Sunday, November 6, 2011

परिबर्तनका लागि एउटा अभियान

परिबर्तनका लागि एउटा अभियान
Clean Kathmandu revive its beauty.

हामी समुन्नत समाजको कल्पना गर्छौ | सुन्दर समाजको कल्पना गर्छौ | हाम्रो नगरी स्वस्थ र हराभरा भैदिए हुन्थ्यो भन्ने चाहना राख्छौ | तर हाम्रो चाहना वा कोरा कल्पनाले मात्रै समाज परिबर्तन हुने वाला छैन र  हुदैन पनि, तर कहिले सम्म हाम्रो टोल र नगर परिबर्तन हुदैन?? एक पटक सोचौ त् हामी कस्तो नगरीमा बाँचिरहेका छौ | हामीले फेर्ने प्रत्येक स्वासमा प्रदुषित हावा छ, हामीले टेक्ने प्रत्येक जमिन कुनै न कुनै रुपमा प्रदुषित भै-सकेको छ, हामीले पिउने पानीको प्रत्येक थोपामा डरलाग्दा जीवाणुहरु प्रसस्तै भेटिन्छन | हो, म चर्चा हाम्रो राजधानी काठमाडौँको गर्दै छु | हामी अस्वस्थ टोल, समाज र नगरका बासिन्दा, यति मात्रै होइन हामी संसार कै सबै भन्दा फोहर नगरका नगरबासी, संसारकै सबै भन्दा फोहर नदी हाम्रै शहरको बीच भाग भएर बग्दछ | यथार्थ यही हो, यो यथार्थ डरलाग्दो र भयङ्कर भै सकेको छ | बस्ताबमा हामी आफ्नो पहिचान फेर्दै छौ, हामी मन्दिर नै मन्दिरको शहरले विश्वमा चिनिने गर्थ्यौ, तर अब होइन विश्वका सबै भन्दा फोहरी मान्छे भनेर हामी आफ्नो नयाँ पहिचान बनाउदै छौ | सोच्नुस् त के तपाई यो नयाँ पहिचानमा गौरब गर्न सक्नुहुन्छ | पक्कै पनि सक्नुहुन्न |

हाम्रो सुन्दर कान्तिपुरी नगरीलाई सुन्दर राख्न हामी आजैबाट र आफैबाट परिबर्तनकारी पाइला चाल्न जरुरी छ | देशको सबै भन्दा बढी शिक्षित मान्छेहरुको आवादी भएको हाम्रो महानगरको स्थिती यस्तो भयावह छ | हाम्रो व्यवहारले हामी चेतना शुन्य मान्छे जस्तै भएका छौ | डरलाग्दा फोहरका थुप्राहरु हाम्रो दैनिकीको अभ्यस्त पाटा भै-सकेका छन् | हामी संसार मै सबै भन्दा धेरै टाइफाइडका बिरामी उत्पादन गर्ने फ्याक्ट्री तयार पारिरहेका छौ | हाम्रो शहरमा जन्मेका झन्डै ९२% नवजात शिशुमा जन्डिस (कमलपित्त) को जीवाणु भेटिन्छ | तपाई हामी आफैले पनि यो शहरमा जन्डिसले संक्रमित नभएको मान्छे भेट्न असम्भब प्राय भै-सकेको छ | यो हाम्रो डरलाग्दो बास्तबिकता |

केही दिन अघि आकारपोस्ट.कममा एउटा सामग्री पढेको थिए | ''के गर्नु सभ्य भाषा पच्दैन'' शिर्षकमा | हाम्रो शहरको बास्तबिकतामा मन अमिल्लिरहेको थियो | कहाँबाट शुरु गर्ने कसरी गर्ने र अब पनि शुरु नगरे कहिले गर्ने त ? मनमा अनकौ प्रश्न तेर्सीरह्यो, थेम्स माथिको पुलमा उभिएर सफा र सुकिला लन्डनका बाटोहरु हेरिराख्दा, आफ्नो काठमाडौँ सम्झेर आफ्नो बाग्मती सम्झेर उराठ लागेर आयो | कुपन्डोलबाट टेकु जादा बाटोमा पर्ने बाग्मती माथिको झोलुंगे पुल तर्दा मुखमा रुमाल बाधेर दौडदै भागेर तरेको अत्यासलाग्दो स्मृती मनबाट गुज्रिदै मस्तिष्कसम्म पुग्यो |

यसै बिचमा मनोज अधिकारीजीले एउटा नयाँ उत्साहका साथ एक नयाँ सोच तयार पार्नु भएछ | केही दिन अगाडि एक बिहान उहाँसंग कुरा हुदा उहाँले आफ्नो सोच ऑस्ट्रेलियाको सनसुपर ड्रिम(sun super dream) साइटमा बुझाएको पनि बताउनु भयो | ''संसारलाई अझै राम्रो ठाउँ बनाउनका लागि नयाँ सपना देख्नुस'' भन्ने नाराका साथ चलेको उक्त सन सुपर ड्रिम वेव साइटले हरेक महिना पाठकको भोटिंगबाट अब्बल ठहरिएको एउटा सपनालाई जिबन्त बनाउनका लागि ऑस्ट्रेलीयन डलर ५००० प्रदान गर्दो रहेछ | हो, यो रकमले कायापलट परिबर्तन गर्न सकिदैन, तर यहि पैसाका कारण सुरुवात गर्न सकिने कुरा र त्यसबाट समाजमा आउने सकारत्मक परिबर्तनलाई नजर अन्दाज गर्न मिल्दैन | काठमाडौँको एउटा टोलमा फोहरलाई ब्यबस्थित तरिकाले हाइजिनिक किसिमका बिन (टोकरी)मा हाल्ने कामबाट यो अभियान शुरु हुनेछ | फोहरको सुरक्षित ब्यबस्थापनका लागि चेतना बढाउने र तपाई हाम्रो आम दैनिकीमा परिबर्तन ल्याउनु यो अभियानको उद्देश्य हुनेछ |

तेश्रो सेमेस्टरको अन्तिम परिक्षा चल्दै गरेकाले केही दिन गुमनाम जस्तै रहे | परिक्षा सकिए पछि फेरी एकपटक तातिएको छु, यो अभियानका अभियन्ता मनोज अधिकारीजीलाई मेरो पुरा सहयोग रहनेछ, तपाईहरु पनि यो अभियानलाई साथ दिन सक्नुहुन्छ, त्यसका लागि सबै भन्दा पहिले तलको लिंकमा गएर भोट गर्नु पर्ने हुन्छ, धन्दा नमान्नुहोस, यसका लागि केवल एक इमेल आई.डी. र १ मिनेट भन्दा कम समय खर्चनु भयो भने हुनेछ, यो अभियानका लागि दिइएका हरेक भोटले छुट्टै महत्व राख्दछन, हरेक भोटले सफा र समुन्नत काठमाडौँका लागि हामी कत्तिको समर्पित छौ भन्ने पनि दर्शाउछ |
Clean Kathmandu revive its beauty.

भोट गर्ने लिंक


Ajaya Dhungana



1 comment:

Ajaya Dhungana said...

यो अभियानलाई जिताउन त सकिएन, तैपनि हामी सबैले हाम्रो सहर परिवर्तनका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौ