Thursday, May 3, 2012

प्रश्नहरु जन्मिन्छन बिना सम्भोग नै

प्रश्नहरु जन्मिन्छन बिना सम्भोग नै 

म प्रश्नहरु माथि त्यति धरै निरंकुश हुन्न, प्राय प्रश्नहरुलाई निर्बाद रुपमा जन्मन दिन्छु | 

संयोग अचम्मको परेको थियो, प्राय यस्ता अवस्थाहरु अचम्म दयाक हुन्छन र त् संयोग भनिन्छन, जे होस् यो पटक मैले उत्तर भेटे पश्चात प्रश्न जन्मिएको थियो, यो प्रश्नले आफ्नो अस्थित्व हैसियत कुन रुपमा राख्छ, त्यो उ आफै जानोस, मलाई भने प्रश्नको अवतरण देखेर दया लागेर आएको थियो | 

घडीका सुइलाई एक फन्का घुमाएर म एकै पटक बाल्यकालमा पुग्दछु; मेरो बाल्यकाल जसले मसंग अनेकौ स्मृतिहरु सजाएको छ, जुन मेरो मस्तिष्कको एउटा कुनामा सधै जीवित भएर बाँचीरहेको छ हो त्यही बचपनमा पुग्छु म | चितवनको एउटा सानो गाउँको सानो चौघेरा भित्र सुन्दर सजिएको थियो त्यो | भद्दा सजिएको होइन, चरम अभावको खडेरीमा अल्झिएको होइन, बीच मै कतै, केही पाए जस्तो, केही पाउन अझै बाँकी जस्तो पनि |
खैर त्यो बचपनमा भेट्न धेरै बाँकी चिजहरु मध्य केही मेरा अनुत्तरित प्रश्नहरु हुन् | राजनीति र कुटनीति बुझ्ने उमेर नहुदा किन मागे होलान द्रोणाचार्यले एकलब्यसंग बुढी औला झैँ लाग्थ्यो तर अहिले त्यही राजनीति र कुटनीति अलि अलि बुझीटोपल्ने हुदा भने प्रश्नको स्वरूप फेरिएको छ | यस्तो लाग्छ बुढी औला काटेर लिई सके पछि फेरी कुन नैतिकताको ग्राउन्डमा टेकेर बोलाए होलान उनले एकलब्यलाई महाभारतको रणभूमिमा | मसंग जबाफ छैन यसको न स्वयं द्रोणाचार्य आए भने नै उनिबाट स्पष्ट जबाफ आउला | बाल्यकालमा टिभीमा महाभारत र रामायण हेरेको याद आउछ | त्यो बेलामा अनेकन प्रश्नहरु जन्मिन्थे उत्तरका अभाबमा जन्मिने बित्तिकै मर्थे तिनीहरु, यसर्थमा कतिको भ्रुण हत्या नै हुन्थ्यो | ठुला बढा जे भन्यो त्यही नै ठिक हो, र त्यही नै मान्नु पर्छ भन्ने पत्थर लिपी कठोर नियम थियो | हुन त् त्यत्रो बुझेका कबि शिरोमणिले त्यसै लेखेका हैनन् होला ''बढाले जो गर्यो हुन्छ त्यो सर्बसम्मत" | तर यही सर्बसम्मतको मान्यता भित्र बाधिन मुस्किल थियो त्यो बचपन |

धर्मशास्त्रको कुरा गर्दा धेरै यस्तै अनुत्तरित प्रश्नहरुले कायल भएको छु, वचपन देखि आजसम्म नै, धेरै प्रश्नको चित्त बुझ्दो उत्तर पाएको छैन, सायद म जस्ता यहाँ धेरै हुन सक्छन, त्यसैले चित्त बुझाएको छु | त्यसैले धर्मशास्त्रका कुरा अब उप्रान्त यो लेखमा नजोड़ने प्रोमिस गरे | अब भने तो लेख एउटा प्रोमिस भित्र बाधिने भो, अब भने ट्रयाक समात्छ कि झैँ लाग्यो |

त्यसैले अब प्रसङ्ग यो लेखको शिर्षक तिर मोडौ कि झैँ लाग्यो | मैले शुरु मै भनिसके म मेरो मस्तिष्कमा प्रश्नहरुलाई निर्बाद रुपमा जन्मन दिन्छु, जन्मनु एउटा प्राकृतिक प्रक्रिया हो, जन्मनु सृष्टिको अकाट्य नियम हो, जन्मनु विकासक्रमको एउटा प्रक्रिया पनि हो | कोही वा केही जन्मनुको पछाडि कसैको सपना अल्झिएको हुन्छ, कसैको बाध्यता अल्झिएको पनि हुनसक्छ वा रहर पनि हुन सक्छ वा गल्ति पनि | बिज्ञान ति सबैसंग कुनै सरोकार राख्दैन, बिज्ञानको नजरमा मानबिय सम्बेदनामा केही कुरा जन्मिनु सम्भव छैन, बिज्ञानका आफ्नै अकाट्य नियमहरु छन्, र हामी सबैको जन्म त्यही नियममा बाधिएर हुनु पर्ने हो, तर एकै शब्दमा भन्दा त्यसो हुदैन, प्रश्नहरु निर्बाद जन्मिन्छन सम्भोग बिनै | अजैविक तत्वको जन्ममा सम्भोगको प्रश्न अनुचित लाग्न सक्छ वा कसैलाई भद्दा लाग्न सक्छ तर यो कुरामा पनि म प्रष्ट छु कि मैले न्यायचित शब्द नै प्रयोग गरिराखेको छु | सम्भोग देखि समाधिसम्म पढेका हामी सुम्निमाको नग्नतामा केवल प्राकृतिक सुन्दरता मात्रै  देख्ने हामी मध्ये धेरैले बुझेका छौ, नग्नता प्रकृति हो | हामी नांगै जन्मिएका हुन्छौ नांगै चितामा सुत्छौ अर्थात् जीवनका सबैभन्दा संघिन पलहरु नांगै बिताउछौ | यी सबै भनिरहदा म कपडा पहिरिने हाम्रो सामाजिक मान्यताका बिरुद्ध बोलिरहेको होइन, त्यो भ्रम नरहोस्, त्यो प्रष्ट होस् | म त केवल नग्नता जीवनको यथार्थ हो मात्रै भनिरहेछु |

लेखको ट्रयाक मै फर्किदै म के मान्दछु भने, अजैविक बस्तुको जन्म पनि सम्भोग कै एक प्रक्रियाबाट हुने गर्दछ | हामीले ढुंगा, माटो वा पृथ्बीका उत्पतिका बारेमा अनेकौ कुराहरु सुनेका छौ, सुन्दै आएका छौ | बिज्ञानका अनेक कुरा सुनेका छौ, धर्मशास्त्रका अनेक तर्क सुनेका छौ, तर यहाँ धर्मशास्त्र तिर नलागौ, हामीले धर्मशास्त्रलाई यो लेखमा माथि नै छोडेर आइसकेका छौ |  तर पनि ति सबैका पछाडि कुनै न कुनै रहस्य छ, कुनै न कुनै कारण छ, कुनै न कुनै उद्देश्य छ हो यिनै रहस्य, कारण र उद्देश्य नै ति सबको जन्मनु अघिको सम्भोग हो | अलेक्जेन्डर ग्राहाम बेलले टेलिफोन बनाउनु अघि गरेका कयौ प्रयोग र परिक्षण नै टेलिफोन जन्मनका लागि भएको सम्भोग थियो, आज त्यही सम्भोगका अपडेटेड भर्सनहरु हामी हात हातमा बोकेर हिडीरहेका छौ, कुदिरहेका छौ | यसर्थ टेलिफोन बनाउन बेलले गरेको मेहनत, उनको उद्देश्य र सफलताका रहस्य उनको प्रयोगमा थिए, उनि अजैविक बस्तुको सम्भोग गराएर त्यसको नतिजा जन्माउन सफल भए, त्यसैले त् आज बर्षौ पछि पनि उनि हामी सबैको मानसपटलमा जीवित नै छन् |

एबं रितले संसारका हरेक बस्तुहरु आविष्कारका पछाडि जोडिएका प्रयोगलाई हेर्ने हो भने ति प्रयोगलाई नै त्यो बस्तु उत्पतिका निम्ति भएको सम्भोग प्रक्रिया भन्ने मेरो बुझाई छ | (चित्त नबुजाउनेहरुले हात उठाउनु होला र तल कमेन्ट बक्समा प्रतिक्रिया लेख्नुहोला) | आर्यभट्टले शुन्यका अविष्कार गरेका हुन् | बस्तुत उनका यी दुइ हरफले शुन्यको आविष्कार भएको मानियो
पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते॥
अर्थात् त्यो निरपेक्ष हो, यो निरपेक्ष भन्दा बाहिरबाटै उदय हुन्छ,
यो निरपेक्षबाट निरपेक्ष निकाल्ने हो भने निरपेक्ष नै बाँकी हुन्छ |
आखिरमा यो नै शुन्यको सिद्धान्त हो, जिरो टेकन फ्रम जिरो रिमेन्स जिरो, आहा! कति सजिलो बनाएका छौ हामीले यसलाई | तर जुन रुपमा यसको उत्पत्ति भयो, छुन नमिल्ने बस्तुको रुपमा उत्पत्ति भयो, अंग्रेजीमा "इनटेंजिबल" ले अर्थ लाग्ने अनुरुपको |यसका पछाडि पनि सम्भोगका उही नेचुरल एक्सनहरु छन्, नेचुरल फिनोमेनाहरु छन् | यही उदहारणलाई शिरोधार्य गर्दै म के कुरा जेनेरलाइज गर्न पुग्छु भने, चाहे टेंजिबल होस् वा इनटेंजिबल बस्तु, चाहे जैविक होस् वा अजैविक बस्तु सबै सबै सम्भोगको फेज पार गरेरै जन्मिएका हुन्छन |

यो लेख यही निर यही निचोडमा इति श्री स्कन्द पुराणे भै  सकेको छैन, यो लेखको टुप्पोमा रहेको शिर्षक आँखा तन्काएर हेर्दा मैले अघिल्लो लाइनमा गरेको जेनेरलाइजेसनसंग मेरो शिर्षक स्पष्ट रुपमा बाझिएका छन् | म आफै मेरो जेनेरलाइजेसनसंग स्पष्ट हुन नसकेको देखियो, तर कुरोको चुरो त्यसो होइन, प्रश्नहरु पनि एउटा सामान्य रितमा अर्थात् सम्भोगको एउटा सामान्य फेनोमेनन पछि नै जन्मन्छन | एउटा प्रश्न जन्मनका निम्ति त्यसमा कारणको खोजि भएको हुनु पर्दछ, प्रश्नको कुनै उद्देश्य हुनु पर्छ, कुनै विचार, नियम वा सिद्धान्तको परिधि भित्र मस्ट अफ द केश बाधिएको हुनु पर्छ | म हरेक प्रश्नको जबाफ हुनु पर्छ नै भन्ने मान्दिन तर प्रश्न सानो भन्दा सानो भए पनि कारण अल्झिएको हुनुपर्छ भन्ने बिश्वास राख्दछु | हो, निश्चंत प्रश्न जन्मिन सम्भोग हुनु जरुरी छ, विचारको सम्भोग, कारणको सम्भोग, उद्देश्यको सम्भोग | त्यसैले त यो रित बनिसक्यो, यो लेखको यो भागसम्म आइपुग्दा प्रश्नहरु सम्भोगबाटै जन्मिन्छन भन्ने कुरामा कुनै शंका नगरे हुने ग्राउन्ड डेभेलव भै सक्यो |

तर यो रितको क्रमभंगतालाई तोड्दै आजकल मेरो मस्तिष्कमा प्रश्नहरु बिना सम्भोग नै जन्मिने गरेका छन्, बिना सम्भोग अर्थात् बिना विचार, बिना उद्देश्य र बिना कारण | एक पटक फेरी घडीको सुइलाई उल्टो घुमाएर त्यही बचपनमा पुराउन चाहे, हो त्यही बेला पनि कयौ यस्ता प्रश्नहरु जन्मिन्थे, उद्देश्य, विचार र कारण बिना नै अर्थात् सम्भोग बिना नै | हो, समय त्यति बेलाको र अहिलेको उस्तै उस्तै भएको छ, बाह्र बर्षमा खोलो फर्किन्छ भन्थे अहिले त्यहि खोलो फर्किए जस्तै भएको छ | मलाई लाग्छ म त्यही खोलाको दोभान तिर कतै छु | त्यो बाल्यकालमा मस्तिष्कमा बिना सम्भोग जन्मिएका यस्ता कयौ प्रश्नहरुको जबाफ सामान्य ज्ञान भनेर ठुलठुला अक्षरमा लेखिएका किताबले मेटाउने गर्थ्यो | ति किताबहरु घोकेर कण्ठ पारिन्थ्यो, प्रश्न भुइँमा झर्न नपाउदै जवाफ दिन सक्ने भइन्थ्यो | एउटा यस्तै सम्झना छ, नेपालको सबैभन्दा होचो ठाउँ कुन हो भनेर किताबमा प्रश्न थियो, उत्तरमा गल्तिले केचना कलन थापा लेखीएको थियो | यही प्रश्न हाजिरी जबाफमा सोधिदा बडो कन्फीडेंसका साथ केचना कलन थापा भनियो, सुन्नेहरु सबै गलल्ल हाँसे, तर आफैले भने बुझिएन धेरै पछि थाहा भो कि ठाउँको नाम सोध्दा मान्छेको थर जोडेर भनेछु | हो त्यस्तो पढाई पढेर के गर्नु? जानेर के गर्नु? त्यसलाई जानेको नि के भन्नु | अल्प बिद्या भयांकारी भने जस्तै |

तर आज परिस्थिति अलि बेग्लै छ, ट्याब्लेट र स्मार्ट फोनको समय छ | निर्बिबाद बिना सम्भोग जन्मिएका प्रश्नहरुको दिन मै लाखौ पटक उत्तर खोजिदिने गुगल छेवैमा छ | इन्टरनेटका द्रुतम गतिहरु प्रकाशको रफ्तारलाई उछिन्न लागि परेका छन् | हो, त्यसैले अचेल म विचार बिहिन, उद्देश्य बिहिन र कारण बिहिन प्रश्नहरुको खेतिमा लागेको छु, अचेल मसंग प्रश्नको एउटै हैन लाखौ, करोडौ उत्तरहरु छन्, निमेष भरमै भेटिएका उत्तरहरु | हो, अचेल मेरो मस्तिष्कमा बिना सम्भोग जन्मिन खोजिरहेका प्रश्नहरुको भ्रुण हत्या हुदैन, म हरेक प्रश्नलाई जन्म दिन्छु अचेल, त्यसैले त विचार बिहिन प्रश्नहरुको ताँती लागेर आउछ म मा, उद्देश्य बिहिन प्रश्नहरुको महासागर नै पल्टन खोज्छ | फेरी एकपटक केचना कलन थापा सम्झन्छु, अनि सबै सबै सम्भोग बिना जन्मन खोज्ने प्रश्नहरुको भ्रुण हत्या गरौ झैँ लाग्छ, अंग्रेजी अल्फाबेटबाट 'G' को अक्षर नै मेटिदिउ झैँ लाग्छ, उत्तरहरुका खातहरुलाई एक क्लिकमा डिलेट गरौ झैँ लाग्छ |

तैपनि मनमा एउटा बिना सम्भोग जन्मिएको प्रश्नले भने सताईरहन्छ
"राजेश हमालले बिहे कहिले गर्नु हुन्छ?"




अजय ढुंगाना
लण्डन 
३ मे २०१२
तस्विर: गुगल इमेज सर्च

No comments: