Tuesday, July 3, 2012

नमिठो सपना (कथा)


नमिठो सपना (कथा)

परदेशको बसाईमा बिक्रम मेरो काममा परिचित मित्र थियो | उमेर २८-२९ बर्षको मात्रै भए पनि कपाल मज्जैले झरेकाले उ अलि उमेर खा'कै मान्छे जस्तो देखिन्थ्यो | होचो होचो तर हसिलो मुहारको उ पनि म जस्तै बिद्यार्थी भिषामा यहाँ आएको थियो | तर बिद्यार्थी भिषामा आएको भए पनि उसको एक मात्र उदेश्य पैसा कमाउनु थियो, त्यसैले एकदमै सस्तो एउटा कलेजमा भर्ना भएको थियो | उ फुर्सद भएमा मुस्किलले सेमेस्टरमा एक दिन कलेज जान्थ्यो तर परिक्षामा भने सधै सामेल हुन्थ्यो, अहिलेसम्म कति वटा बिषयमा उत्तिण भएको छ, उ स्वंमलाई थाहा थिएन | तैपनि एक हिसाबले उसले आफ्नो विदेश बसाईको उदेश्य तय गरेको थियो, पैसा कमाउनु |

एक दिन काममा अर्को एक जना नेपाली साथीबाट थाहा पाँए, बिक्रमको झन्डै एक डेढ महिना अगाडि छोरा भएको रहेछ | म पार्ट टाइम काम गर्थे, त्यसैले बिक्रमसंग मेरो भेट आक्कल झुक्कल मात्रै हुने गर्थ्यो, त्यसैले अन्तरंग कुराकानी पनि कहिल्यै हुन पाएको थिएन तर पनि बिक्रमकी श्रीमती यही छिन भन्ने त् मलाई पहिले नै थाहा थियो | यो खबर सुनेको भोलिपल्ट मैले बिक्रमलाई फोन गरे, उसलाई बधाई दिए, मलाई थाहा नदिएको भनेर रिसाए पनि र अन्त्यमा त्यसको केहि दिनपछि उसको छोरालाई हेर्न आउने बनेर प्रतिबद्धता जनाए | त्यसको एक साता पछि श्रीमती र म उसको घर जाने भयौ, गाडीमा झन्डै एक घण्टाको यात्रा पछि उसको घर पुगियो | म उसको घर पहिलो पटक गएको थिए | उसले दिएको पोस्ट कोड र घर नम्बरका आधारमा घर पत्ता लगाउन गाह्रो भएन | उसलाई भेटे, उसको श्रीमतीलाई पहिलो पटक भेटे अनि उसको घरको नब-आगन्तुक छोरालाई पनि, मेरी श्रीमतीसंग पनि उनीहरुको परिचय भयो | केही रमाइलो कुराकानी भयो | तर म आफै भित्र अचम्म लाग्दो कुरा के भयो भने, मैले बिक्रमकी श्रीमती अर्थात् उनको नाम रश्मि रहेछ, उनलाई कतै देखे जस्तो लाग्यो, तर कहिले कहाँ केही कुरा यकिन गर्न सकिन, त्यसैले उनलाई पनि केही कुरा सोधिन, हामी त्यहाँबाट त्यतिकै फर्कियौ, तर मनमा कुरा खेलीरह्यो कहाँ देखेको हूँ भनेर |

केही दिन पछि किर्तिपुर बस्दाका दिनहरु सम्झिए, किर्तिपुर छोड्ने बेला तिर हाम्रो कोठा भन्दा अगाडिको कोठामा एक जोडी आएर बसेका थिए, धादिंग तिरका, श्रीमती एम.बि.एस.को बिद्यार्थी भनेको सुनेको थिए, तर श्रीमान चै केही गर्दैन थिए | पति चै खासै बोल्दैन थे, कहिले माथि गुम्बा तिर त् कहिले भा-जंगल तिर कहिले एक्लै त् कहिले केही साथीहरुसंग हिन्दै गरेको भेटिन्थे | कहिले पानीपुरी खादै गरेको त् कहिले नान पसलमा देखिन्थे | तर बाटामा भेटिदा उनि मसंग कहिल्यै बोलेनन्, म पनि के खाँचो भन्दै आफ्नो बाटो लाग्थे | उनको नाम बिक्रम थियो अनि तिनको श्रीमतीको नाम रश्मि, हो त्यही रश्मि थिइन् जसलाई मैले केही दिन अगाडि भेटेको थिए | ति जोडी हाम्रो कोठाको अगाडि पट्टिको कोठामा आएर बसेको झन्डै एक महिना पछि हामीले किर्तिपुर छोडेका थियौ, त्यसैले मलाई उनीहरुको खासै सम्झना थिएन | तैपनि रश्मिलाई देखेपछि यो सम्झनाका लहर फेरी एकपटक मनको बाटो भएर दौडिएर गएका थिए तर अचम्म बिक्रमलाई देख्दा कहिल्यै त्यसो भएन | यो त्यहि रश्मि थिई, जोसंग मैले एकपटक पागा दोबाटोबाट केही मिनेटको बाटो छाता सेयर गरेको थिए, एक पटक पानीको धारा खिचेर हेल्प पनि गरेको थिए तर बिक्रम यो त्यही बिक्रम थिएन जसलाई मैले माथि गुम्बा तिर वा नान पसलमा भेटेको थिए, हुल्याह केटाहरुको जमातमा संगै देखेको थिए | कुरा केही अनौठो लाग्यो, तर यथार्थ यकिन गर्न सकिन |

त्यसको महिनौ दिन पछि बिक्रम र म कोठाको दुइ कुनामा बसेर पट्यार लाग्दो काम सक्न खोजिरहेका थियौ, ब्रेकको समयमा उसंग उसको बिगतको कुरा गर्ने कोशिस गरे, उसको घर बाग्लुंगबाट उ पोखरा आएर पढेको रहेछ, काठमाडौँ मुस्किलले तिन चार पटक पुगेको रहेछ तर किर्तिपुर अहँ अहिलेसम्म पुगेको छैन रे | म झट्ट यकिन गर्न सक्ने स्थितिमा पुगिन | तैपनि उसको आँखामा निश्छलता प्रष्ट झल्किरहेको थियो | मैले प्रसंग मिलाउदै उसको श्रीमतीको बारेमा सोधे, उसको घर (माइत) पनि बाग्लुंग नै रहेछ, स्कुल पढ्दा देखि नै सुरु भएको उनीहरुको प्रेम निक्कै अप्ठ्यारोसंग सफल भएको रे | उसले यी सबै कुरा भनिसके पछि लामो सास तान्यो अनि मुसुक्क मुस्कायो | उसको यो हाँसो कुटिल थिएन तर पनि मलाई उसको कुराका धेरै जसो भाग बिश्वास लागेन | म फेरी एकपटक अनौठो सोचमा फसें | त्यो दिन हामी काममा फर्कदा झन्डै दस मिनेट ढिला भएको थियो | तैपनि हामी हाम्रा सुपरभाइजरबाट बचेर हिड्यौ | बाँकी काम गरिरहदा मलाई त्यै किर्तिपुर कै कोठाको याद आयो, त्यै रश्मि र बिक्रमको याद आयो, तिनीहरु धादिंगको रे भनेको मैले निक्कै पटक कयौको मुखबाट सुनेको थिए, तिनीहरुले सबैसंग झुट बोलेका थिए कि जस्तो पनि लाग्यो | तर अहँ यथार्थ म भन्दा कयौ माईल दुर थियो | मलाई त्यो अग्लो बिक्रमको याद आइरहेथ्यो, शुरुका केही दिनमा कोठामा छिर्दा उसको  ढोकामा टाउको ठोकिएको थियो, एक दिन त म आफैले देखेको थिए, अरु केही पटक हल्ला गरेको सुनेको | मैले पछाडी फर्केर अर्को कुनामा काम गरिरहेको बिक्रमलाई हेरे, उ त म भन्दा होचो लाग्थ्यो त्यसतै देखिन्थ्यो | यो त्यो बिक्रम हुनै सक्दैन, सायद यो बिक्रमको श्रीमती रश्मी पनि त्यो रश्मि होइन | मनलाई अरु बढी ब्यग्र हुन नदिन यस्तै निचोड निकाले | 


दिउसोको तीन बजे हाम्रो काम सकियो, काम सकिन भन्दा पहिले हाम्रो सुपरभाइजरले आएर बिक्रमलाई जानु भन्दा पहिले म्यानेजरलाई भेटेर जानु भनेर गयो | त्यो सुपरभाइजर पोलिस थियो, त्यसको अंग्रेजी त्यति राम्रो थिएन, उसको थर्ड पर्सनमा पनि आइ र माइ आउथ्यो, उसको अंग्रेजी बुझ्नलाई अनुभब चाहिन्थ्यो अध्ययन हैन | बिक्रमलाई म्यानेजरले बोलाउनुको कारण हामी दुवैलाई थाहा थिएन, दुवै एक अर्काको मुखामुख गर्यौ, सुपरभाइजर गैसकेपछि त्यसको अंग्रेजी सम्झेर मज्जाले हाँस्यौ | काम सकिए लगतै म बाहिर निस्किए, निस्कने ठाउँको बाहिर बिक्रम कि श्रीमतीलाई देखे बग्गीमा छोरालाई गुडाएर आउदै गरेको | यो उही रश्मि थिई, किर्तिपुरमा भेटेको | म अहं गलत थिइन् , मेरो मानसपटलमा किर्तिपुर बस्दाको सम्झना ताजा भएर आयो | मैले औपचारिक पाराले कुरा सुरु गरे, उसले बिक्रमका बारे सोधी, मैले म्यानेजरले बोलाएकोले निस्कन केही बेर ढिला हुने बताइदिए | मेरो मन अधैर्य भयो, दिउसो बिक्रमसंग गरेको कुराहरु पनि सम्झिए, एक मन त लाग्यो उसको बिगत नसम्झाइदिउ, नकोट्टाइदिउ | तर अहँ सकिन, मैले सोधे तपाई त्यही रश्मि हैन, किर्तिपुरको नगाउँ दोबाटो नजिक टियुमा एमबीएस पढ्न बसेको | उनि एक्कासी गम्भीर भइन, तर केही बोलिनन | मलाई जबाफ चाहिएको थियो गम्भीरता होइन | तर मैले, मैले खोजेको चिज भेटिरहेको थिइन | मैले फेरी भने क्रिएटिभ एकेडेमी निर सुरेन्द्र महर्जनको घरमा तेश्रो तल्लामा बसेको हैन र?? उनले गम्भीर मुद्रा मै टाउको हल्लाउदै हो भनिन | अनि बिक्रम यो बच्चा ?? मैले फेरी उनको समू प्रश्नको पहाड तेर्साई दिए | यो प्रश्नले उनीबाट जबाफ हैन आशुका थोपाहरु निस्किए | मलाई कताकता अप्ठ्यारो लाग्यो | म अनायासै बिक्रमको बच्चालाई हेरेर टोलाउन थाले | उनि बिस्तारै बोलिन, तपाई हाम्रो कोठामा आउनु भएको दिन नै मैले तपाईलाई चिनेकी थिए, तर त्यो दिन कुरा गर्ने संयोग नै मिलेन | अनि कताकता तपाईले मलाई नचिन्नु भएको हो कि जस्तो पनि लाग्यो, अनि एक मनले सोच्यो, नचिन्नु भएको हो भने पनि ठिकै छ म आफै चिनाउदीन किनकी म आफै नै त्यो बिगत भुल्ने कोशिस गर्दै थिए | उनको कुराले म झस्किए, उनको अनुहार हेरे, उनको अनुहार निन्याउरो थियो पहिले जस्तो गम्भीर थिएन | मैले सहजै सोधे, किन के भयो र? तर यसको सहज थिएन | प्रश्न सोधे पछि आफुलाई लाग्यो कति हलुको प्रश्न | तैपनि उनले जबाफ दिइन, प्रश्न तौलिएर बसिनन | उनि भन्दै थिइन, मामाघर तिरको रोजाइको केटा बिक्रमसंग मेरो बिहे गरिदिने कुरामा बुबा आमा राजी हुनु भो, म पढ्न चाहन्थे तर मेरो कुरा सुनिदिने कोही भएन, मेरो स्वीकृति बेगर नै मेरो बिहे भयो | केटा कस्तो छ, के गर्छ मलाई केहि थाहा थिएन | मेरो स्वीकृतिको कुरै छोडौ कसैले मलाई सोध्नेसम्म पर्छ भन्ने सोचेनन | बिहेको केहि महिना पछि नै हामी काठमाडौँ लाग्यौ, म टियुमा ज्वाइन भए, तर बिक्रम त्यतिकै बसिरह्यो, मलाई उसको बानीबेहोरा, बोलिचाली, लवाई सबै अजिब लाग्थ्यो बिहे भएको केही महिनामा नै मैले थाहा पाए कि उ त ड्रग एडिक्ट रहेछ उसको पढाई पनि इन्टर पढ्दा पढ्दै छोडेको रहेछ | यी सबै कुरा थाहा पाउदा म गहिरो खाडलमा खसिसकेको थिए, त्यसपछि बिक्रम र पढाई दुवै छोडेर माइत गएर बसे | त्यसको केही समय पछि युकेको भिषा खुल्यो, अहिलेको बिक्रमले मलाई बिहे गरौ र युके जाउ भन्यो, यो बिक्रम र म संगै पढेको, उसको र मेरो धेरै कुरा मिल्थ्यो, तर उसलाई मेरो घरका कसैले पनि मन पराउनु हुन्न, त्यसैले सहमतिमा बिहे गर्न वा गाबिस गएर बिहे दर्ताको पेपर बनाउन मैले असम्भव जस्तै देखे | त्यसैले मैले घरमा आफु एक्लै पढ्नका लागि युके आउने कुरा राखे, शुरुमा कसैले हुन्छ भनेनन् तर एउटा गल्ति भोगिससेकाले होला बाबाले हुन्छ भन्नुभो पछि कसैले नाइँनास्ती गरेनन | बिक्रम पनि आफ्नै सुरले युके अप्लाई गर्यो र यहाँ आयो, यहाँ आए पछि हामी दुइ संगै बस्न थाल्यौ | यो बच्चा पनि अहिले कै बिक्रमको हो, उ मलाई पाएर धेरै खुशी छ तर मेरो घर तिरको मान्छे कोही पनि खुशी छैनन् | तर म खुशी छु, जिन्दगी जिउने मैले हो, मेरो परिवारले होइन, यही सोचेर म बिक्रमलाई अंगालेर परिवारलाई समेत तिलान्जली दिए | उनले लामो सास तान्दै कुराको बिट मारिन | 

बिक्रम अझै बाहिर निस्किएको थिएन, मलाई लाग्यो मैले केही बेर अझै कुरा गर्नु पर्छ, यही सोचेर मैले सोधे, अनि पुरानो बिक्रमसंग चै त्यसपछि कुरा भेट भएको छैन?? उनले म तिर हेर्दै कठोर भएर भनिन अहिलेको बिक्रम मेरो जिन्दगीको मिठो वास्तविकता हो र त्यो बिक्रम नमिठो सपना, म बिउझिसके अहिले मलाई त्यो सपनासंग कुनै लिनुदिनु छैन | उनले कुरा सक्दै गर्दा बिक्रम भित्रबाट निक्कै उत्साहका साथ बाहिर आउदै थियो | हामी भए सामु आएर उसको पत्नीलाई सोध्यो कति बेला आइचौ नि? अनि मलाई सोध्यो, अझसम्म यही छौ तिमी? क्यरेर बसिचौ ? मैले हाँस्दै भने भाउजुसंग गफ गरेको | अनि सोधे म्यानेजरले किन बोलेको रैछ त? मलाई अर्को हप्ता देखि एक्टिंग सुपरभाइजर बनाउने भए, पे पनि ८ पाउण्ड घण्टाको, उ खुशी हुदै सुनायो | मैले उसलाई बधाई दिए, रश्मि पनि मुस्कुराइन, मन भित्रबाट निस्किएको मुस्कान थियो त्यो | त्यसपछि क्रमश उनीहरु बिदा भए र छोरा राखिएको बग्गी गुडाउदै बाटो लागे | रश्मि आफ्नु मिठो वास्तविकताको हात समाउदै गएको दृश्य हेरिरहदा बाटो काट्नका लागि बलेको ट्राफिक बत्ति निभ्नका लागि झिमिक झिमिक गर्दै थियो |  

(पुनश्च: यो कथाका पात्र तथा घटना काल्पनिक हुन्, कसैको वास्तविक जीवनसंग मेल खान गएमा त्यो एउटा संयोग मात्रै हुनेछ )

अजय ढुंगाना 
लण्डन

5 comments:

दोबाटो said...

Share bottom खै ??

Friendycalls said...

भाको भाको कुरा लेखेर लास्टमा चाहिँ काल्पनिक भन्दिने ? :P 

Ajaya Dhungana said...

प्रमोद जी, भाको भाको हैन, सबै एज्युम्ड हो, रियालिस्टिक बनाउने प्रयत्न मात्रै हो 

Suman Dahal said...

अन्तमा काल्पनिक भएपनि कथा सारै राम्रो लग्यो............ 

Ajaya Dhungana said...

सुमनजी अन्त्यमा हैन कथा शुरुबाटै काल्पनिक  हो |