Thursday, September 8, 2011

गजल ११५, अजय ढुंगाना


गजल


मलाई भेट्न आउदा मनभरि मायाको आभाष लिई आउनु,
हिजोसंगै विताएको त्यही स्वर्णिम ईतिहाँस लिई आउनु |

तिमी आउने बाटो भरि बिछ्याईरहन्छु म मेरा नयनहरु,
हत्केलामा सुनगाभा अनि शिरमा लाली गुराँस लिई आउनु |

विस्तारै पाइला चालौंला हामी गन्तव्य टाढा भए पनि,
तर गन्तव्यमा पुगी छोड्ने अटल विश्वास लिई आउनु |

अकन्टक अनि अगम्य हुन सक्छ हामीले हिड्ने बाटाहरु,
जवानीको जोश होइन मनमा अदम्य सहास लिई आउनु |

निस्पट्ट अध्याँरो भित्र मन कतै हराउन सक्छ त्यसैले,
शुभ प्रभातमा पोखिएको अलिकति प्रकाश लिई आउनु |

जिउनु छ एउटा अभिनव जीवन तिमीले अनि मैले सानु,
सुत्न त धर्ती छदैछ बरु ओड्न आकाश लिई आउनु |


अजय ढुंगाना

No comments: