Monday, December 27, 2010

एक कप ब्ल्याक स्ट्रोङ कफी; अजय ढुंगाना

एक कप ब्ल्याक स्ट्रोङ कफी
(आफ्नै गन्थन)


चिसो निकै नै बढेको छ; जिउ तात्नै गाह्रो मान्छ, खुट्टामा मोजा, हातमा पन्जा लगाएर कति बस्नु, असजिलो लाग्छ | हात, खुट्टा खाली राखेर आफै चलाउन नपाउदा बेग्लै किसिमको खसखस लाग्दो हुन्छ | समय काट्न पनि कति गाह्रो हो, दिनभरी घरमै बसिरहनु पर्दा पट्यारलाग्दो हुन्छ तैपनि एक कप तातो कफी खान मन लाग्यो अनि तल किचनमा गएर बनाएर ल्याए; यो बीचमा उता (काठमाडौँ) मा पनि निकै चिसो बढेको सुनेको छु |

कप रित्तिएपछि झ्यालको छेउमा गएर उभिन्छु अनि बाहिर हेर्न थाल्छु; हिउ परेर ओभिनसकेका कान्ला र चौरहरु देखिन्छन मेरो कोठाको झ्यालबाट, यो घर भन्दा पछाडी पट्टीको दृश्य हो | झ्यालको छेउबाट फेरी छिटै नै खाटमा गएर बस्न मन लाग्दैन, कुर्चीलाई झ्यालको छेउमा तान्छु र त्यसमै बसेर फेरी बाहिर तिर हेर्न थाल्छु | चिसोले गर्दा एकै ठाउमा गुइठो परेर बस्न खोजे जस्तै गर्छु, तर त्यसले पनि काम गर्दैन | नेपालबाट आउदा खेरी ल्याएको दिदीको खैरो पछ्यौरा खाटबाट झिकेर ओडेर बस्छु; खुट्टालाई सेन्ट्रल हिटिंगको टिनमा छुवाएर राख्छु, अनि बेला मौकामा हातले पनि त्यही टिनको पाता छुन्छु |

घर नजिकैबाट एउटा ट्रेन उ पर ब्रिमिंगहमसम्म पुग्छ, त्यसैको आवाजले मेरो ध्यान त्यतै तिर तानिन्छ, म हेर्छु त्यो रेललाई; त्यो सेतो रंगको 'चिलटन रेल' आजसम्म चढ्ने मेसो मिलेको छैन, त्यसको अनुभव अह, म बर्णन गर्न सक्दिन, त्यो मेरो जिन्दगीको अनुभव भन्दा परको कुरा | ट्रेन गैसकेपछी, त्यहाँ देखिन्छ, उही पग्लिन बाकी हिउका बुदहरु | म सोच्छु, सम्झन्छु, मेरो जिन्दगीका रंगहरु, चितवन, काठमाडौँ र लण्डनको बसाई; अनि आफ्नै अभिलाषाहरुको मन भित्रको द्वन्द | २०६३ सालमा काठमाडौँमा हिउ पर्दा किर्तिपुरमा मेरो बसाई थियो, फाल्गुन ३ गते, उपत्यका बन्दको दिन हिडेर चन्द्रागिरिसम्म पुगेको र हिउमा चिप्लिएको मेरो मस्तिष्कमा ताजै छ | त्यसको ३ बर्ष पछि गत बर्ष आफैसंग साक्षात थियो थेगी नसक्नुको हिउ; र अघिल्लो बर्षको अनुभबलाई बिर्साउदै, यो बर्ष झन् धेरै हिउसंग साक्षात भए | समयको बहाबसंगै बग्दै जादा र जिन्दगीका कान्लाहरु चढ़दै जादा, ''यी सबै त आउदै जादै गर्छन'' बाबा भन्ने गर्नु हुन्थ्यो; म बाबालाई सम्झन पुग्छु | मेरा सम्झनाका शृंखलाहरु अकस्मात आछाम र जाजरकोटका डाडा तिर पुगेर अल्झिन्छन, बाबा यतिबेला त्यतै हुनुन्छ, पछिल्लो पटक उहासंग झन्डै २ महिना अघाडि कुरा भएको थियो | बाबा, २०६४ सालमा जिरी पुग्दा यस्तै मनका अभिलाषाहरु मध्यको एक, आकाशमा कबास झैँ उड्ने, निर्मल, कन्चन हिउका बुद्हरुसंग पहिलो पटक साक्षात हुनु भएको थियो रे; जिरीबाट फर्किएर काठमाडौँ आए पछि भन्दै हुनुहुन्थ्यो, यो भन्दा पहिले पहिले हिउले पुरिएर सेताम्मे भएका डाडाहरु त देखेको थिए तर आकाशबाट परिरहेको यति धेरै हिउसंग साक्षात भएको यो पहिलो पटक हो | उहाले यो भन्नुहुदा मैले उहाको मुहारमा एउटा बेग्लै किसिमको उत्साह देखेको थिए |

तर हिउ सधै उत्साहाप्रद नहुन पनि सक्छ । म एक पटक हजुरआमालाई सम्झन पुग्छु; घर बाहिरको खाटमा बसेर धागो काटदै हुनुहोला अनि यो पुषको जाडोमा उहाँले पक्कै यो कबिताका हरफहरु गुनगुनाउनु भएको हुनुपर्छ;

मैना माघ थियो बिहानी पखमा हावा चलेको थियो,
छानामा पथमा तथा चउरमा चिनी छरेझैँ थियो,
जाडो खुब थियो समस्त जगतमा ऐना जमेझैँ थियो,
कामयो लुगलुग गरिब बिचरा त्यसमा दया गर्छ को?

मैले यो कविता सम्झीरहदा भने आंग सिरिङ्ग भएर आउछ | घरबार बिहिनहरुको जिन्दगी सम्झन्छु; मन भित्र कहालीलाग्दो बादल मडारिए जस्तो हुन्छ, एक्सासी मन भित्रको परिवेश चिच्याहट लाग्दो भै डरलाग्दो देखिन्छ | मनको डर बिस्तारै बाहिर आए जस्तै लाग्छ, मेरा हातहरु काम्न थाल्छ; म आफ्ना हातहरु हेर्न थाल्छु, मेरा हातहरु कामीरहेछ, मेरो हात जाडोले कामको हो या मन भित्रको डरले कामेको हो म थाहा पाउदिन | हातलाई सेन्ट्रल हिटिंगको टिनको पातामा छुवाएर राख्छु, केही मथ्थर हुन्छ, मन पनि केही छिनका लागि शान्त हुन्छ |

अस्थिर मनको सोच बदल्न खोज्छु; त्यसैले कुर्चीबाट उठेर खाटमा रहेको ल्यापटप समात्छु; फेसबुकमा एउटा भाईले उता काठमाडौँबाट म्यासेज गरेको रहेछ, दाई तपाई किन हो कहिल्यै पनि अनलाइन भएर नबस्ने? मसंग जबाफ थिएन, यो मेरो बानी जस्तै भै सकेको थियो; म आफ्नो बानी अरुका लागि बदलौ या आफ्नै लागि बदलौ?? अह मसंग फेरी जबाफ थिएन | यसै बिचमा एक जना मित्र ले फेसबुकमा आफ्नु स्ट्याटस अपडेट गरे ''हैन यसपाली कति जाडो हो, काठमाडौँमै हिउ पर्छ कि क्या हो?'' म प्रतिक्रिया बिहिन थिए | अर्को एकजना यूरोप तिरै रहेका मित्रले आफ्नो स्ट्याटसमा लेखे ''एक झर बाक्लो हिउ पर्यो र धर्तिलाई कुरूप बनाएर गयो |'' सबैको आ-आफ्नै विचार हो, मैले चुपचाप त्यो स्ट्याटसलाई लाइक गरे र त्यो फेसबुकको पानोलाई एकछिन बन्द गरिदिए |

ल्यापटपलाई खाटमै छोडी म फेरी कुर्चीमा आएर बसे, पहिलेको जस्तै अवस्थामा | फेरी झ्यालबाट बाहिर हेरे, एउटा पात झरेर खंग्रंग परेको रुखमा एक जोडी परेवा दुइटा छुट्टा छुट्टै हाँगाम बसेर एक अर्कालाई हेर्दै थिए; बाहिर चिसो स्याठ चलीरहेको भित्रैबाट पनि प्रस्ट हुन्थ्यो | ति रुखमा बस्ने ति चराहरु कत्तिको जाडो महसुस गर्दा हुन् भन्ने लागिरह्यो, त्यही रुखको अलिक माथिको हाँगामा एउटा अर्को परेवा एक्लै बसिरहेको थियो, उ आफ्नो जोडी परेवालाई कतै खोज्दै थियो; मलाई कताकता यस्तै लाग्यो | तर अपसोच चारैतिर सेताम्मे हिउ मात्र देखिन्थे, यहाँ  मान्छेलाई त हेर्न यति गाह्रो भएको छ भने बिचरा ति अबोध पंक्षीहरुलाई हेर्न कति गाह्रो भएको होला | त्यो पंक्षीको एक्लोपन, मलाई मेरो आफ्नो एक्लोपन जस्तै लाग्यो; त्यो पंक्षीको एक्लोपनलाई त्यति बेला जमिनको चिसो हिउले पनि पोलिरहे जस्तै लाग्यो; मैले जमिनको सेता हिउसंगै अकस्मात मेरो आफ्नै कविताका केही हरफहरु सम्झिय,

तर, बर्षौ पछि,
आज म एक्लै हुदा,
तिम्रो अभावमा,
मेरो एक्लोपनमा,
जलिरहेछ हिउ,
अनि मलाई पोलिरहेछ,
यो हिउदको हिउ,,,,,,,,,,|
(....यो कबिता पुरा पढ्न यहाँ क्लिक गर्नुहोस....)

म तिनै कविताका हरफहरु गुनगुनाउदै कुर्चीबाट उठे, चार्जमा राखिराखेको मोबाइलमा एस. एम. एस. आएको टोन बजेको थियो | मोबाइल समाउदै फेरी कुर्चीमै आएर बसे, एक जना मित्रले म्यारिज खेल्न निम्तो पठाएका रहेछन | अह मुड छैन, आफैसंग कुरा गरे, तैपनि एक छिन विचार गरे, भद्रगोल जिन्दगीका गर्न बाकी कयौ कामहरुलाई एकसाथ सम्झे, एउटा साइज नमिलिराखेको कपडा साट्न जानु पर्ने थियो, त्यस्तै एउटा जिउ सेक्ने तातोपानीको झोला पनि दुई जनाले आ-आफ्नो सुरमा एक-एक वटा किनेछौ, एउटा फिर्ता गर्न जानु थियो, त्यस्तै केही चिट्ठी पनि पोष्ट गर्नु पर्ने थियो, अनि भर्खर भर्खर मात्रै नया कोठामा कुम्लो काम्लो बोकेर आएको, केही एक दुई ठाउँमा ठेगाना बदलिएको जानकारी गराउन पनि जानु थियो | बेरंगी जिन्दगीका अनेकन रंग समझदा दिक्क लागेर आयो; अनि साथीलाई एस. एम. एस.को रिप्लाई गरे 'सरि, म आउना नसक्ने भए' भनेर |

मेरो घर नजिकैको बाटो हुदै उ पर ब्रिमिंगहमसम्म जान आएको ट्रेनको आवाजले मेरो एक्काग्रतालाई भङ्ग गरिदियो, र सायद उ उसैसंग मेरो मन भित्रको मौनतालाई लिएर ब्रिमिंगहम तिर लाग्यो | म कुर्चीबाट उठे र  एक निणर्यमा पुगे, मेरा जिन्दगीका यी चिसा रंगहरु बदलिनु पर्छ, हो! बदलिनु पर्छ | मनका हजारौ अनुन्यायिहरुले मन भित्रैबाट समर्थनको जहेरी ब्यक्त गर्दछन; एक्कासी मन भित्र उल्लासपूर्ण बातावरण तयार हुन्छ | म पनि मनको उल्लासमा रमाउन खोज्छु; र कुर्चीबाट उठेर एक कप कफी बनाएर खाने निणर्य गर्छु | एक कप ब्ल्याक स्ट्रोङ कफी | एक कप ब्ल्याक स्ट्रोङ कफी, के मेरो जिन्दगीको चिसा रङहरुलाई बदल्न सक्षम होला त?? एक कप ब्ल्याक स्ट्रोङ कफी, के मेरो जिन्दगीमा तातो उत्साह भर्न सफल होला त??

अबश्य!
अबश्य!!


म मनलाई आश्वास्त बनाउदै किचन तिर लाग्छु.........|


Ajaya Dhungana
26th Dec. 2010
London

No comments: