साँझको नयाँ सडक जिन्दगीको जात्रा
बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
पेटीहरु ओहोर–दोहोर गर्छिन् साँझमा
र स्लिवलेस्ब्लाउजको पाखुरामुनि खिचापोखरी
निसासिन्छ गल्लीका
काखीका रौंजस्ता झ्वास्स उम्रेका धमिला, दुर्गन्ध
घरहरुका माझमा
पसलहरुका शो–विण्डोभित्र
सू–जि वाँग हाँसो हाँस्तछन् हङकङ सुन्दरी
मैडम टेरिउल, मिस् नाइलन र सुश्री टेरिलिनहरु
र सम्मोहित कुमारी लूपकुमारीहरु
पाखुराभरि पेन्सिलिन इन्जेक्सनको
यात्राका पदचिन्हहरु बोकेर
अँध्यारा गल्लीहरुतिर लम्किन्छन्
ब्रेसरीको खर्पनमा बासी यौवनका फलहरु उचालेर
‘ट्रीप’ मा मग्न हिप्पीकुमारको अँगालोमा
अर्धनग्न पीताम्बर साडी–ब्लाउजमा
फ्लावर बेबी हिप्पी मैयाँ नयाँ सडकमा हिँड्छे
नयाँ सडकका तमाम आँखाहरुलाई
आफ्नो नाइटोमा खोपाएर
र वरिपरि उभिएका पीपलको बोटमा धर्मपुत्रहरु
भित्र–भित्रै हरुवा भइदिन्छन्
चौतारीवरिपरि उम्रिन्छन्
प.स.क. को डे«नेजले मिल्काएका फोहरहरु
र कमलपित्ते आँखाले आउँदो भोलिलाई हेर्दछन्
अखबारका खापाहरु उघारेर ।
एउटी माग्ने आइमाइले न्युज सेन्टरअगाडि उभिएको
सूटेड टाइकुमार नेपाली रित्तो खल्तीको एक्सरे गरिदिन्छे
पाँच पैसा मागेर
र टाइकुमार नेपाली
काठमाडौको आकाशमा गालीको बेलन उडाएर
भाग्योदय चिट्ठातिर हेरेर आफुलाई थुकिदिन्छ ।
म
नयाँ सडकमाथि
बोकेर
उभिनुको कुनै अर्थ पाउँदिनँ
र घरबार शब्दलाई एउटा अर्थ दिन
(दिउँसो घर र राति बार आवाद गरेर)
लेटेष्ट कविताको पारिश्रमिकलाई जाँड बनाएर धोक्छु
र नयाँ सडकलाई नाप्छुनयाँ कविताको प्लट सोच्तै
र अनायास टुँडिखेलतिर लम्किन्छु
वरिपरिका भीडहरुतिर भैरहवा सुगर मिलको हाँसो फालेर
शहीदद्वारतिर पुगेर म अडिन पुग्छु
र अन्तिम खिल्ली चारमिनारको सल्काएर
म रित्तो बट्टाभित्र काठमाडौँको
रिक्तता हालेर मिल्काइदिन्छु
र एक टक शहीदद्वारलाई हेरेर शहीदद्वारतिर
एउटा मौन प्रश्न फाल्छु
शहीदद्वार मलाई हेरेर फिस्स हाँस्छ
र कुहिरोभित्र हराउँछ ।
भूपी शेरचन
"घुम्ने मेच माथि अन्धो मान्छे" कविता संग्रहबाट
No comments:
Post a Comment