Sunday, March 20, 2011

गजल (११३); अजय ढुंगाना

गजल


चाँद टिपेर तिम्रो शिरमा लगाउन सकिन,
सबको सामु, तिमी मेरो भनेर जनाउन सकिन,

एकान्तमा टोलाउदै, पलपल सपनामा हराउदै,
कति गर्छु माया तिमीलाई बुझाउन सकिन,

मेरो स्मृतीमा त केबल तिमीमात्र हुन्छ्यौं सधै,
सायद म नै तिम्रो त्यो सपनीमा आउन सकिन,

म प्रेममा हराउदै थिए, गदै तिमीलाई माया,
निश्छल प्रेम तिमीसंग मैले लुकाउन सकिन,

तिमी मनमा छ्यौं, मुटुमा छ्यौं, आँखामा छ्यौं,
तर मैले तिमीलाई यो घरमा सजाउन सकिन ।

अजय ढुंगाना

२००६ जनवरी 
पिठुवा चितवन

Thursday, March 17, 2011

गजल (११२) अजय ढुंगाना

गजल


मेरो शिरमा आज आकाश छैन कहाँ गयो ?
आफैसंग मलाई विश्वास छैन कहाँ गयो ?

निल गगनका ताराहरु छैनन् हिजो जस्तै आज,
चमकताको तिनमा आभाष छैन कहाँ गयो ?

पाना पल्टाई सोच्ने गर्थे म विगतका कुराहरु
मसंग गैरवशाली इतिहास छैन कहाँ गयो ?

निष्पट्ट अन्ध्यारो छ मैले देख्ने चैघेरामा,
शुभ प्रभातमा सुनौलो प्रकाश छैन कहाँ गयो ?

अजय ढुंगाना

Monday, March 14, 2011

गजल (१११); अजय ढुंगाना


गजल

कस्तो अनौठो शुन्यता जीवनको,
बिराएछु बाटो कता जीवनको,

पर्खाई असजिलो, कमजोर मनमा,
सहदैछु कठोर व्यग्रता जीवनको,

मनको ज्वालाले पोल्दछ मुटु,
हुदैन किन शितलता जीवनको,

पलहरु खुशीका भाग्दैछन् दुर,
किन बढ्दैछ बिबशता जीवनको,

देख्दैछु घृणित रुप, तुच्छ कुरूप,
बाकी छ केवल नग्नता जीवनको |



अजय ढुंगाना
१३/०३/२०११
लण्डन

Friday, March 11, 2011

बीपी कोइरालासँग (कविता); जगदीश घिमिरे


बीपी कोइरालासँग

एक वार्ता

तपाईले भत्रु भएको थियो —
‘तिमीलाई दुविधा भयो भने
हत्केलामा नेपालको एक मुठी माटो उचालेर सोध
उसले जे भन्छ
त्यही तिम्रो अन्तरात्माको आवाज हुन्छ ।’

म त्यो वाचाल माटो खोज्दै नयाँ नेपालभरि डुलेँ
कतै पनि सिंगो नेपालको माटो पाइन
समस्त नेपालको माटो विभक्त भएछ
जाति जातिको चकलावन्दीमा

ती चकलाबन्द माटोहरु — जो एकअर्कासंग वोल्दैनन्
जो एकअर्काको कुरा र मर्का बुझ्न चाँहदैनन्
ती प्रत्येक चकलाको माटो ढोगेर हत्केलामा उचाल्दै सोधेँ
सबैले केही भने — कसैले भनेको बुझिन

नयाँ नेपालमा जो कुनै जातिको हुँदैन
जो कुनै चकलाको हुँदैन
त्यो नेपाली हुँदैन 

Wednesday, March 9, 2011

कथा; विश्वेश्वरप्रसाद कोइराला


कथा

धेरै पुरानो कथा हो। त्यस युगको कथा हो जब यो पृथ्वीका मानिस देवलोकका देवतासँग प्रतिद्वन्द्विता गर्थे। देवताहरु पनि दानवसँग युद्धमा पराजित हुने भयले पृथ्वीमा अवतरण गर्थे र कहिले दधीचिको हाड मागी औ कहिले दशरथसँग सहायताको प्रार्थना गरी विजयन्मुख दानवलाई परास्त गर्न समर्थवान् हुन्थे। आजकालका ब्राह्मणहरुजस्ता ती देवताहरू पनि उच्च पदमा आफूलाई आरूढ पारिराख्न आफूभन्दा साना जातिका मनुष्यको कुनै प्रकारको पनि सहायता लिन सङ्कोच मान्दैनथे, तर जब तिनै मनुष्य तपस्याद्वारा देवपदमा पुग्ने सुप्रयत्न गर्थे, देवताहरुको निम्ति यो असह्य हुन्थ्यो। त्यसो हुनाले देवताहरु सांसारिक मोह-मायालाई त्याग गरेर घोर जङ्गलमा तपस्या गर्न गएका ऋषिहरुको तपस्या भङ्ग गर्न नाना उपाय गर्थे। तिनको सबभन्दा सफल उपाय थियो अप्सरालाई पठाई ऋषिहरुको तप्सयामा बाधा उपस्थित गराउनु। तिनैताक एउटा मनुष्य यथार्थ ज्ञान प्राप्त गर्न, जुन ज्ञानले देवपद प्राप्त गर्न सकिन्थ्यो, जङ्गल पसे। उनको विश्वास थियो समाजको प्राणी भएर ज्ञान प्राप्त गर्न सकिंदैन। आमा-बाबुको स्नेहको बन्धन र प्रियाको प्रेमबन्धन, मित्रको सौहार्द, समाजका कर्तव्य इत्यादि आत्मोन्नतिका बाधक हुन्। निर्जन स्थानमा मनुष्यसमाजका सारा बन्धनलाई छिनालेर तिनी तपस्या गर्न लागे। जङ्गलका कन्दमूल र कुटीनेरको सानो नदीको स्वच्छ जलले क्षुधा र पिपासा शान्त गरेर सारा समय तिनी समाधिमा लीन हुन्थे। समाधिमा बसेका बखतमा हिंस्रक पशु आफ्नो नृशंसतालाई बिर्सेर यिनलाई घेरेर बस्थे। मृगशावकहरु ऋषिसँग आफ्नो घनिष्टता प्रकट गर्न सिंह, बाघ, भालुका समुदाय ठेल्दै ऋषिसँग टाँसिन पुग्थे। तपोभूमिको शान्ति भङ्ग होला भन्ने आशंकाले बाघहरु आफ्नो टाउको तलसम्म निहुराएर बिस्तारै हिँड्थे; मृग र खरायोहरु मात्र निर्भय भएर बुर्लुक्क-बुर्लुक्क उफ्रन्थे। नदीको कलकल ध्वनि त्यहाँको शान्तिमा गम्भीरता थपिदिन्थे। चराचुरुङ्गीको कलरवमा संगीतको मधुरता हुन्थ्यो।

नदीको दाहिने किनारामा विशाल वृक्षहरुले घेरिएको एउटा सानो स्वच्छ स्थान थियो, त्यहीं ती ऋषिको कुटी थियो। ईश्वरसँग साक्षात् गर्न यदि कुनै स्थान उपयुक्त थियो भने त्यही स्थान थियो।

तिनको तपस्याको प्रथम कार्य थियो आफ्नो शरीरको आफूमाथिको शासनलाई निर्मूल पार्नु, त्यसपछि मनमाथि विजय पाउनु र अन्त्यमा आत्मालाई ईश्वरमा लीन पार्नु। शरीरमाथि विजय पाउन उनले आफूलाई नाना प्रकारका कष्ट दिए, वैशाखमा सप्ताग्नि बालेर बसे, माघमा नदीमा घाँटीसम्म पानीमा डुबेर बसे। भोजन घटाएर अनेक दिन निराहार बस्न सक्ने भए। भोक, तिर्खा, शीतोष्णको बन्धनबाट मुक्त भएर उनी समाधिमा बस्न थाले। बिस्तार-बिस्तार गर्दागर्दै तिनी महिनौं समाधिमा लीन हुन सक्ने भए।

गजल (१) केशबराज आमोदी


गजल
झनझन बज्दछ प्रीतिको तार अझ बन्धन भो झनझन
छनछन चुरा छिनछिन बज्दा कायल मन भो झनझन ।
फनफन चंगा क्षितिजमा हेर ! चुड्छ कि प्रेमको धागो
मनमन शंका बादल लाग्दा वन जीवन भो झनझन ।
तनतन सोझै रुप पिऊँ झै ठान्दछ मनले नित्य
घनघन मादल मृदु घन्किन्छ पुलकित तन भो झनझन ।
फनफन भुमरी चक्र घुमेझैँ सारा जीवन घुम्दा
मनमन मन्दिरतिर भुल्दा पो पिरती धन भो झनझन ।
किनकिन मुटुको घाउ फुटे झैँ छाती बल्किन थाल्दा
जिन्दगी रुनु नै कर्म हो भन्ने मन-मनन भो झनझन ।

Friday, March 4, 2011

लाइफ इज ब्युटीफुल ! (कथा); भाउपन्थी

 लाइफ इज ब्युटीफुल !


नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र कम खाऊ, कम खर्च गर भन्ने सिद्धान्त हामीले प्रतिपादन गरेका छौँ । बिहे भएको तीन वर्ष भइसक्यो तर हामीले सन्तानोत्पत्तिबारे अझै विचार गर्न सकेका छैनौँ, राधाको पहिलो गर्भ खेर गएपछि । काखमा बच्चा खेलाउने रहर रहरमै सीमित गरेर बसेकी छ राधा, मेरी श्रीमती । वास्तविक कुरो उसले थाहा पाएकी छैन । मनको भ्रम निवारण गर्न कन्डोमसन्डोम, पिलसिल छोडेर उसले लामो अवधिसम्म गर्भ रोक्ने कपर टी हो कि के हो लगाएकी छ । आर्थिक अवस्था केही सुध्रेपछि पहिलो गर्भ धारण गर्ने हाम्रो योजना छ तर जागिरको प्रमोसनबिना यो सम्भव शून्य छ । प्रमोसनका लागि म बरोबर धाउने गरेको छु हाकिमको क्वार्टरमा र मन्त्रीहरू जिल्ला भ्रमणमा आउँदा पनि पुच्छर हल्लाएर पछिपछि हिँड्ने गरेको छु तर हात लाग्यो शून्य भइरहेछ । बिहे भएको साल राधाले सोचविचार, सल्लाहसहमति र जोसका साथ पहिलो गर्भ धारण गरेकी त हो तर त्यो समय नपुग्दै खेर गयो र ऊ मरणान्त बिरामी परी । बिरामीले केही ऋण पनि बोकाएर गयो भने अर्को गर्भधारण एक वर्षसम्म नगर्नू भन्ने डाक्टरी चेतावनीले पनि हामीलाई गर्भप्रति अनुत्सुक बनायो । एक वर्षसम्म गर्भ धारण नगर्नू भन्ने चेतावनी मैले डाक्टरको पाउ पक्रेर भन्न अनुरोध गरेको हुँ । यथार्थ थाहा पाएको भए राधा पूरै चकनाचूर भएर मानसिक रूपमा क्षतविक्षत हुने थिई ।