Saturday, January 8, 2011

एक अर्को फर्सीको जरा (कविता); अजय ढुंगाना

एक अर्को फर्सीको जरा

हिजो एक दिन,
मोहन कोइरालालाई सम्झिरहें,
सम्झिरहें, वस् सम्झनामा उनी थिए,
उनी स्मृतीमा थिए,
मात्रै अब कल्पनामा थिए,
हिजो एक दिन,
मोहन कोइरालालाई सम्झिरहें,
उनको फर्सीको जरा कबितालाई सम्झिरहें,
वस् सम्झनामा उनी थिए,
उनीसंगै उनका कबिताहरु थिए ।
आज धेरै फरक लाग्दैछ,
त्यो विगत भन्दा यो परिवेश,
वेग्लै अनि भिन्दै भएको छ, समय,
कोल्टे फेरेको छ, समयले,
आफ्नो रुप रंग र सौन्दर्य,
फेरेको छ उसले,
म वस् समयको नियतीलाई हेरिरहेछु,

हिजो र आज,
समयको यही नियतीमा,
एक मोहन कोइराला हरायो,
अनि बस् सुनसान भयो परिवेश,
मात्रै सुनसान,
आज लाग्दैछ मलाई,
समय आफ्नो जितमा रोहिरहेछ कतै,
सायद, वल्ल पढ्यो होला उसले आज,
फर्सीको जरा कबितालाई,
अनि बुझेन होला मैले जसरी,
त्यसैले सुनसान छ परिवेश,
मात्र सुनसान ।
हिजो एक दिन,
सम्झनामा मोहन कोइराला आएथे,
म उनी भन्दा धेरै पर छु वर्तमानमा,
उनी मेरो सम्झनामा छन्,
उनी मेरो कल्पनामा छन्,
आज मेरो घरको खाँबो ढलेको छ,
म आफ्नौ घर भित्र थिचिएको छु,
किचिएको छु अनि पुरिएको छु,
म आफ्नो अस्थित्वका रंगहरु,
क्यानभाषमा उतार्न नपाउदै,
मेरो चित्र विचित्र भै सकेको छ,
खाँबो ढलेका मेरो घर भित्र,
मेरा घाउहरु चराइरहेछन् आज,
म किचिएको छु अनि पुरिएको छु,
म आफ्नौ घर भित्र थिचिएको छु,
क्यानभाषमा उतार्न नपाइएका रंगहरु,
पोखिएका छन् यत्रतत्र,
ढलेका छन् रंगका बट्टाहरु ।
आखाका सपनाहरु,
सपनाबाटै हराउन थालेका छन् अचेल,
एउटा आशाको दिप,
बल्न नथाल्दै ढल्न खोज्दैछ,
हो, आज धेरै फर्सीका जराहरु,
अड्ने माटोको अभावमा,
सहारा विहिन बनेका छन्,
त्यसका लहराहरु,
ढलिसकेको घरलाई समाउन खोज्दैछन्,
चुपचाप छ समय आज,
त्यसको मौनतालाई अनुभुत गर्दैछु म ।
आज एकपटक फेरी,
मेरो सम्झनामा छाहीरहे कबि कोइराला,
समय र कोइराला क्रमश,
मेरो मस्तिष्कमा आइरहे,
म सम्झिरहें,
एउटा समझनाको श्रृङ्खला,
मोहन कोइरालासम्म पुगेर अडियो,
मेरो समझनाको श्रृङ्खलाहरुमा,
कबि कोइराला आउथे,
उनका कबिताहरु आउथे,
विस्तारै एक क्षण,
समयको एक पल आउथ्यो,
भत्किएको मेरो घरको झ्याल बाहिरका,
सहारा बिहिन बनेका,
फर्सीका जराहरु आउथे,
एउटा तार चुडिएको गितार,
मेरो आखामा छाउथ्यो अनि हराउथ्यो,
हिजो त्यो गितारबाट निस्केको,
स्वर्णिम धुनको प्रतिध्वनी,
मात्रै छ मसँग यतिवेला,
फर्सीको जरा ।




















श्रदान्जली मोहन कोइरालालाई

अजय ढुंगाना

No comments: