवेदीको अध्यक्षतामा सांस्कृतिक आन्दोलन ऐक्यवद्धता समिति गठन भएको छ। 

समितिको सचिवमा घिमिरे युवराज, सदस्यहरूमा रूपा झा, दीपक रौनियार, केदार शर्मा, रमेश रञ्जन, अनुप बराल र दिया मास्के छन्रु। समितिले मंगलबारु बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा शोकसभा गर्दैछ। समितिले मंगलबार बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा शोकसभा गर्दैछ।

No comments: