Saturday, December 25, 2010

घण्टाघर (कविता); भूपी शेरचन

घण्टाघर

कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै छोरा–नाति
सँगी–साथीहरुमा बाँडेर
एक–एक गरी
फौजका सब पुराना जर्सीहरु सिद्धिए ।
तर जतनसाथ बचाई राखेको
फौजी जीवनका दुइटा प्रिय चिन्ह
एउटा पुरानो डिजाइनको ठूलो, गोलो जेबघडी
छातीमा झुण्ड्याएर,
अनि एउटा पुरानो टोप शिरमा लगाएर
बुढेसकालमा लामा र दिक्दारे दिन बिताउने
एउटा पेन्सनवाल बूढो लाहुरेझैं
रानीपोखरीमा बल्छी हालेर
तटमा उभिएर निरन्तर
झोक्रिइरहेछ घण्टाघर ।

भूपी शेरचन
घुम्ने मेच माथि अन्धो मान्छेबाट

No comments: