अनविज्ञता
थाहा छैन,
थाहा छैन,
रातहरु कुन मोडले आउछन अचेल,
अनि, कुन दिशामा फर्कन्छन |
एक पल, मेरो आँखाको समिपमा,
बेसंस्कारी यी जीवनका रुपहरुलाई,
सायद झक्झक्याउन,
नभए गिज्याउन,
अनि जिस्काउन,
किन आउछन ?
मेरो निम्ति,
रातको चिसो संगै घट्दै गरेको तापक्रम,
कुनै कठोर संजाय भन्दा कम छैन,
वीरबलको खिचडी जस्तै,
पारी डाँडामा बलेको बिजुली बत्ति,
मेरो आस्थाको केन्द्रबिन्दु बनेकोछ,
जिन्दगी मक्किएको देखेर,
भत्किएको देखेर,
अनि पटक पटक कुच्चिएको देखेर,
त्यो आस्थाको केन्द्रबिन्दु पनि,
पटक पटकको लोडसेडिंगले,
भएभित भै सकेको छ,
अरुण चौथो पाँचौ र छैटौको आशमा,
रात काट्नलाई मैनबत्ती बालेको,
थाहा छैन कति भयो,
तर पनि हरेक दिन,
मलाई रातले पिछा गर्न छाडेको छैन,
लाग्छ, हरेक रातले सोच्छ होला,
मेरो बेसंस्कारी जीवनका रंगहरुलाई,
एक पटक गिज्याउनु नै पर्छ |