उस्तै र पनि बेग्लै
पल्लो कोलोनी,
कोलोनीको तेश्रो घर,
तेश्रो घरको दोश्रो तल्ला,
दोश्रो तल्लाको छेउको कोठा,
छेउको कोठाको सानो झ्याल,
जब साँझमा बत्ति बल्छ,
अनि रंगिन बन्छ |
मुटुको एउटा नशाबाट,
मस्तिष्कसम्म,
रगतका केहि थोपाहरु,
हुलाकी बनेर बाटो लाग्छन,
लौरी टेक्दै उकालो हिंडछन्,
र मस्तिष्कको प्रतिक्रिया बोकेर,
फर्कन्छन मुटु मै फेरी,
निमेस भर मै |
मेरा आर्तनादका कुराहरु,
मनले सुन्छ,
मस्तिष्कले सुन्छ,
हावाले सुन्छ,
घाम पानी र
हेमन्तको हिउले सुन्छ,
हावाले तिनै कुरा बोकेर,
पल्लो कोलोनीको
तेश्रो घरको,
दोश्रो तल्लाको,
छेउको कोठाको,
सानो झ्यालसम्म पुराउछ,
र हुलाकी बनेर फर्कन्छ,
मेरो झ्यालसम्म,
निमेष भर मै |
हावाको तरंग
मुटुको तरंग,
फरक,
तर फेरी उस्तै,
उस्तै,
र पनि बेग्लै,
हावाको,
पल्लो झ्यालको यात्रा,
अनि रगतको थोपाहरुको,
मस्तिष्कसम्मको यात्रा,
उस्तै,
र पनि बेग्लै |
बत्ति बलिसके पछि,
त्यो झ्याल रंगिन छ,
अरु कयौ झ्यालहरु जस्तै,
र पनि बेग्लै छ,
भिन्दै छ,
झ्यालमा उनि देखिन्छिन,
हाँसी खुसि फुलेकी,
सुनगाभा जस्तै,
उनको पति र उनको छोरा
उनीसंगै छन्,
झ्याल अझ रंगिन छ |
यता म,
लोडसेडिंगको अध्यारो खेपिरहेछु,
जिन्दगीको अध्यारो खेपिरहेछु,
दुवै अध्यारो उस्तै लाग्छन,
र पनि बेग्लै छन्,
बेग्लै छन् र पनि उस्तै लाग्छन |
अजय ढुंगाना
लण्डन
३/३/२०१३
Image source: http://www.skinnymoose.com/sledchix/2008/06/22/view-from-my-window-winter-edition/
No comments:
Post a Comment