Friday, December 2, 2011

सम्प्रति मृत्युउत्सवहरु (कविता); सरुभक्त


सम्प्रति मृत्युउत्सवहरु


जिन्दगी
एस–ट्रेभित्रका विद्रोहहरु
ताप्केबाट उम्कन खोज्दा भुङ्ग्रोमा

शुभ–साइत दुर्भाग्यहरुको
च्याउको रुख चढदै
गलगाँड सुन्दरीहरु रगतको नदीमा
माछामार्दै छन्

वन्दी प्रत्यक्षीकरण रिट: मिसिलविना
औद्योगिक जोगीहरु सुरुङभित्र धरहराहरु
उत्पादन गर्दैछन्

अवशिष्ट गौरवगाथा : जाउँ वरु भाडाका
टट्टु वनी विक्नलाई
हामीसित देशमा वालसैन्य छँदैछ

काञ्जीहाउस इफेक्ट : सन्निकट शनीका घेराहरु
टेलिस्कोपमा आँखालाई हेर प्रत्यक्षकृत
हुनेछन्– अन्तरिक्ष गोरुगाईहरु

ग्रामिण महाभारत : एउटा सिङ्गो जाती
देश छोडेर कता जाँदैछ ?
सम्प्रति मृत्यु उत्सवहरुमा के जिन्दगीका
भाउ लाइदैछन ?

जिन्दगीको हाटबजार : सस्ता बमहरु विक्रीमा छन्
के गर्ने, रानीपोखरीहरु देखिन्छन्
आँसुपोखरीहरु देखिदैनन्

द सेकेन्ड सेक्स – भाइटल नापका विस्फोटनहरु
किन एउटा सिङ्गो मानवमा
गुणसुत्रहरुमा विभाजित छ ?नकरा !

कति ‘बुद्ध ! बुद्ध !’ कराइरहेको
आजभोलि बुद्धभन्दा कम्प्यूटरहरु
ज्ञानी छन ।

सरुभक्त

(सामग्री: नेपालीकविता.कमबाट,
तस्विर: फलानो.कमबाट)


No comments: