Sunday, October 16, 2011

बेलायतको सबैभन्दा अग्लो भबनको कहानी


बेलायतको सबैभन्दा अग्लो भबनको कहानी


लण्डन ब्रिजको म  पढ्ने क्याम्पस छेउ बन्दै गरेको एउटा बिशाल भबनको नाम हो 'द शार्ड' हो | यो बेलायतको सबैभन्दा अग्लो भबन हुने भएको छ |  आउनुहोस आज यही भवनको कुरा गरौ |

को हुन् त यो भवनको डिजाइनर ?
यो भबन औपचारिक रुपमा २०१२को मे महिनाबाट खुल्ने भएको छ | अहिले यसको निर्माण अन्तिम चरणमा पुगिसकेको छ | ८७ तल्लाको तो भबनका डिजाइनर इटालीका रेन्जो पिएनो हुन् | उनि विश्वका चर्चित र नामी डिजाइनरका रुपमा चिनिन्छन | ओसाका जापानको कान्सकी अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल, नेदरल्याण्डको NIMO साइन्स म्युजियम, न्युयोर्कको मोर्गन लिबर्टी, न्युयोर्ककै न्युयोर्क टाइम्सको भबन, सिड्नीको औरोरा प्लेस उनले डिजाइन गरेका केही प्रतिनिधि भबनहरु हुन् | यो भन्दा बाहेक उनको डिजाइनका लस एन्जल्स काउन्टी म्युजियम अफ आर्ट्स, कोलम्बिया विश्वबिद्यालय, हार्बर्ड आर्ट म्युजियम, रेन्जो पिएनो टावर क्यालिफोर्निया, माल्टाको संसदीय भबन, माल्टाकै ओपेरा हाउस लगायतका भबनहरु निर्माणका क्रममा छन् |

यिनै हुन् आर्किटेक्ट रेन्जो पियानो, 'द शार्ड' लण्डनका डिजाइनर
तस्विर विभिन्न वेवसाइट


पहिले लण्डन ब्रिज टावर भनेर चिनिएको यो बन्दै गरेको 'द शार्ड' लाई भने 'भर्टिकल सिटी इन स्काई' भन्ने उपनामले पनि चिनिने भएको छ | १०१६ फीट अर्थात् करिब ३०६ मिटर अग्लो यो भबन मिश्रित प्रयोगका लागि उपयोग गरिने भएकोछ | यो भबनमा होटल, रेस्टुरा लगायत दर्जनौ कार्यालयहरु हुनेछ भने केही तल्ला आबासका लागि र केही तल्ला भ्यु टावर र ग्यालरीका रुपमा प्रयोग हुनेछन | संसारको आर्थिक राजधानीका रुपमा चिनिने यो नगरीका लागि यो भवन अर्को एउटा कोसे ढुंगा साबित हुनेछ | यो भवनको भ्यु र ग्यालरीमा बार्षिक ५ लाख भन्दा ज्यादा आगन्तुक हेर्न आउने प्रारम्भिक अनुमान गरिएको छ | ६८औ देखि ७२औ तल्लासम्म भ्यु र ग्यालरीबाट ३६० डिग्रीको कोणमा लण्डनको अतुलनीय दृश्यहरु देख्न सकिनेछ | 


शार्ड बनिसकेपछि यसको भ्यु टावर यस्तो देखिनेछ
तस्विर विभिन्न वेवसाइट

कसरी बन्यो त यो बिशाल भवन?
शार्डले १९७६मा बनेको २४ तल्ले साउथवार्ल्क टावरलाई हटाएको छ | लण्डनका ब्यापारी इराभिन सेलरले साउथवार्ल्क टावरलाई पुननिर्माण गर्ने कुरा बताए पछि शार्डको डिजाइन सन् २००० मै भएको थियो | डिजाइनर पिएनोले टावरलाई धेरै नै आग्लो बनउने सुझाब दिएका हुन् तर स्थानीय बासिन्दा, सास्कृतिक सम्पदासंग सम्बन्धित सस्था र काउन्सिलको बिरोधका कारण यसको निर्माण शरु हुन सकेन | भवन बनउने कि नबनाउने विवाद चली नै रह्यो; यो यो विवादमा भबन बनाउने भन्ने पक्षमा तत्कालिन उप-प्रधानमन्त्री जोन प्रेस्कोटले १९ नोभेम्बर २००३मा फैसला गर्दै आदेश दिए | सरकारले भबन निर्माणका लागि स्वीकृत दिदै जारी गरिएको पत्रमा लेखिएको थियो ''मिस्टर प्रेस्कोट यो गगनचुम्बी महलको अतुलनीय बनावटका कारण यसका निर्माणको स्वीकृत गर्नुहुन्छ | यति अग्लो भवन निर्माण गर्न स्वीकृत गर्न यसको बनावट पक्ष अत्यन्त महत्वपूर्ण हुन्छ | उहाँ (अर्थात् मिस्टर प्रेस्कोट) यो भवन आत्यधिक आर्कीटेक्च्ररल गुणस्तरको छ भन्ने कुरामा बिश्वस्त हुनुन्छ |'' 



बरो हाई रोडबाट खिचिएको 'द शार्ड' को एक दृश्य
फोटो: अजय ढुंगाना ©अभिनव.कम


कसको खर्चमा बन्यो त यो भवन?
सी.एन.एस. होल्डिंग, सेलर प्रोपर्टी र सी.एन. लिमिटेडले नेसनवाइड बैंक लगायतको सहकार्यमा १९६ मिलियन पाउण्डको प्याकेज २००६को सेप्टेम्बरमा जारी गर्यो | २००७को नोभेम्बरमा मेसे भन्ने कम्पनीले यो भवन निर्माण ३५० मिलियन पाउण्डमा गर्ने ठेक्का जित्यो तर २००८मा शुरु भएको आर्थिक मन्दीले गर्दा यसको निर्माण खर्च बढ्न जाने देखियो, खर्चको अंकले झन्डै ४३५ मिलियन पाउण्ड अर्थात ५४ अरब नेपाली रुपैया छुने भयो | २००८ मै यसको निर्माणमा लगानी गर्न कतारको नेशनल बैंक सहितको जम्बो टिम आयो र करिब १५० मिलियन पाउण्ड लगानी गर्ने भयो, यसले सी.एन.एस. होल्डिंग र सी.एन. लिमिटेडको सम्पूर्ण सेयर खरिद गर्यो, सेलर प्रोपर्टीको पनि केही भाग सेयर खरिद गर्यो, अहिले यो कतारी जम्बो टिमसंग ८०% सेयर छ |


बरो हाई रोडबाट खिचिएको 'द शार्ड' को एक अर्को दृश्य
फोटो: अजय ढुंगाना ©अभिनव.कम


के हुन्छ त यो भवन भित्र ?
यो भबनमा होटल, रेस्टुरा लगायत दर्जनौ कार्यालयहरु हुनेछ भने केही तल्ला आबासका लागि र केही तल्ला भ्यु टावर र ग्यालरीका रुपमा प्रयोग हुनेछन | तिनीहरुको लागि यसरी तल्ला छुट्टाइएको छ |
०-१ लबी 
२-३ विभिन्न कार्यालयहरु
४-१० ट्रान्सपोर्ट फर लण्डनको कार्यालय
११-२८ विभिन्न कार्यालयहरु
३१-३३ रेस्टुराहरु 
३४-५१ होटल सांग्रिला
५२ सांग्रिला होटल कै स्पा संचालन गरिने 
५३-६५ आबासिय प्रयोजन
६८-७१ प्रदर्शनी ग्यालरी
७२ भ्यु टावर 
७३-८७ प्रयोजन नखुलाइएको


निर्माण पछी 'द शार्ड' यस्तो देखिन्छ अरे
तस्विर विभिन्न वेवसाइट


र अन्त्यमा
३५०,००० भन्दा ज्यादा यात्रु लण्डन ब्रिज स्टेसन भएर हरेक दिन यात्रा गर्छन र यही लण्डन ब्रिज स्टेसनसंग ठ्याकै जोडिएर बनेको यो भबनले लण्डन ब्रिज स्टेसन र वरिपरी आगन्तुकको चापलाई भने अझै बढाउने निश्चित छ | यो भबन लण्डनको विश्व प्रख्यात टावर हिल ब्रिज भन्दा केही सय मिटर पर मात्रै छ | लण्डनको अर्को प्रख्यात लण्डन आइ भन्दा दोब्बर माथिबाट दृश्य अबलोकन गर्न सकिने यो भवन पुरै युरोप कै सबै भन्दा अग्लो ब्यापारिक भवन हुनेछ भने विश्व कै ४५औ अग्लो भवन हुनेछ, लण्डन ओलम्पिक २०१२को पुर्ब सन्ध्यमा खुल्न लागेको यो भवनले आफ्नो अतुलनीय त्रिकोणात्मक डिजाइनका कारण लाखौको आँखा आफु तिर पार्न सफल हुनेछ | तर सधै आफुलाई आलौकिक बनाई राख्न भने कत्तिको सफल हुनेछ, त्यो भने भविष्यले नै बताउला |




अजय ढुंगाना
१५ अक्टोबर, २०११
लण्डन


1 comment:

Anonymous said...

wao really amazing
मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने गतिलो उदाहरण हो यो |