Saturday, August 4, 2012

आकाश मौन छ | (कविता)


आकाश मौन छ |

आज
हिजो जस्तै,
अनि अस्ती जस्तै,
अनि सदियौ जस्तै,
आकाश मौन छ |

आजको चुपचाप,
कुनै घेराबन्दिको परिणाम होइन,
कुनै आन्दोलनको भाषा होइन,
यो आकाशको बिश्वास हो,
मान्छेहरु प्रति,
मान्छेहरु माथि |

मुटु हल्लिरहेछ,
रगत सिन्चिरहेछ,
श्वास निरन्तर,
ओहोर दोहर गरिरहेछ,
खुट्टा हिडीरहेछ,
आँखा दृश्यलाई
कैद गरिरहेछ,
हात हल्लिरहेछ
तैपनि मान्छे मरिरहेछन |

परिवर्तनको साक्षी,
सबैभन्दा बलियो साक्षी,
आकाश हो,
जो समयको कालखण्डमा,
कहिल्यै निदाएन,
चीनको कागज हेर्यो,
बारुद हेर्यो,
मिश्र, ग्रिसको सभ्यता हुदै,
युरोपको औधोगिक क्रान्ति हेर्यो,
फ्रेन्च रिभोलुसन देखि,
अमेरिकन प्रगति हेर्यो,
अगस्ट र,
अक्टोबर क्रान्ति देखि,
चिन र इजिप्टका,
परिवर्तन हेर्यो,
मौन बसेर,
सदियौ देखि आकाशले |

आज आकाश
परिवर्तन नचाहने
मान्छेहरुलाई हेरिरहेछ
जो परिवर्तन स्वीकार्न डराउछन्
जो परिवर्तन सोच्न डराउछन्,
जो परिवर्तन कल्पन डराउछन,
हो तिनैलाई हेरिरहेछ,
जो सबै अंग,
चलेर पनि,
भकाभक मरिरहेछन
हो तिनैलाई हेरिरहेछ,
मौन, चुपचाप आकाश |

अजय ढुंगाना 
लण्डन

No comments: