Thursday, July 12, 2012

के यत्तिकैमा प्रेम हुन्न र?? (कविता)


के यत्तिकैमा प्रेम हुन्न र??

तिमी बुझ्दिनौ,
मेरो आँखाको भाब,
म जान्दिन,
तिम्रो इशाराको भाषा,
के यत्तिकैमा प्रेम हुन्न र ??

आजकल
मेरो कविताका शब्दहरु,
आकाश छुनलाई उर्लिदैनन,
न त,
मन नै,
उत्साहको पहाड,
एक सासमा उक्लिन खोज्छ,
सायद तिम्रो मन पनि,
त्यस्तै छ होला
घडीको सुइ ढिलो घुमे जस्तो,
मध्याह्नको थकाई लामो लागे जस्तो,
लाटो पहाड र बेमत्लबी बादल झैँ,
निस्सार जिन्दगी,
हत्केलामा खोजे जस्तो,
झुटो झुटो
मन झुटो, संसार झुटो
तर के यत्तिकैमा प्रेम हुन्न र ?

पछिल्लो २ दशक
म यस्तै मन लिएर बाँचे,
बिरुपाक्षका मुर्तिहरु त,
युगौ देखि साक्षी छन् क्यार,
परिबर्तनको हावा हल्लिएर,
धेरै चिसो भोगे क्यारे,
यो दुइ दशकमा,
म पनि त्यै नियती भोग्दैछु,
बिरुपाक्षको जीवित रुप,
समय बदलियो,
घडीका सुइहरु कहिल्यै ढिला घुमेनन,
मध्याह्नको थकाई यथावत थियो,
कविताका शब्दहरु,
चिसो ओछ्यानमा सुतीरहे,
लाटा पहाडहरु,
मानबताको क्रन्दनलाई चुपचाप सुनिरहे,
बेमत्लबी बादलहरु,
बिग्रहका असिना बर्साइरहे,
म मानव बस्तीको,
एउटा जीवित बिरुपाक्ष,
एउटा असाहय भीम मल्ल,
एउटा लखेटिएको जिउदो सबुत,
म मेरो उजाडिएको बस्तीबाट,
च्यातिएको कपडा,
चुडिएको चप्पल
र टुक्रिएको मुटु बोकेर,
शुन्यतामा हराएको आम नेपाली |

प्यारो गाउँ,
म अझै पनि बुझ्दिन
तिम्रो आँखाको भाब,
तिम्रो परिवर्तनको मोह र इशारा,
तिम्रो बदलाको भावना र कल्पना,
तिम्रा प्रगतिशील भनाउदा पाइलाहरु,
तिम्रा अमानविय अचेतनहरु,
बन्दुकको नालमा तिम्ले देखेको परिबर्तन,
तैपनि म तिमीलाई माया गर्छु,
के यत्तिकैमा प्रेम हुन्न र??
हो, प्यारो बस्ति,
तिमी मेरी पहिलो प्रेमिका,
तिमीसंगै बिताए मैले,
जिन्दगीका कैयन मिठा पलहरु,
म माया गर्छु तिमीलाई सदैब
बाँचुन्जेल,
अरुले नमारेसम्म
आफै नमरेसम्म ||



अभिनव

1 comment:

Uttamre said...

Nice one