Thursday, July 26, 2012

ओलिम्पिक इन लण्डन एण्ड मि


ओलिम्पिक इन लण्डन एण्ड मि
Olympic in London & me

आज भन्दा लगभग तिन बर्ष पहिले बेलायतको स्टुडेन्ट भिषा नेपालमा छरपष्ट हुदा अगष्ट महिनाको अन्तिम तिर हो क्यार त्यसतै एउटा स्टुडेन्ट भिषा मेरो हातमा परेको थियो त्यसको झन्डै एक महिना पछि दशैँको फूलपातीको अघिल्लो दिन बेलायतका लागि जेट इयरको जहाज चढ्नु अघि मेरो मनमा एउटा ख्याल आएको थियो, २०१२ को ओलम्पिक बेलायतमा हुनेछ म त्योसंग साक्ष्यात्कार हुनेछु | आज घडी घुमेर त्यो दिनको पूर्व सन्ध्यामा आइसकेको छ, म एक पटक बिगत फर्किएर हेर्ने कोशिस गर्दै छु | 

बेस्ट मिनिस्टर ब्रिजमा उभ्भिएर नदि पारी पट्टिको ब्रिटिस पार्लियामेन्ट हेरर म टोलाउदै बसिरहेको हुन्छु | यो बेलायतको सर्वाच्च शक्तिशाली संस्था, चाहे मलाई लण्डन ल्याई पुराउन होस् वा ओलम्पिकलाई लण्डन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ अझ भनौ प्रमुख भूमिका खेलेको छ | मलाई र ओलम्पिकलाई एउटै शहरमा ल्याएर जोडीदिएको छ | यो पार्लियामेन्टका निम्ति म महत्वहिन र ओलम्पिक सर्बाधिक महत्वको बिषय | समयले करिब करिब तिन बर्ष बितायो, मेरो लण्डन बसाईंको, यहाँ आइसके पछि मेरा निम्ति ओलम्पिक गौण कुरा भयो, प्राथमिकताको लिस्टमा अनेक थोक परे जागिर, कलेज, भिषा, एमबिए, पैसा, कोठा, आदि आदि | प्राथमिकताको लिस्ट पटक पटक चेन्ज भए | तर कहिल्यै ओलम्पिक आइपुगेन त्यो लिस्टमा | तर खोला पारीको पार्लियामेन्ट भवनमा ओलम्पिक प्रमुख मुद्धा बनेर बसिरह्यो, प्राथमिकताको बिषय भैरह्यो | खोला वारी र खोला पारी दुइ फरक उदेश्य उभिएका थिए, खोलाको दुइ किनारको भेट नहुने निश्चित प्राय थियो |

पार्लियामेन्टले यो बीचमा अनेक पटक नियम परिवर्तन गर्यो, म उसको उपेक्षाको पात्र बनिरहे, उसले नचाहे पनि यही बसिरहे तर लिगल्ली नै बसिरहे | बिद्यार्थी भिषामा उसले आफैले तय गरेको नियममा दुइ बर्ष नपुग्दै यु टर्न लियो, थेम्स यसको साक्षी भएर बसिरह्यो | म चुपचाप वेम्ली अक्सफोर्ड सर्कस र लण्डन ब्रिजको यात्रालाई दैनिकी बनाईरहे, ब्रिक्सटन सरे पछि त्यो दैनिकी ब्रिक्सटन र इलेफेंट एण्ड क्यासल तिर सिफ्ट भयो | मेरा पाइलाहरु केनिंगटन पार्कका लम्बाईहरु नाप्न ब्यस्त थिए, ब्रकबेल पार्कका यात्रा तय गर्न ब्यस्त थिए | कुनै समय त यस्तो पनि रह्यो कि ओलम्पिक मेरो मस्तिष्कबाट सिफ्ट डिलिट भैसकेको फाइल जस्तै थियो | त्यसको कुनै चेत थिएन ममा |  

म इतिहास सम्झदै जान्छु, १९९६ को एट्लानटा ओलम्पिक भन्दा म अघि पुग्न सक्दिन, नेपाल टेलिभिजनमा हेरेका केहि दृश्यहरु याद छ, खुकुरी फिल्टर चुरोट सायद एनटीभीमा प्रशारणको प्रायोजक थियो कि झैँ लाग्छ, त्यसको खुब बिज्ञापन आउथ्यो, त्यसले दर्शकलाई प्रश्न सोधेर एउटा कटेस्ट पनि राखेको थियो | त्यति बेला मेरो मस्तिष्कको कुनै कुनामा पनि थिएन म कुनै ओलम्पिक भैरहेको शहर मै हुनेछु, ओलम्पिकलाई नजिकैबाट साक्ष्यात्कार गर्नेछु | त्यसपछि सिड्नी, एथेन्स र बेजिंगमा ओलम्पिक भए | ओलम्पिक बेजिंग आइपुग्दा मलाई ओलम्पिक मेरो नजिकै आइपुगे जस्तो आभाष भै रहेको थियो, तैपनि ओलम्पिक मबाट कयौ माइल दुर थियो | आज परिस्थिति अरुले सोच्दा बेग्लै छ, तर मेरो आँखाको एंगलबाट हेर्दा अल्मस्ट सेम छ | यद्दपी म अहिले ओलम्पिक होस्ट सिटी लण्डन मै छु, ओलम्पिक अझै पनि मेरो निम्ति परको कुरा, झन्डै आकाशको कुरा | यसपटक पनि ओलम्पिक मैले टिभी मै हेर्न पर्ने हुन्छ | चारहजार पाउण्ड भन्दा माथिको मूल्यमा बिकिरहेका उद्घाटन सत्रका टिकटहरुको म कल्पना पनि गर्न सक्दिन | म एक सामान्य मानिस, यो धरतीको सर्वाधिक ठुलो खेल मेलाबाट अछुतो पनि रहन सक्दिन | यो मेलाको औपचारिक उद्घाटन हुनु भन्दा एक दिन अगाडि आज मलाई ओलम्पिक फिवरले सताइरहेछ | मलाई यस्तो लाग्दैछ मेरो यति नजिक ओलम्पिक अब फेरी कहिल्यै आउने छैन |

खेल जगतको यो महाकुम्भ मेलालाई सफलताको लागि हार्दिक शुभकामना |


अजय ढुंगाना 
लण्डन 
Photo source: http://www.decanter.com/

1 comment:

rabi said...

सुन्दर लेखनिको लागि धन्यबाद!!तपाईंको कथा संग मेरो पनि नियति मिलेको छ!!लेखनमा आझ निखार आवोस ..अनि तपाईको ब्यक्तिगत जिबन सफल रहोस!!