Tuesday, July 24, 2012

म चेसको गोट्टी होइन (कविता)


म चेसको गोट्टी होइन 


मेरा हर पाइला
तिम्रो एक कदम पछि
चाल्नुपर्ने होइन,
किनकी, म चेसको गोट्टी होइन |

तिम्रो नियोजित षड्यन्त्रको
एउटा पात्र, म होइन,
जो बिद्रोह र सत्ता कब्जा मन पराउछ,
जो अरुलाई निबस्त्र पार्नुमा,
आफ्नो विजय सम्झन्छ,
घोडाको सवार,
हात्तीका लावा लस्कर,
आफ्नो सपनामा सजाएर बस्छ,
म इतिहासले नमागेको,
रक्त क्रान्तिको नायक होइन
म तिमीले खेल्ने चेसको उट होइन |


देश आफ्नो अस्तित्वलाई,
आर्यघाटमा जलाएर,
फर्कदै गर्दा,
म फेरी देशको अस्मिता माथि
प्रहार गर्न सक्दिन,
छिमेकीसंग आफैलाई लुटाउने
सौदाबाजीमा सही ठोक्न सक्दिन,
ढोडको लौरीले नै टेकेर भए पनि,
किंग चेक दिएर,
दुनिया हसाउन सक्दिन,
देशका बफादार सैनिकलाई,
स्वांग मच्चाउदै जीवनदान मागेर,
मन्त्रिको कुर्ची हत्याउन सक्दिन,
धुपौरेहरु वरिपरि आफैलाइ राखेर,
आफैले ड्राफ्ट गरेका शुभकामनाका शब्दहरुले
आफै प्रफुल्लित हुन सक्दिन म
त्यसैले तिमीले दिएको फरिया लगाएर
कुनै हालतमा तिम्रो चेसको गोट्टी हुन सक्दिन म |

म इतिहासको अलिखित पात्र,
आजका दिनसम्म कलंक रहित पात्र,
तिम्रो भण्डारखालको इतिहास तिमीसंगै राख,
तिम्रो कोतपर्वको इतिहास तिमीसंगै राख,
म रगतका छिटाले नलत्पतिएको पात्र,
म तिम्रो हरेक मुस्कानमा झुट र,
हरेक क्रोधमा शान्ति देख्ने पात्र,
हरेक अन्धकारमा उज्यालो र,
तिमीले उज्याला ठानेका दिनमा,
काला बादल मडारिएको देख्ने पात्र,
तर दासत्व नस्वीकार्ने पात्र,
स्वाभिमानको शिर कहिल्यै नझुकाउने पात्र,
त्यसैले अहँ तिम्रो चेसको गोट्टी कदापी होइन |



अजय ढुंगाना 
लण्डन 
Photo source: http://www.chessit.co.uk/

2 comments:

anubha said...

liked.........

Ajaya Dhungana said...

Thank you :))