महाकविः सहानुभूति होइन सम्मान पत्र
सुनको दिन एक उदाउँछ रे
जल चञ्चल भैकन गाउँछ रे ...
भोजपुर जिल्लाको सदरमुकामसँग जोडिएको गाउँ पोखरेमा सरस्वती मिडिल स्कुल थियो उहिले हाम्रो बाल्यकालमा । अहिले पनि त्यो सरस्वती निम्न माध्यमिक विद्यालय भएर बाँचिरहेकै छ । त्यही स्कुलमा कक्षा तीन या चारतिर पढ्दा सबैभन्दा पहिले मैले 'सुनको दिन एक उदाउँछ रे' शीर्षकको यो बालगीत गाउने मौका पाएको थिएँ । त्यतिबेला नेपाली साहित्य पढाउने सरले लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भन्नुभएको थियो थिएन सम्झन सकिन तर आˆनो बालमनोविज्ञानमा रमाउने सुनको दिन एक उदाउँछ रे लेख्ने कविलाई मैले बालकवि चैँ पक्कै सम्भिmएको थिएँ ।
भोजपुर बजारको दक्षिणमा अहिले पनि ठिङ्ग उभिइरहेको विद्योदय हाईस्कुलमा आएपछि मैले लक्ष्मीप्रसाद देवकोटालाई 'कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो,' भन्ने कविता लेखकका रूपमा चिन्ने मौका पाएँ । ऊ जमानामा त्यस्तो भौतिक चेतनाले भरिएको कविता लेख्ने कवि कत्ति आँटिलो होला भनेर म छक्क परेको थिएँ । भर्खरभर्खर मुलुकी ऐन आएको हुनाले दलित जातिले मन्दिर प्रवेश गर्ने आन्दोलन चलेको थियो त्यतिबेला हाम्रो जिल्लामा पनि । ब्राहृमणहरूले जनै हलोको अनौमा बेरेर गोरु जोतेर विद्यमान सामाजिक विकृतिका विरुद्ध युद्धघोष गरेको समय थियो त्यो । त्यसैले 'जाउ समाउ आर्तहरूको चहर्याइरहेको घाउ' भन्ने कविता हाम्रा दाजुहरू सँगसँगै हामीसम्म पनि आएको थियो विद्रोह बोकेर ।
काठमाडौँ आएपछि मैले लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनेर चिनेँ र मलाई सबैभन्दा बढी मनपरेको 'पागल' कविता पनि पढेँ । लक्ष्मी निबन्ध सङ्ग्रहचाहिँ मैले सबैभन्दा पुछारमै पढेको हुँ उतिबेला पनि । समयक्रममा मैले लक्ष्मीप्रसाद देवकोटाको पशुपति आर्यघाटमा लेखिएको अन्तिम र एउटा कविता 'आखिर श्रीकृष्ण रहेछ एक' भन्ने कविता पनि मैले पढेँ ।
स्वर्गीय लक्ष्मीप्रसाद देवकोटा अहिलेसम्म भौतिक शरीर धारण गरेर बाँचिरहेका भए १०० वर्ष पूरा गर्थे । उनको भौतिक शरीर खरानी भयो आधा शताब्दी अघि नै । र पनि मलाई उनको नाम अगाडि शतायु लेख्न मन लागेको छ किनभने नेपाली गद्य र पद्य साहित्यमा अहिलेसम्म हामी सबैका अगुवा भएर लक्ष्मीप्रसाद देवकोटा बाँचिरहेका छन् र बाँचिरहने छन्, नेपाली साहित्यको इतिहास रहेसम्म ।
महाकवि देवकोटाको आस्था धेरैले खोजेका छन् अँध्यारोमा हात्ती छामेर । महाकविको लेखनलाई आजको आँखाले होइन, सत्तरी वर्ष पुरानो नेपाली चेतनाको धरातलमा उभिएर हेर्न सक्नु र सिक्नु पर्छ । महाकविले रुसी समाजवादको प्रशंसा गरेका छन् र गरेका छन् चिनियाँ क्रान्तिको मुक्तकण्ठले प्रशंसा । यी प्रसङ्गसँगै तासकन्दको गोष्ठीमा लक्ष्मीप्रसाद देवकोटाको उपस्थितिले अन्तर्राष्ट्रिय चेतनाका आधारमा हाम्रा महाकविलाई प्रस्टैसँग साम्राज्यवाद विरोधी खेमामा उभ्याएको छ । जहाँसम्म नेपालभित्रको सन्दर्भ हो त्यसमा पनि महाकवि देवकोटा आफ्नो समयको शीर्षस्थ अग्रगामी सोच भएका साहित्यकारका रूपमा चिनिन्छन् । महाकविका अधिकांश पात्रहरू नेपालको समाजसँग जोडिएका छन् । नेपाली संस्कृतिसँग जोडिएका छन् । मुनामदन र कुञ्जिनीजस्ता काव्यहरू सयौँ वर्षसम्म नेपाली सभ्यता र संस्कृतिका संवाहक भएर रहिरहने छन् किनभने ती हाम्रै माटोको पसिनामा बाँचिरहेका छन् र बाँचिरहने छन् ।
लक्ष्मीप्रसाद देवकोटाको साहित्यसँग सधैँ जोडिएर आउने पक्ष भएको छ- उनको गरिबी । आजभन्दा सत्तरी/असी वर्ष पहिले देवकोटा खाली कलमसँग मात्रै खेलेका थिएनन् । उनी आफैँ काठमाडौँमा घरबार भएको, प्रतिष्ठित मध्यमवर्गीय परिवारमा जन्मिएर हुर्किएको, उतिबेलाको हिसाबमा शिक्षित व्यक्तित्व, भिन्नभिन्न कालखण्डमा कुनै न कुनै जागिरमा लागेको, अल्पकालकै लागि भए पनि शिक्षामन्त्री भइसकेको र ट्युसन पढाउनबाट फुर्सद नभएको नेपालीलाई गरिबको चित्रण गर्नु भनेको नेपालको गरिबीलाई नचिन्नु नै हो । लक्ष्मीप्रसाद देवकोटाका सन्दर्भमा गरिबीको पाटोलाई चर्चा नगर्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ । गरिबीको धरातलमा महाकवि देवकोटालाई सहानुभूति दिनु राम्रो हुँदैन । महाकवि सहानुभूतिको पात्र होइन, सम्मानको पात्र हो । उनले नेपाली साहित्यमा दिएको योगदानका कारण मात्र उनी सम्मानका पात्र हुन् ।
नेपाली साहित्यका महाकविका बारेमा जति लेख्ता पनि थोरै हुन्छ । भारतका महापण्डित राहुल सांकृत्यायनले एक्लो नेपाली साहित्यका देवकोटा हिन्दी साहित्यका पन्त, प्रसाद र निराला हुन् भनेर दिएको सम्मान नै लक्ष्मीप्रसाद देवकोटाको यथार्थ परिचय हो । महाकविका बारेमा मैले केही लेख्न खोजेको होइन, मैले नेपाली साहित्यका मणिरत्न लक्ष्मीप्रसाद देवकोटाप्रति थोरै शब्दको श्रद्धाञ्जली मात्र अर्पण गर्न खोजेको हुँ |
(नोट: यो लेख २०६६ कार्त्तिकको मधुपर्कबाट लिइएको हो | मधुपर्कको अनलाइन सस्करणमा यो सामाग्रीको लेखकका बारेमा नखुलाइएको कारण यहाँ पनि लेखकको बारेमा लेख्न सकेनौ, त्यसका लागि क्षमा प्रार्थी छौ)