Thursday, October 18, 2012

आज अचानक (कविता)

आज अचानक

आज अचानक,
गाउँ सम्झिए,
घर छेउको नयाँ बाटो,
हिलोमा लत्रिएर भासिएको थियो,
छेउमा एउटा पारिजातको रुख,
चर्को घाममा उघिरहेको थियो,
अघिल्लो रात नै बोटबाट झरेका,
पारिजातका फूलहरु,
निधारमा हिलोका टिका लगाएका थिए,
छेउमा एउटा साइकल कुदेर गएको,
टायरको डोब बसेको थियो |

मनमा दृश्यहरु सजिब हुदै आए,
दृश्यहरु मनमा सास फेर्दै
दृश्यहरु मनमा एक सिक्बेन्समा थपिदै आए,
दृश्यहरु प्रष्ट प्रष्ट हुदै आए,
एच डी क्यामराको भिडियो जस्तै,
निराकार चिजहरु आकार लिदै आए |

आज मन गाउँ भन्दा धेरै पर छ,
आज मन एम्बुसको धरापमा छ,
सुस्ताएर बिगतको स्मृति सम्झने,
सुस्ताएर बिगतको पाना पल्टाउने,
खैर फुर्सद छैन मनलाई हिजो आज,
स्टक एक्संचेंजको इन्डिकेटरमा,
मन अल्झिरहन्छ,
रिसेसन, बबल, युरो क्राइसिस,
मनका अरु चिन्ताका बिषय हुन्
र यस्ता चिन्ताका बिषय कैयन छन्,
एकै शब्दमा भन्दा,
मन बेफुर्सदिलो छ |

हिजो आज मन,
सेडुएल भन्दा बाहिर जाने कोशिस गर्दैन,
तमाम काम झामका बक्र रेखामा,
मन प्लानिंग अनुरुप नै हिड्छ,
उ अचानकको अस्थित्वलाई,
वरिपरी पर्न दिदैन,
रक्सि खाएर लागि सकेको,
मान्छे जस्तो मन छैन
तैपनि मनको एक कुनाबाट,
अचानक
बिगतका स्मृतिहरु
बाँगटे हान्दै आउछन,
प्लानिंगहरु तोड्दै आउँछन्,
अनि मन र मष्तिस्कलाई,
झुक्याउदै,
धुलाम्मे डायरीका पाना पल्टाउछन् |


अजय ढुंगाना
१८/१०/२०१२
लण्डन

Image source: http://vilagebeauty.blogspot.co.uk/

No comments: