Friday, September 16, 2011

दशैँ आयो, तिहार आउदैछ; अजय ढुंगाना

दशैँ आयो, तिहार आउदैछ


हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
.........…...............….............................


पानीको वर्षा घटेर होस् वा हिलो मैलो हटेर होस्, दशैँ आएको भान भै-रहेछ मलाई यतिबेला | बर्षको मध्यमा पर्ने शरद ऋतु र मनोरम शरद ऋतुमा पर्ने यो महान पर्बले घरबाट टाढा रहदा खेरिको आत्मियताको अभाबलाई फेरी एकपटक महसुस गराएको छ | दशैँको फूलपातीका दिन परिवारसंग छुट्टिएर लण्डन उडे पछि परिवारसंग संगै दशैँ मनाउन नपाएको यो तेश्रो दशैँ हुनेछ | यो बिशेष महत्वको पर्ब, आफन्तलाई एक-साथ जुटाउने पर्ब, उत्साह र उमङ्गको पर्ब, मलाई यो पर्ब आउदाको समय नै निक्कै रमाइलो लाग्ने गर्थ्यो; सानै देखी |

काठमाडौँमा रहदाको चार पाँच बर्ष टिकाको केही दिन अगाडि मात्रै घर गइन्थ्यो; चाड बाडको समयमा गाडीको टिकट पाउन मुस्किल हुने हुनाले कहिले गाडीमा उभ्भिएर त कहिले माइक्रो बसमा कोच्चिएर | पाँच छ घण्टाको कहालीलाग्दो यात्रा र त्यसको थकान त्यो सबै भुलिन्थ्यो, दशैँमा घर पुगे पछी | दशैँमा घर पुग्दा यस्तो लाग्थ्यो घर मलाई पर्खेर बसिराखेको छ; मेरै प्रतीक्षामा छ; मेरै इन्तजारमा छ | बुबा आमा, छर छिमेक, गाउँ घरका साथी भाइ सबैसंगको फुर्सदिलो भेटघाटले सम्बन्धको आत्मियतालाई फेरी एकपटक नयाँ उचाईमा पुराउथ्यो; अनि रोजगारी र पढाईका लागि मुग्लान छिरेका दाजु भाइ दशैँका लागि क्रमश फर्किरहेका हुन्थे, ति मध्ये कसैसंग त बर्षौ पछि भेटघाट हुन्थ्यो |

बाटो छेउ-छाउका झाडीहरु काटिएर खुल्ला र सफा देखिथ्यो; घर अगाडि पछाडी पनि त्यस्तै सफा गरिएको हुन्थ्यो, बिजुलीका खम्बाहरुमा जलेका बिजुलीका चिमहरु फेरिएका हुन्थे; वर्षामा बगेर अस्थिपन्जर बनेका बाटोका खाल्टा खुल्टीहरु पुरिएका हुन्थे; घरका भित्तामा उम्रिएका हरिया झ्याउहरु उखालेर फ्याकिएका हुन्थे; आगन तिखारेर सिनित्त पारिएको हुन्थ्यो | प्राय सबैले घरलाई आफ्नो आफ्नो तवरले सजाएका हुन्थे | चारै तिर सयपत्री र मखमली फुल्न थालेको हुन्थ्यो, तिनै फूलहरुमा रंगी बिरंगी पुतलीहरु झुम्मी रहेका हुन्थे | दशैँको पूर्व सन्ध्यामा यी सबै दृश्य हेरिरहदा, मन त्यसै त्यसै उत्साही हुन्थ्यो, मन त्यसै त्यसै प्रफुल्लित हुन्थ्यो |

दशैँमा तास खेल्न बिशेष छुट हुन्थ्यो; यो बिशेष छुटको हामी पुरा फाइदा उठाउथ्यौ, पहिले पहिले किट्टी खुब खेलिन्थ्यो, पछि कलब्रेक, फरास हुदै म्यारिज खेल्न थालियो; म्यारिज जाने पछि चाँही अरु खेल्न खासै रुची चलेन  | तास जति नै खेले पनि त्यै दुइ-चार सय को हार जीत भन्दा ज्यादा हुने गरि खेल्थेनौ | बरु साँझ पख गाउँको माथिल्लो चोक देखी तल्लो चोकसम्म बिना कारण ओहोर दोहोर गरि रहन्थ्यौ; एक दुइ झड्का पिंगमा मच्चिन्थ्यौ | गाउँको पसलको भित्र पट्टी ठुलै तासको खाल बसेको हुन्थ्यो, त्यसको पछाडी गएर उभ्भिएर बस्थ्यौ, कसले कति जितेको छ, कसले कति हारेको छ हेर्थ्यौ र केही  बेरमा फर्किन्थ्यौ | यिनै कारणले दशैँमा ढिला सुत्ने बानी हुन्थ्यो, म सुत्नु भन्दा अगाडि हेरक दिन एक पेज वा केही हरफ मात्रै भए पनि डायरीमा केही लेख्ने कोसिस गर्थे | काठमाडौँबाट जादा एक वा दुइ नेपाली साहित्यका नयाँ किताब लिएर जाने गर्थे; दशैँको समयमा ति मुस्किलले पढ्न समय जुर्थ्यो; प्राय घर जादा म ति किताब गाडीमा नै पढ्न सुरु गर्थे, सुरुवात राम्रो लागे म तिन चार दिनमा जसरी पनि त्यो किताब पढेर सक्थे | प्राय दशैँमा म एक वा दुइ नयाँ कविता अबश्य लेख्थे |

घर पछाडी बारीमा हरिया फर्सीका मुन्टाहरु, तने बोडी र काक्रो फलेको हुन्थ्यो, केही बाकीं हरिया मकैका बोट पनि हुन्थे | पिढीमा आगो बालेर बाकीं बचेका हरिया मकै पोलेर नुन खुर्सानीसंग खाइन्थ्यो | आफ्नै घरको बारीमा फलेको तरकारीको स्वाद नै बेग्लै हुन्थ्यो | अष्टमीको दिन बिहान खसी काट्नु भन्दा पहिले यिनै तरकारी भान्सामा पाक्थ्यो | खसी काटे पछि चाहीं मासुका विभिन्न परिकार बाबाले बनाउने गर्नु हुन्थ्यो | निक्कै मेहनतसंग, एउटा छुट्टै स्वाद तयार हुन्थ्यो भान्सामा त्यो दिन | नवमीको दिन भने सकेसम्म मन्दिर जाने गरिन्थ्यो दिदीहरुसंग, भाइहरु पनि संगै हुन्थे, गाउँमा ठुलो कुनै मन्दिर थिएन, त्यसैले प्राय नारायणी तरेर गैंडाकोटको कालिका मन्दिरसम्म उक्लिन्थ्यौ | फर्किदा बजार तिर किनमेल हुने गर्थ्यो | 

दशैँको मुख्य दिन टिकाको दिन; मान्यजनको हातबाट टिका ग्रहण गर्ने र आशिर्बाद लिने दिन; यो दिन अझै बढी ब्यस्त भइन्थ्यो, घरमा आमा बुबा र हजुरआमाको हातबाट टिका लगाए पछि इस्ट मित्रको घर जानु पर्ने हुन्थ्यो; कुनै पूर्व जानु पर्ने अनि कुनै पश्चिम, समय मिलाउन कठिन हुन्थ्यो | घरमा टिका एक दिन मात्रै लगाउने चलन थियो अनि मामाघरमा पनि त्यस्तै चलन थियो | त्यसैले दशमीको दिनको बिशेष महत्व रहथ्यो | एक साल दशैँको टिका लगाउन मामाघर नगएको, बेलुकी फोन गरेर मामा माइजु नै रिसाउनु भयो, आफुलाई पनि गल्ति गरे जस्तो लाग्यो | अर्को साल अबश्य आउछु भने, तर अर्को बर्ष दशैँको टिकाको दिन म लण्डन ओर्ली सकेको थिए | बर्ष भरिको सबै भन्दा बिशेष महत्वको यो दिन यस्तै व्यस्तताका बिच बित्ने गर्थ्यो र त्यही मेरो जिन्दगीको रीत थियो | 

दशैँको टिकाको भोलिपल्ट उठ्दा मलाई दशैँ सकिएको महसुस हुन्थ्यो र कुनै एक अर्थबाट मेरो त्यो महसुस गलत थिएन | तर मलाई दशैँ सकिएकोमा कुनै गुनासो हुदैनथ्यो, किनकी दशैँ सकियो र त तिहार आउन पाउछ |
तिहार अर्थात् अर्को त्यस्तै मनमोहक पर्ब, त्यो आउन पाउथ्यो |

हो! दशैँ सकियो अब तिहार आउदैछ भन्ने हुन्थ्यो |

मोबाइलको घन्टीले म एकाएक यो कल्पनाको दुनियाबाट उत्रिय; श्रीमतीको फोन रहेछ, फोन उठाए;
 ''चार बजे खानु पर्ने औसधी खानुभयो'' उनले सोधिन |
मैले ल्यापटपको स्क्रिनमा भएको घडी हेरे चार बजेर दस मिनेट गएको रहेछ, मैले चार बजे खानु पर्ने खोकीको औसधी खाएको थिइन, मैले छैन भने |
उनले ल खाइहाल्नु होला है, त्यही सम्झाउनलाई फोन गरेको भनेर फोन राखिन |

म उठेर औसधी खाए र फेरी आएर ल्यापटपको अगाडि बसे | फेसबुकमा पुराना फोटो हेर्दै जादा केही बर्ष पहिले तिहारमा खिचेको घरको एउटा फोटोमा पुगेर म अड्किएको रहेछु | 
एकपटक फेरी त्यै फोटो हेरे अनि सोचे



दशैँ आउदैछ, तिहार आउला,
सायद घरले पनि कताकता,
सायद घरले पनि कताकता,
मेरो अभाब महसुस गर्ला,
मेरो पदचाप खोज्ला
म बिना घरले पनि 
दशैँ फिक्का फिक्का महसुस गर्ला,
तिहार फिक्का फिक्का महसुस गर्ला |



अजय ढुंगाना
लण्डन
१६ सेप्टेम्बर २०११ 




No comments: