Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Sunday, December 30, 2012

जेपीटी कथा अंक १

जेपीटी कथा अंक १

चिकेन बारबीक्यु पिज्जा टोक्दै थिए, अकस्मात फोनको घन्टी बज्यो |
                   -----------------0-----------------------
कथाको सुत्रधार म नै हूँ र एउटा प्रमुख पात्र पनि, बीचबीचमा अड्मिल्दा कुरा गर्ने र अनपेक्षित गति लिन खोज्ने पनि मै हूँ |
                                   -----------------0-----------------------
ओहो!! फोन उठाउन ढिला भैसक्यो | स्टिभ जब्सको उत्पादनमा उनले ठिक ठानेको डिफल्ट धुन कोठा भरि बहकिदै थियो, फोन गर्नेका अंक नयाँ थिए | एकछिन है | अंकहरु नयाँ हुन सक्दैनन् कि भन्ने कुरा झट्ट माइन्डमा स्ट्राइक गर्यो | अंकहरु नयाँ त कसरि हुन सक्छन र नि, यी अंकहरु यही क्रममा फोनको कुनै कुनामा सुरक्षित गरिएका थिएनन त्यो बेग्लै कुरा, त्यति नहुदैमा ति अंकहरु नयाँ हुन सक्दैनन् नौला होलान बरु | सोच्दा सोच्दै त्यो डिफल्ट धुन टुंगियो, कोठामा पुरानै सन्नाटा छायो | तर त्यो केहि सेकेन्डका लागि मात्र थिए | फेरी उही अंकहरु त्यहि क्रमबद्दतामा दोहोरिएर देखा परे मोबाइलको स्क्रिनमा | यो पटक भने त्यो धुन सक्किनु भन्दा अघि नै फोन उठाए र भने "हेल्लो"
उताबाट आवाज आयो-"ओहो!! अजय, कति बेर लागेको फोन उठाउन ?"
उताबाट नामै किटेर प्रश्न तेर्सियो | तर आवाज चिनिहाले त्यो सक्षमको आवाज थियो |

Tuesday, July 3, 2012

नमिठो सपना (कथा)


नमिठो सपना (कथा)

परदेशको बसाईमा बिक्रम मेरो काममा परिचित मित्र थियो | उमेर २८-२९ बर्षको मात्रै भए पनि कपाल मज्जैले झरेकाले उ अलि उमेर खा'कै मान्छे जस्तो देखिन्थ्यो | होचो होचो तर हसिलो मुहारको उ पनि म जस्तै बिद्यार्थी भिषामा यहाँ आएको थियो | तर बिद्यार्थी भिषामा आएको भए पनि उसको एक मात्र उदेश्य पैसा कमाउनु थियो, त्यसैले एकदमै सस्तो एउटा कलेजमा भर्ना भएको थियो | उ फुर्सद भएमा मुस्किलले सेमेस्टरमा एक दिन कलेज जान्थ्यो तर परिक्षामा भने सधै सामेल हुन्थ्यो, अहिलेसम्म कति वटा बिषयमा उत्तिण भएको छ, उ स्वंमलाई थाहा थिएन | तैपनि एक हिसाबले उसले आफ्नो विदेश बसाईको उदेश्य तय गरेको थियो, पैसा कमाउनु |

एक दिन काममा अर्को एक जना नेपाली साथीबाट थाहा पाँए, बिक्रमको झन्डै एक डेढ महिना अगाडि छोरा भएको रहेछ | म पार्ट टाइम काम गर्थे, त्यसैले बिक्रमसंग मेरो भेट आक्कल झुक्कल मात्रै हुने गर्थ्यो, त्यसैले अन्तरंग कुराकानी पनि कहिल्यै हुन पाएको थिएन तर पनि बिक्रमकी श्रीमती यही छिन भन्ने त् मलाई पहिले नै थाहा थियो | यो खबर सुनेको भोलिपल्ट मैले बिक्रमलाई फोन गरे, उसलाई बधाई दिए, मलाई थाहा नदिएको भनेर रिसाए पनि र अन्त्यमा त्यसको केहि दिनपछि उसको छोरालाई हेर्न आउने बनेर प्रतिबद्धता जनाए | त्यसको एक साता पछि श्रीमती र म उसको घर जाने भयौ, गाडीमा झन्डै एक घण्टाको यात्रा पछि उसको घर पुगियो | म उसको घर पहिलो पटक गएको थिए | उसले दिएको पोस्ट कोड र घर नम्बरका आधारमा घर पत्ता लगाउन गाह्रो भएन | उसलाई भेटे, उसको श्रीमतीलाई पहिलो पटक भेटे अनि उसको घरको नब-आगन्तुक छोरालाई पनि, मेरी श्रीमतीसंग पनि उनीहरुको परिचय भयो | केही रमाइलो कुराकानी भयो | तर म आफै भित्र अचम्म लाग्दो कुरा के भयो भने, मैले बिक्रमकी श्रीमती अर्थात् उनको नाम रश्मि रहेछ, उनलाई कतै देखे जस्तो लाग्यो, तर कहिले कहाँ केही कुरा यकिन गर्न सकिन, त्यसैले उनलाई पनि केही कुरा सोधिन, हामी त्यहाँबाट त्यतिकै फर्कियौ, तर मनमा कुरा खेलीरह्यो कहाँ देखेको हूँ भनेर |

Wednesday, March 9, 2011

कथा; विश्वेश्वरप्रसाद कोइराला


कथा

धेरै पुरानो कथा हो। त्यस युगको कथा हो जब यो पृथ्वीका मानिस देवलोकका देवतासँग प्रतिद्वन्द्विता गर्थे। देवताहरु पनि दानवसँग युद्धमा पराजित हुने भयले पृथ्वीमा अवतरण गर्थे र कहिले दधीचिको हाड मागी औ कहिले दशरथसँग सहायताको प्रार्थना गरी विजयन्मुख दानवलाई परास्त गर्न समर्थवान् हुन्थे। आजकालका ब्राह्मणहरुजस्ता ती देवताहरू पनि उच्च पदमा आफूलाई आरूढ पारिराख्न आफूभन्दा साना जातिका मनुष्यको कुनै प्रकारको पनि सहायता लिन सङ्कोच मान्दैनथे, तर जब तिनै मनुष्य तपस्याद्वारा देवपदमा पुग्ने सुप्रयत्न गर्थे, देवताहरुको निम्ति यो असह्य हुन्थ्यो। त्यसो हुनाले देवताहरु सांसारिक मोह-मायालाई त्याग गरेर घोर जङ्गलमा तपस्या गर्न गएका ऋषिहरुको तपस्या भङ्ग गर्न नाना उपाय गर्थे। तिनको सबभन्दा सफल उपाय थियो अप्सरालाई पठाई ऋषिहरुको तप्सयामा बाधा उपस्थित गराउनु। तिनैताक एउटा मनुष्य यथार्थ ज्ञान प्राप्त गर्न, जुन ज्ञानले देवपद प्राप्त गर्न सकिन्थ्यो, जङ्गल पसे। उनको विश्वास थियो समाजको प्राणी भएर ज्ञान प्राप्त गर्न सकिंदैन। आमा-बाबुको स्नेहको बन्धन र प्रियाको प्रेमबन्धन, मित्रको सौहार्द, समाजका कर्तव्य इत्यादि आत्मोन्नतिका बाधक हुन्। निर्जन स्थानमा मनुष्यसमाजका सारा बन्धनलाई छिनालेर तिनी तपस्या गर्न लागे। जङ्गलका कन्दमूल र कुटीनेरको सानो नदीको स्वच्छ जलले क्षुधा र पिपासा शान्त गरेर सारा समय तिनी समाधिमा लीन हुन्थे। समाधिमा बसेका बखतमा हिंस्रक पशु आफ्नो नृशंसतालाई बिर्सेर यिनलाई घेरेर बस्थे। मृगशावकहरु ऋषिसँग आफ्नो घनिष्टता प्रकट गर्न सिंह, बाघ, भालुका समुदाय ठेल्दै ऋषिसँग टाँसिन पुग्थे। तपोभूमिको शान्ति भङ्ग होला भन्ने आशंकाले बाघहरु आफ्नो टाउको तलसम्म निहुराएर बिस्तारै हिँड्थे; मृग र खरायोहरु मात्र निर्भय भएर बुर्लुक्क-बुर्लुक्क उफ्रन्थे। नदीको कलकल ध्वनि त्यहाँको शान्तिमा गम्भीरता थपिदिन्थे। चराचुरुङ्गीको कलरवमा संगीतको मधुरता हुन्थ्यो।

नदीको दाहिने किनारामा विशाल वृक्षहरुले घेरिएको एउटा सानो स्वच्छ स्थान थियो, त्यहीं ती ऋषिको कुटी थियो। ईश्वरसँग साक्षात् गर्न यदि कुनै स्थान उपयुक्त थियो भने त्यही स्थान थियो।

तिनको तपस्याको प्रथम कार्य थियो आफ्नो शरीरको आफूमाथिको शासनलाई निर्मूल पार्नु, त्यसपछि मनमाथि विजय पाउनु र अन्त्यमा आत्मालाई ईश्वरमा लीन पार्नु। शरीरमाथि विजय पाउन उनले आफूलाई नाना प्रकारका कष्ट दिए, वैशाखमा सप्ताग्नि बालेर बसे, माघमा नदीमा घाँटीसम्म पानीमा डुबेर बसे। भोजन घटाएर अनेक दिन निराहार बस्न सक्ने भए। भोक, तिर्खा, शीतोष्णको बन्धनबाट मुक्त भएर उनी समाधिमा बस्न थाले। बिस्तार-बिस्तार गर्दागर्दै तिनी महिनौं समाधिमा लीन हुन सक्ने भए।

Friday, March 4, 2011

लाइफ इज ब्युटीफुल ! (कथा); भाउपन्थी

 लाइफ इज ब्युटीफुल !


नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र कम खाऊ, कम खर्च गर भन्ने सिद्धान्त हामीले प्रतिपादन गरेका छौँ । बिहे भएको तीन वर्ष भइसक्यो तर हामीले सन्तानोत्पत्तिबारे अझै विचार गर्न सकेका छैनौँ, राधाको पहिलो गर्भ खेर गएपछि । काखमा बच्चा खेलाउने रहर रहरमै सीमित गरेर बसेकी छ राधा, मेरी श्रीमती । वास्तविक कुरो उसले थाहा पाएकी छैन । मनको भ्रम निवारण गर्न कन्डोमसन्डोम, पिलसिल छोडेर उसले लामो अवधिसम्म गर्भ रोक्ने कपर टी हो कि के हो लगाएकी छ । आर्थिक अवस्था केही सुध्रेपछि पहिलो गर्भ धारण गर्ने हाम्रो योजना छ तर जागिरको प्रमोसनबिना यो सम्भव शून्य छ । प्रमोसनका लागि म बरोबर धाउने गरेको छु हाकिमको क्वार्टरमा र मन्त्रीहरू जिल्ला भ्रमणमा आउँदा पनि पुच्छर हल्लाएर पछिपछि हिँड्ने गरेको छु तर हात लाग्यो शून्य भइरहेछ । बिहे भएको साल राधाले सोचविचार, सल्लाहसहमति र जोसका साथ पहिलो गर्भ धारण गरेकी त हो तर त्यो समय नपुग्दै खेर गयो र ऊ मरणान्त बिरामी परी । बिरामीले केही ऋण पनि बोकाएर गयो भने अर्को गर्भधारण एक वर्षसम्म नगर्नू भन्ने डाक्टरी चेतावनीले पनि हामीलाई गर्भप्रति अनुत्सुक बनायो । एक वर्षसम्म गर्भ धारण नगर्नू भन्ने चेतावनी मैले डाक्टरको पाउ पक्रेर भन्न अनुरोध गरेको हुँ । यथार्थ थाहा पाएको भए राधा पूरै चकनाचूर भएर मानसिक रूपमा क्षतविक्षत हुने थिई ।

Tuesday, February 1, 2011

जल्दो मैनवत्ति (लघुकथा); अजय ढुंगाना


जल्दो मैनवत्ति (लघुकथा)

धेरै दिन पछी, म आज यहाँ आएको परिवर्तनलाई अनुभुत गर्न खोज्दै थिए । म, मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिए । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झै लाग्छ, मेरो वर्तमानले । म आखा चिम्लिएर ति दिनहरुलाई बिर्षन खोज्थे, तर अपशोच म आफ्नो बिगतबाट टाढा भाग्नै सक्दिनथे ।

खुल्ला आकाशमा अल्झिएका एक दुइ टुक्रा वादललाई नियाल्दै म सोचिरहेछु स मेरो हातमा मैले बुन्दै गरेको निलो रंगको स्विटर छ । मलाई निलो रंग मनपरेको छैन र पनि धागो बदल्नलाई यहाँ आएको परिवर्तन सामर्थ्यवान् छैन ।

विस्तारै साँझ ढल्न खोज्दै थियो, परबाट आएको घोडाको टापको आवाज मेरो अँागनीमा आएर रोकियो । आज निक्कै दिन पछी यो क्रम दोहोरिएको थियो । मैले झयालबाट तल हेरं, मेरो मुहारमा निशब्धता, मौनता र शान्त मुस्कान एकै साथ छायो । आज पनि रात काट्नलाई मैनवत्ति बाल्नुपर्ने थियो, सायद त्यसैले त्यही रित दोहोरियो, त्यही द्घन्द चर्कियो ऊ र म बिच, जुन मैले बिगतमा कयै पटक भोगेको छु, अन्ततः आफ्नो हार उसैलाई र्समर्पण गरेको छु । शान्त, सुभ्र, स्निग्ध मैनवत्ति जलिरहेछ तर अवाक भएर मलाई हेरिरहेछ ।

मैले मनमनै महसुस गरं स्विटर बुन्नलाई अब धागो बदल्न त सकिएला तर यहाँ आएको परिवर्तन मेरो जिन्दगीको परिभाषालाई बदल्न अंह, सामर्थ्यवान् रहेनछ । मैनवत्ति जलिरहेथ्यो बिस्तारै त्यसका शिखाहरु, मैनवत्तिको टुप्पोबाट तल झरिरहेथे तप्प, तप्प.......

अजय ढुंगाना

मा २००७/०५/०२ मा प्रकाशित
नोभेम्बेर २३, २०१० मा अभिनव.कममा  प्रकाशित

Saturday, January 8, 2011

घर ११, (कथा); परशु प्रधान

घर ११

पत्र-पत्रिकामा निस्केका महत्त्वपूर्ण समाचार वा विचारलाई म कटिङ गरेर फाइलमा राख्छु । अनि कहिलेकाहीँ जब बोर लाग्छ- म ती कटिङहरूलाई पल्टाउँछु । एक किसिमले यो मेरो हबी नै हो । कुनै राम्रा कविता, गीत वा कथा हुन सक्छन् । कुनै महत्त्वपूर्ण घटना, दुर्घटना वा नेताका भाषण-सन्देश हुन सक्छन् । कहिलेकाहीँ कुनै अनौठा विषय वा घटना पनि हुन सक्छन् । अर्थात् मेरा यी कटिङहरूमा दृष्टिहरू छन्, विविध रङहरू छन्, छायाँहरू छन् । समाज, कृषि, साहित्य-सङ्गीत र कला आदि सबै धेर-थोर मेरो फाइलभित्र, मभित्र अटाएका छन् । एक किसिमले म इतिहासको साक्षी छु, परिवर्तनको प्रतीक छु र दर्शनको प्रमाण छु ।
म के छु वा छुईनभन्दा पनि हिजो राति अचानक मैले त्यो फाइल पल्टाएँ । फाइलभित्रका कटिङहरूमा क्रमशः आँखा लगाउन थालेँ । निद्रा न आउँदा धेरै जसो यसरी नै निद्रा देवीलाई आहृवान गर्छु । यी कटिङहरू हेर्दै जाँदा कुनै दैनिक पत्रिकाको यौटा कटिङमा पुगेर म अल्झिएँ । त्यहाँ एउटी रूँदै गरेकी पीडित महिलाको तस्बिर थियो र त्यसको क्याप्सन थियो- घटना थाहा पाएपछि पनि श्रीमतीलाई पहिला जत्ति नै माया गर्छु । म त्यहाँ पुगेर अडिनुका दुईर् कारण थिए- यसमा दिइएको दर्दपूर्ण तस्बिरसहितका यी हरफहरू र प्रभावकारी शीर्षक-बलात्कारपछि दुई वर्षसम्म यौनशोषण । पत्रकारिताको दृष्टिले त्यो अत्यन्त राम्रो फिचर वा रिपोर्टिङ थियो । त्यसका अन्तिम हरफहरूले म साह्रै प्रभावित भएँ, मुटुमा ढुङ्गा बसे जस्तो भएँ, रन्थनिएँ । पहिलोपटक पढ्दा पनि म रातभरि छटपटाएको थिएँ, रातभरि निद्रा परेको थिएन । मेरा धेरै रातहरू ती हरफहरूमा साटिएका थिए किनभने पीडितका श्रीमान्, एक जना लोग्ने मान्छेमा म स्वयं रूपान्तरित भएको थिएँ । मलाई लाग्छ- यौटा सत्य-तथ्य घटनालाई समाजमा ल्याइदिएर त्यो लोग्नेमान्छे आफू त हलुङ्गो भयो होला तर मजस्ता लाखौँ लोग्नेमान्छेलाई उसले सोच्न, सम्झन सचेत गरायो । मैले ती अन्तिम हरफहरूलाई धेरै पटक पढेँ 'उसले परिवारलाई बदनामीबाट बचाउन यति ठूलो पीडा सहेकी रहिछ, म उसलाई पहिले जति माया गर्थें वास्तविकता थाहा पाएपछि पनि उत्तिकै माया गर्छु, उसलाई अदालतसम्म न्याय दिलाउन सहयोग गर्नेछु ।'

Friday, January 7, 2011

घर ९; परशु प्रधान

घर ९

जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै नाटक वा सिनेमामा घट्ने, हुन सक्ने सम्भावित असम्भव स्वयं ममा घट्यो ।
अहिले फेरि अमेरिका फर्केको छु । लसएञ्जलस्को नाइट क्लबमा पुनः बेयरा भएर आफ्नो विगत, वर्तमान र भविष्य तौलिरहेछु । वर्षौं वर्ष सोचेको, सम्झेका र विश्वास गरिएका सत्यहरू केही घण्टामा असत्यमा रूपान्तर हुँदा रहेछन् । आफूलाई सोध्छु- तैंले कङ्गाल नेपाललाई प्रेम गरेर के पाइस् ? नेपालीहरूको पीडालाई मलम लगाउन खोज्दा के पाइस् ?....

। तँ मूर्ख होस् अझ तँ पागल होस् ।
कामबाट राति दुई बजे फर्केको छु । अलिअलि बियरको धङधङी छ, अलिअलि भोलिको धङधङी छ, अनि धेरथोर आफूले भोग्नु परेको दुर्घटनाको धङधङी छ । यी सत्यहरूबीच असत्य छ, भ्रमहरूबीच निराशा छ । हात हेरेर कुनै ज्योतिषीले गरेको भविष्यवाणी सत्य हुन्छ कि कसो ? पहिलो वाक्य थियो- बिहेको लगन ढिलै छ, अर्थात् तीस-बत्तीस वर्षपछि । दोस्रो वाणी थियो- आफूले केही नबिराए पनि ठूलो मानसिक आघात र बेइज्जती सहनुपर्ने । अनि साह्रै पीडादायक तेस्रो घोषणा थियो- परिस्थिति आउन सक्छ, तपाईंले आत्महत्या गर्नु परोस् । आफ्नो कामले भन्दा हातका रेखाहरूले मान्छेको भविष्य निर्धारण गर्छ भने म किन केही गरुँ ?...

Thursday, January 6, 2011

आहारा (कथा); बखत बहादुर थापा

आहारा (कथा)

‘ठूलाठूला देवीदेवता, ठूलाठूला भवन, राम्रो लवाइखुवाइ, राम्रो उन्नति, प्रगति गर्न सकिने र आफूले चाहेजस्तो काम पाउने भनेकै राजधानीमा हो ।’ गाउँमा सबैजसोबाट सधैँजसो यस्तै कुरा सुन्दै आएकाले बिर्खेले पनि आखिरमा काठमाडौँ जाने निधो गर्यो । उसलाई परदेसिनुपर्ने बाध्यता पनि थियो र उसको परदेश भनेकै काठमाडौँ थियो ।
सुनेजस्तै गरी सबै कुरा भोग्न कहाँ पाइन्छ र ?  काठमाडौँमा बिर्खेका कोही आफन्त थिएनन् । राजधानीमा उत्रेकै साँझ ऊ बास खोज्दै कुनै होटलमा पुग्यो । उसको गोजीले भने होटलको एक रात पनि नटर्ने देखियो । त्यसैले उसले फुटपाथको शरण लियो । दोस्रो दिन हातमुख जोड्नका लागि अनेक होटल चहार्यो । अन्ततः उसले दुईटा रोटी किन्यो र तरकारीको पैसा बचाउन प्याजका दुई चार टुक्रा माग्यो । तिनै दुईटा रोटीले त्यो दिन कट्यो उसको । राती फुटपाथमा उसको गोजीमा भएका बाँकी बीस तीस रुपैयाँ पनि लुटिए । तेस्रो दिन ऊ हातमुख जोड्नका निम्ति होटलहरूमा भौंतारियो । काम पाउनु त के उसले बासी वा सडेगलेको खाना पनि पाएन । साँझ सडकको पेटीमा झोक्राएको थियो । एउटा फुटपाथे आएर बिर्खेसँग गफ गर्न थाल्यो । बिर्खेको विवशता बुझेपछि उसले एउटा प्रतिज्ञा गराएर होटलमा लगेर खाना खुवायो । त्यही सङ्कल्प अनुसार फुटपाथेले भोलिपल्टै बिर्खेलाई एउटा अस्पतालमा लग्यो । त्यहाँ उसको एक पाउन्ड रगत बेचियो ।
बिर्खे दिनभरि काम खोज्न व्यस्त हुन थाल्यो । ऊ जुनजुन पसल वा होटलमा पुग्थ्यो, उसको लवाइ देखेर सबै साहूहरू नाक खुम्च्याउँथे । यस्तो व्यवहारले उसमा अर्को चिन्ता थपियो । काठमाडौँमा जति दिन बित्दै जान्छ, त्यति आप्mनो अवस्था बिग्रिँदै जाने हो कि ? सुकिलामुकिलाहरूले गेटमा उभिएर हात जोड्नसम्म नदिने हुन् कि ?