Friday, July 6, 2012

अर्धनग्न सोचाइहरु (कविता)

अर्धनग्न सोचाइहरु

निशाकालिन प्रभातहरुमा,
चिसो बिस्तारमा,
सुतिरहदा,
पानीको एउटा बाछिटो,
मलाई जिस्काएर गयो,
एक चिम्टी हावा,
मलाई गिज्याएर गयो,
म चुपचाप,
आफ्नो नियतीमा हाँसीरहे |

म पर्खाई  हूँ कसैको,
म जिन्दगी  हूँ कसैको,
चुपचाप साझको एक प्याला  हूँ कसैको |
म कसैको ओठको,
मिठो मुस्कान पनि हुन सक्छु,
तितो गाली पनि हुन सक्छु, 
तैपनि रहर छैन मलाई,
कसैको चुरा फोर्ने,
कसैको टोपी झिक्ने,
कसैको सिन्दुर पुछ्ने,
कसैलाई बाचुन्जेल टुहुरो बनाउने |

तैपनि मेरो नियति बेग्लै छ, 
आयु छोटो छ,
एक चिम्टी बतासले पनि 
उडाएर टाढा पुराउन सक्छ,
एक थोपो बाछिटोले पनि,
रुझाएर निथ्रुक्क पार्न सक्छ,
म हुलाकीको पेनी ब्लकमा कोचिएर हिड्छु,
म जस्तै अरु कयौसंगै,
कसैको जीवनको,
मिठो मुस्कान बन्ने आश बोकेर,
ढोकाको एउटा सानो प्वालबाट,
पुलुंग झर्छु,
जब नंगिन्छु, म रित्तिन्छु,
म सक्किन्छु,
फुङ्ग उडेको अनुहारको रंग जस्तै,
किनकी म आफैलाई थाहा छैन,
म हिडिरहेछु,
कसैको तुच्छ कुरूप,
अमानविय, अचेतन,
अर्धनग्न सोचाईहरु बोकेर | 


अजय ढुंगाना 
लण्डन

1 comment:

NKM said...

kya baat chha!