Wednesday, December 22, 2010

गजल १०३; अजय ढुंगाना

गजल
मलाई भेट्न आउदा मनभरि मायाको आभाष लिई आउनु,
हिजोसंगै विताएको त्यही स्वर्णिम ईतिहाँस लिई आउनु,

तिमी आउने बाटो भरि बिछ्याईरहन्छु म मेरा नयनहरु,
हत्केलामा सुनगाभा अनि शिरमा लाली गुराँस लिई आउनु,

विस्तारै पाइला चालौंला हामी गन्तव्य टाढा भए पनि,
तर गन्तव्यमा पुगी छोड्ने अटल विश्वास लिई आउनु,

अकन्टक अनि अगम्य हुन सक्छ हामीले हिड्ने बाटाहरु,
जवानीको जोश होइन मनमा अदम्य सहास लिई आउनु,

निस्पट्ट अध्याँरो भित्र मन कतै हराउन सक्छ त्यसैले,
शुभ प्रभातमा पोखिएको अलिकति प्रकाश लिई आउनु,

जिउनु छ एउटा अभिनव जीवन तिमीले अनि मैले सानु,
सुत्न त धर्ती छदैछ बरु ओड्न आकाश लिई आउनु,

अजय ढुंगाना

No comments: